बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रस्तावित राजदूतसँग परिसंघको आग्रह– ‘लगानी आकर्षित गर्न र प्रविधि हस्तान्तरणमा सहयोग गर्नुहोस्’

शुक्रबार, ३० पुस २०७८, १४ : ४४
शुक्रबार, ३० पुस २०७८

नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन आग्रह गरेको छ । शुक्रबार परिसंघले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग सो आग्रह गरेको हो । परिसंघले खत्रीसँग प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन समेत आग्रह गरेको छ ।

परिसंघको कार्यालयमा भएको छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न राजदूत खत्रीसमक्ष आग्रह गरे ।  छलफलमा परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवद्र्धनमा जोड दिन राजदूत खत्रीसँग आग्रह गरेको हुन् । 

यसैगरी नेपालमा उत्पादन हुने तयारी पोशाक, छुर्पी जस्ता वस्तुहरूको लागि अमेरिका राम्रो बजार भएकाले त्यस्ता वस्तुको प्रवद्र्धनमा पनि परिसंघले जोड दिएको छ ।  छलफलमा परिसंघका अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेकाले स्तरोन्नतीसँगै कटौती हुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न पनि आग्रह गरेका छन् । 

‘नेपालका केही वस्तुमात्रै अमेरिका निर्यात भइरहेका छन्, तिनीहरूको प्रवद्र्धनका लागि विशेष पहल गर्नुपर्छ’ अग्रवालले खत्रीलाई भने ।  उनले गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नेपालको आवश्यकता भएको भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौता संसदबाट अनुमोदन गराइ कार्यान्वयनमा लैजानुपर्नेमा समेत जोड दिए ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको सौविध्यपूर्ण व्यापार सम्झौताअनुसार नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्दा विशेष सुविधा पाउने भएकाले अमेरिकी लगानीकर्ताका लागि ठूलो बजारसहितको लगानीको अवसर नेपाल हुने उल्लेख गरे ।

परिसंघले नेपालको पर्यटन प्रवद्र्धन हुने गरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको पहल गर्न पनि खत्रीसँग आग्रह गरेको छ । नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिको मार्फतबाट थप बलियो बनाउनुपर्ने परिसंघको धारणा रहेको छ । 

छलफलमा प्रस्तावित राजदूत खत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्मको सहज पहुँचका लागि पहल गर्ने पनि उल्लेख गरे । नेपाली वस्तुलाई अमेरिकामा सुविधासहित प्रवेश गराउन आफूले पहल गर्ने राजदूत खत्रीले आश्वासन व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप