शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४ वर्षदेखि स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

शनिबार, ०१ माघ २०७८, ०८ : १८
शनिबार, ०१ माघ २०७८

रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली)मा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि ल्याइएको ‘स्क्यानर’ मेशिन चार वर्षदेखि प्रयोगविहीन राखिएको छ । उपलब्ध स्क्यान मेशिन प्रयोग नगरी भन्सार कर्मचारीहरूले हातले नै लगेज चेकजाँच गर्दै आएका छन् ।

मालवस्तु तौलिने तथा लगेज र झोलाहरू ‘स्क्यान’ गर्ने अत्याधुनिक उपकरणलाई ४ वर्षदेखि विनाप्रयोग थन्क्याएर राख्नुले कर्मचारीकै नियतमाथि शङ्का उब्जाएको छ । २०७४ सालमा भैरहवा कार्यालयका लागि भन्सार विभागले ७२ लाख ९५ हजार रुपैयाँमा स्क्यान मेशिन खरिद गरेको थियो । उक्त मेशिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ ।

मेशिन सञ्चालनमा ल्याउन ध्यान नदिई कर्मचारीहरूले सडक बन्दै गरेको कारण देखाएर पन्छिने गरेको पाइएको छ । यसो गरेर मेशिन प्रयोग  नगर्नुमा कर्मचारीले अपारदर्शी ढंगबाट आफूले लाभ लिने नियत देखिने  पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष एवं अभिवक्ता महेन्द्र पाण्डेले बताए ।

उनले रातोपाटीसँग भने, ‘यो सरासर गलत हो, यसमा उनीहरुको स्वार्थ देखिन्छ । ल्याएको प्रविधिलाई प्रयोग नगर्ने अनि सेवाग्राहीलाई घण्टौँ लाइनमा लगाएर हैरान पर्ने अवस्था भएपछि केही रकम झार्ने नियत देखिन्छ ।’

लगेज तथा ब्याग सबै मेशिनले चेक गर्ने र पारदर्शी हुने भएपछि अतिरिक्त कमाइको बाटो रोकिने डरले कर्मचारीहरू मेशिन प्रयोग गर्न तयार नभएको सेवाग्राहीको पनि आरोप छ ।

भारतको पञ्जावबाट आएका पाल्पा रामापुरका रमेश पोखरेलले बिहीबार भन्सारको लाइनमै बसेको अवस्थामा रातोपाटीसँग भने, ‘हामीलाई यहाँ लाइन राख्ने अनि झन्झट दिने र केही समान भेटिएमा थौरै रकम लिएर छाड्ने गर्दछन् ।’

भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले सडकले बुटवल–बेलहिया सडक विस्तारको कामसँगै मेशिन जडान गर्ने ठाउँ नभएकाले अहिलेसम्म जडान हुन नसकेको बताए ।

उनले अहिले राख्ने अनि केही महिनामा फेरि सडकले भत्कायो भने समस्या हुने भएकाले सडक विस्तारपछि राख्ने योजना बनाएको बताए ।

मेशिन भन्सारको यात्रु शाखा नजिकै रहेको बन्द कोठामा प्रयोगविहीन अवस्थामा थन्क्याएर राखिएको छ भने अहिले ‘मेनुअल’ रूपमा नायब सुब्बाको नेतृत्वमा कर्मचारीले यात्रु र भारतीय बजारबाट आउने व्यापारीका झोला खोलेर चेकजाँच गर्दै आएका छन् ।

तर सेवाग्राहीहरु  चेकजाँचको नाममा कर्मचारीले बदमासी गर्ने गरेको गुनासो गर्दछन् । यहाँ दैनिक ५ सयभन्दा बढी झोला चेकजाँच गर्नुपर्ने हुन्छ । खासगरी भारतबाट रोजगारी गरेर फर्केका नेपालीहरु बेलहिया हुँदै आउने गर्दछन् ।

अर्थ मन्त्रालय र भन्सार विभागले हरेक वर्ष भन्सारलाई व्यवस्थित बनाउने र प्रविधियुक्त बनाउने बताउँदै आएको छ ।

भैरहवा भन्सारमात्रै होइन, यस्ता मेशिन ल्याएका अन्य भन्सार कार्यालयमा पनि कर्मचारीहरूले ब्याग तथा लगेज आफै खोलेर चेकजाँच गर्दै आएका छन् ।

यस आर्थिक वर्षको बजेटमा पनि भैरहवासहित मेची, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेशिन जडान गर्न भन्दै रकम विनियोजन भएको छ । जडान भएको मेशिन प्रयोगमा नआएका बेला थप मेशिनका लागि बजेट विनियोजनभन्दा त्यसको पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने देखिएको छ ।

नेपाल भन्सार एजेन्ट महासंघका निवर्तमान अध्यक्ष डा.शान्त कुमार शर्माले  सरकारले ल्याएको प्रविधिको प्रयोग नगरी औचित्यहीन अवस्था राख्नु गलत भएको बताए । उनले लगानी गरेको मेशिन प्रयोग गर्दै पारदर्शी ढङ्गले चेकजाँच प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए ।

उनले रातोपाटीसँग भने, ‘स्क्यान मेशिनलाई तदारूकताका साथ सञ्चालन गर्नुपर्छ । त्यो प्रयोग गर्दा राजस्वमा थप सहयोग पनि हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप