बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनि सबै एक हौँ :  प्रधानमन्त्री देउवा

शनिबार, ०१ माघ २०७८, ११ : ०३
शनिबार, ०१ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।  शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।

उनले भने, ‘धन्यवाद तपाईंहरूले चिन्ता व्यक्त गर्नु भएको छ । सरकार उत्तिकै चिन्तित छ । राष्ट्र नै एक हुनुपर्छ यस्तो कुरामा । तेरो पार्टी, मेरो पार्टी भन्दा पनि । राष्ट्र नै यसको लागि एक भएर जानुपर्छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ चुनौती आएको छ । यसको मुकाबिला सबै लागेर गर्नुपर्छ । यसका लागि अर्को महत्त्वपूर्ण कुरा के लाग्छ भने ‘अवेरनस’ कार्यक्रम । जनतालाई बुझाउनुपर्ने कार्यक्रम राख्नुपर्छ । हामीले यसका लागि ‘अवेरनेस प्रोग्राम’नै जनतालाई भन्नु पर्छ, जनतालाई सम्झाउनुपर्छ । जनतालाई बुझाउनुपर्नेछ । यसका लागि हामी सबै पार्टीहरूले आ–आफ्नो ठाउँबाट यसको रोकथामको लागि प्रयास गर्नुपर्छ । जनतालाई सम्झाउनु, बुझाउनु पर्छ । ठिक छ, विपक्ष पार्टीको हिसाबले सरकारको विरोध गर्ने कुरा म बुझ्दछु । तर साथसाथै यो त सबैको समस्या हो । यसलाई रोकथाम गर्नका लागि सबैले ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई ।’

​प्रधानन्त्रीले आफुले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए  ।  उनले सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको चुनौति सामना गर्नसक्दो कोसिस गरिरहेको पनि बताए । यता, एमालेले भने आफ्नो पार्टी नेतृत्वको सरकारले व्यवस्था गरेको कोभिडविरुद्धको खोपको समेत प्रभावकारी परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । त्यसैगरी एमालेले बालिबालिका, गर्भवती, वृद्धवृद्धा, असक्तहरुलाई घरघरमै सो खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेशकुमार भट्टराईले सो महामारी नियन्त्रणका लागि स्थानीय तह र स्थानीय स्वास्थ्य ईकाईसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप