बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थारू समुदायमा ‘माघ’को मौलिकता

शनिबार, ०१ माघ २०७८, १२ : १९
शनिबार, ०१ माघ २०७८

थारू समुदायमा माघलाई नयाँ वर्षको रूपमा मनाइन्छ । यसलाई ठाउँ अनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी, खिचडा पनि भनिन्छ । माघ थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा बरघररदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ ।

थारू समुदायमा पुस पहिनाको अन्तिम दिनलाई ‘सुवर मर्ना’ दिन भनिन्छ । यस दिन बिहानैदेखि सुंगुर मार्ने गरिन्छ । साँझ परेपछि आफ्नो इष्टमित्र, साथी भाइ कहाँ गएर जाँड, सुंगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघ पर्वको प्रारम्भ गर्छन् । त्यस दिन बरघरको घरमा गाउँभरिका मान्छेहरू जम्मा भई मादल, डफको तालमा ढमार गाउँछन् । अँगनामा ठूल्ठूला मूढा बालेर धुनी जलाइन्छ । त्यही धुनी टप्दै उनीहरू जाँड खाँदै रातभरी जाग्राम बसेर ढमार (ढुमरु) गाउने चलन छ । 

पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छ । जुन गीतभित्रका गम्भीर अभिव्यक्तिले सकारात्मक चिन्तन, एकापसमा सदभाव र समयबोध गराउँछ । ढमार गीतसंगै माघमा मघौटा नाच विशेष मानिन्छ । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् । मघौटा गीतको केही अंश : 

‘सखि ए हो !  माघक पिलि गुरि जाँर सखि ए हो 

कहाँ मैं लगैबु आम इमिलिया रे हाँ, 

कहाँ लगैबुँ

सखि ए हो ! कौन पानि छिटुँ ढनि डाँर सखि ए हो ! 

माघ १ गते महिलाहरू बिहान ढिक्री÷रोटी बनाउन उठ्छन् भने पुरुषहरू ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलसागरमा नुहाउन जान्छन् । थारू समुदाय प्रकृतिपुजक भएकोले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’ (जलदेवी) संग पानीमा डुबेर आफ्ना माग राख्छन् । यसरी मागे माग पुरा हुने जनविश्वास छ । 

नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तिलको डाँठ लिएर जान्छन् । थारू समुदायमा सेतो टीका लगाउने चलन छ । सेतो टीकालाई चोखो अथवा पवित्र वस्तुको रूपमा लिइन्छ । त्यसैले माघ नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाइन्छ । त्यसैगरी आजको दिन तिलको डाँठको आगो ताप्ने चलन छ । यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा । त्यत्तिमात्रै होेइन, आजको दिन नयाँ कपडा फेर्ने दिनको रूप पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुरानापुस्ताका जानकारहरू बताउँछन् ।

यसरी नुहाएर घरमा आई ‘निस्राउ’ निकाल्ने चलन छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन छ । निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ । निस्राउ निकालेर जन्म दिने आमा–बुबालाई ढोग गरेर आर्शिवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरूले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरूसंग आर्शिबाद लिन्छन् । नाता अनुसार ढोग आशिर्वाद लिदै खानपिन पनि सुरु हुन्छ् । समाजमा बसेपछि कहिलेकाहीं कसैसँग ठाकठूक पर्नु स्वाभाविकै हो । यसरी एकापसमा सेवासलाम लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ । त्यसैले माघलाई मेलमिलापको दिनको रूपमा पनि लिइन्छ । मानिसहरू स्वतन्त्र रूपमा माघ मनाएझैं पहिले–पहिले घरमा पालिएका पशुहरू सुंगुर, भेंडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी पनि छाडा छाडिन्थे । कसैको बाली नोक्सानी गरेपनि त्यस दिन माफी हुन्थ्यो । तर, योे चलन अहिले छैन । 

माघमा सुंगुरको मासु, मेवाको अचार, मसिनो आलुको चट्नी, अन्डीको जाँड र लामो ढिक्री खास परिकार बनाइन्छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक फरक प्रकारका हुन्छ । माघमा लामो ढिक्री हुन्छ । माघ पछि समय लामो हुने भएकोले लामो ढिक्री बनाएको तर्क छ थारू समुदायमा । अर्को तर्कअनुसार माघमा लामो ढिक्री खाएपछि आयू लामो हुने जनधारणा पनि छ । योे खोजको विषय होे, यद्यपि ढिक्रीमा थारू समुदायको मौलिकता झल्किन्छ । उमेर पुगेकाहरू घर–घरमा गएर जाँड, सुंगुरको मासु खाँदै धमार गएर मनाएजस्तै ससाना बालबालिकाहरू घर–घरमा गई ढिक्री मागेर रमाउने गर्छन् । उनीहरू समूह–समूह बनाएर घरमा पुग्छन् र कराउँछन् ‘माघ माने अइलि, डस्या–डेवारि ।’ यता घरका मुली महिलाले ती बालबालिकाहरूलाई ढिक्री दिएर विदाई गर्छिन् । उनीहरू खुशी भएर उफ्रिदै अर्को घर लाग्छन् । योे क्रम पनि दिनभरि चल्छ । तर, योे चलन अहिले हराउँदै गएको छ । गाउँमा ढमार गाउने चलन पनि घट्दो छ ।

माघको दोस्रो दिन ‘खिच्रहवा’ । खिचडी पकाएर खाने दिन भएकोले ‘खिच्रहवा’ भनिएको हो । जमिन्दार, रैती, किसान, कमैया खिचडीजस्तै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको हुनुपर्छ । आज कसैले कसैप्रति पदीय विभेद गर्न पाउँदैन । सबै स्वतन्त्र रूपमा बोल्न पाउने भएकोले दिल खोलेर छलफलमा सहभागी हुन्छन् । घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ । को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरूको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाई सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने छलफल हुन्छ । बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसंगको लेनदेन, हिसाब–किताब लगायतका घरायसी कुराहरूको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ । 

अधिया–बटैया गरी खेती किसानी गर्ने रैतीहरू आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाँडा)मा रक्सी लिएर माघ दिवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघ दिवानी भनिन्छ । अधिया–बटैयाको कुरामा सहमति भए दुबैले एक अर्कालाई सेवा–ढोग गरी खुशीयालीमा खानपिनसंगै रमाउँछन् । र, पुनः ढमार सुरु हुन्छ । यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ । जुन सम्झौता एक बर्षको लागि मात्रै रहन्छ, अर्को माघपछि स्वतः खारेज हुन्छ । 

माघको तेस्रो दिन ‘भुराखेल’ (ख्याल) गरिन्छ । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरूको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ । आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले विशेष महत्व मानिन्छ । अगुवालाई ठाउँ विशेषअनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान)को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रूपमा काम गर्ने चौकीदार पनि चयन गरिन्छ । 

बैठकमा गत वर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठ लगायत विकासको कामसम्बन्धि समीक्षा हुन्छ । नयाँ नीति–नियम बनाई नियम उलंग्घन गर्नेलाई दण्ड जरिवाना तोकिन्छ । यसरी लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले गाउँलाई पनि अनुशासित बनाउँछ । यसको महत्वलाई मध्यनजर गर्दै विगत केही बर्षयता बरघर समिति पनि गठन हुन थालेको छ । विभिन्न पालिकाले बरघर ऐन पारित गरी लागु समेत गर्न थालेका छन् । यस कार्यले अबको दिनमा बरघर प्रणालीमार्फत् परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास हुनेछ भन्ने आशा गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

छविलाल कोपिला
छविलाल कोपिला
लेखकबाट थप