ad
x

सिङ्गापुर, स्विजरल्यान्ड र कोरियाबाट सिक्नुपर्ने पाठ

person explore access_timeमाघ १, २०७८ chat_bubble_outline0

विकसित मुलुकहरूमा शिक्षाको स्तर उत्कृष्ट छ । स्वास्थ्य सेवा अब्बल दर्जाको छ । सार्वजनिक यातायात सुविधा गजबको छ । कालोबजारी, कमिसनतन्त्र, मिलावट, नातावाद कृपावाद आदि केही छैन ।  पैसा नभएका कारण कोही पनि  शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित हुनु पर्दैन । शिक्षामा राज्यको ठूलो लगानीका कारण सबै नागरिक र तिनका सन्तानले उत्कृष्ट कोटीको शिक्षा र स्वास्थ्यको सुविधा प्राप्त गर्दछन् । मेरिटका आधारमा विद्यार्थीहरूले निष्पक्ष रूपमा मेडिकल, इन्जिनियरिङ आदि क्षेत्रमा  शिक्षा आर्जन गर्न सक्छन् । त्यहाँका सरकारी कार्यालयमा भनसुन, नातावाद र कृपावाद चल्दैन । तस्करी जस्ता शब्दबाट पनि सायद परिचित छैन पश्चिमा समाज । यातायात सर्वसुलभ, सस्तो र सुरक्षित छ । 


यता नेपालमा ठिक उल्टो छ । शिक्षा, स्वास्थ्य सेवा, यातायात सबै महँगो छ । राज्यले शिक्षालाई निजी क्षेत्रमा सुम्पिएको छ । सोर्सफोर्सका आधारमा मेडिकल कलेज, इन्जिनियरिङ कलेजमा भर्ना लिइन्छ । हाम्रो देश किन बनेन भन्ने प्रश्न उठिरहँदा सर्वाधिक चर्चामा आउने नामहरू हुन् सिङ्गापुर, स्विजरल्यान्ड र कोरिया । नेपालमा पनि ती मुलुकहरूमा जस्तै चकाचौंध विकास होस् । चौडा चिल्ला सडक र रेलवे लाइनहरूको सञ्जाल बनोस् । बेइजिङ र साङ्घाईबीचको १३ सय किलोमिटरको दूरी बुलेट ट्रेनबाट ४ घण्टामा पूरा भएजस्तै काँकडभित्ता–काठमाडौँ तीन घण्टामा पुगियोस् । सुर्खेतबाट जुम्ला मोटर हाँकेर दुई घण्टामा पुगियोस् ।  बिहान ७ बजे कन्चनपुरबाट काठमाडौंको लागि छुटन्े बुलेट टे«नले कर्मचारीलाई १० बजे काठमाडौं पुराओस् अनि अफिस छुटेर कर्मचारी ५ बजे कन्चनपुर जाने रेलमा बसेर ८ बजे आफ्नो घरमा पुगोस् ।



नेपाली समाजको एउटा ठूलो हिस्सा विदेशमा सबै उज्यालो देख्ने र स्वदेशमा सबै अँध्यारो देख्ने विकृत मनोविज्ञानको सिकार बन्न पुगेको छ । यो मनोविज्ञानको परिणामले मुलुक बनाउन मुलुकभित्रै बसेर सङ्घर्ष गर्ने, पौरख गर्ने भन्नेतिर होइन, छिटो धनसम्पत्ति कमाउन विदेश हान्निने प्रवृत्तिले प्रश्रय पाएको छ ।



सायद यसरी सपना देख्नुमा नराम्रो केही पनि छैन । सपना देख्नु पर्दछ । तर सिङ्गापुर वा साङ्घाईतिरको सपनामा डुब्दै नेपालका  नेतालाई सत्तोसराप गरेर ती सपना साकार हुन सक्तैनन् । युरोप, अमेरिकाको लोभलाग्दो विकास र प्रणाली पनि रातारात तयार भएको हैन । त्यहाँका जनताले सङ्घर्ष गरेर ल्याएको प्रणाली हो । ती मुलुकहरू पनि कुनै जमानामा नेपालजस्तै पछौटे र गरिब थिए । पहिले बेलायत र पछि युरोपका अन्य मुलुकहरूबाट गएका आप्रवासीहरूले अमेरिका कडा परिश्रमबाट बनाएका हुन् । जापान, कोरिया, सिङ्गापुरको विकासको स्तर पनि अन्ततः त्यहीँका जनताको कडा परिश्रम र संघर्षबाट हासिल भएको हो । नेपालको विकास पनि नेपाली जनताकै पौरख, पसिना र सङ्घर्षबाट मात्र सम्भव छ ।  नेपाली समाजको एउटा ठूलो हिस्सा विदेशमा सबै उज्यालो देख्ने र स्वदेशमा सबै अँध्यारो देख्ने विकृत मनोविज्ञानको शिकार बन्न पुगेको छ । यो मनोविज्ञानको परिणामले मुलुक बनाउन मुलुकभित्रै बसेर सङ्घर्ष गर्ने, पौरख गर्ने भन्नेतिर होइन, छिटो धनसम्पत्ति कमाउन विदेश हान्निने प्रवृत्तिले प्रश्रय पाएको छ । 



मुलुकको विकासको सवाल अन्ततः सम्बन्धित मुलुकको राजनीतिक नेतृत्व कस्तो छ भन्ने प्रश्नसँग जोडिएको हुँदाहुँदै पनि यो सच्चाइलाई इन्कार गर्न सकिन्न कि कुनै पनि मुलुकको विकासमा  सम्बन्धित मुलुकको भूगोल र इतिहासको समेत महत्त्वपूर्ण भूमिका हुन्छ  । सिङ्गापुरकै दृष्टान्त हेरौं  । हो, सिङ्गापुरको समृद्धि र विकासमा  ली क्वान युको हात अवश्य थियो ।  तर उनले शुन्यतामा सिङ्गापुरमा चमत्कार ल्याएका होइनन्  । सिङ्गापुरसँग तेल, कोइला वा अन्य कुनै प्राकृतिक स्रोत छैन । त्यसका वावजुद कसरी सिङ्गापुर विकसित भयो त ? यसका पछाडिको मुख्य कारण हो सिङ्गापुरको लोकेसन  । युरोप र एसियालाई जोड्ने सिङ्गापुर  हिन्द महासागर, अरब सागर, भूमध्यसागर, बङ्गालको खाडी र दक्षिण चीन सागरमा हुने समुद्री यातायातको केन्द्रमा रहेको छ । पूर्वी संसार र पश्चिमी संसारबीचको समुद्री दोभानमा अवस्थित सिङ्गापुरसंग साङ्घाईपछि संसारकै दोस्रो बन्दरगाह छ  । यो बन्दरगाह विश्वका १२३ मुलुक, ६ महाद्वीप र संसारभरिकै ६ सय अन्य बन्दरगाहहरूसित जोडिएको छ  । सिङ्गापुर संसारको सामुद्रिक पारवहन राजधानी (मरिटाइम क्यापिटल) का रूपमा पनि चिनिन्छ । उन्नीसौं शताब्दी र अझ त्यसभन्दा पनि पहिल्यैदेखि सिङ्गापुर चीन, भारत र युरोपबीचको मध्यस्थ व्यापारको केन्द्र रहदै आएको छ । 



सिङ्गापुरको  समृद्धिको  आधार इतिहासदेखि नै तयार भएको थियो भन्ने कुराको  अनुमान यसबाट पनि लगाउन सकिन्छ कि आजभन्दा झण्डै पौने दुई सय वर्ष पहिले सन् १८६१ मै सिङ्गापुरको निर्यात व्यापार लगभग २ करोड अमेरिकी डलर रहेको थियो । इङ्ल्यान्डका ठूल्ठूला व्यापारिक घरानाहरूले उन्नाइसौँ शताब्दीमै सिङ्गापुरबाट व्यापार गर्दथे । सिङ्गापुरको प्रगतिको जग त्यतिबेलादेखि नै बसेको हो । उल्लेख्य प्राकृतिक सम्पदा नभए पनि मुख्य रुपमा सिङ्गापुरको भौगोलिक अवस्थिति नै उसको अद्भुत विकासको मुख्य आधार हो । अर्थात् भूगोल र इतिहासले सिङ्गापुरलाई पुरापुर साथ दिएको छ ।  



इङ्ल्यान्डका ठूल्ठूला व्यापारिक घरानाहरूले उन्नीसौ शताब्दीमै सिङ्गापुरबाट व्यापार गर्दथे । सिङ्गापुरको प्रगतिको जग त्यतिबेला देखि नै बसेको हो । उल्लेख्य प्राकृतिक सम्पदा नभएपनि मुख्य रुपमा सिङ्गापुरको भौगोलिक अवस्थिति नै उसको अद्भूत विकासको मुख्य आधार हो । अर्थात् भूगोल र इतिहासले सिङ्गापुरलाई पुरापुर साथ दिएको छ ।  



अर्कोतिर कोरियाको समृद्धिका पछाडि पनि केही ऐतिहासिक आधार रहेका छन् । कोरिया प्रायदीपको दक्षिणी भाग साम्यवादीहरूको पकडमा जान नदिन अमेरिकाले गरेको ठूलो सैन्य र आर्थिक सहयोगबाट नै ५० र ६० को दशकमा दक्षिण कोरियामा आर्थिक समृद्धिको जग बसेको हो । अमेरिकाको निकट सहयोगी जापानले समेत त्यस अवधिमा कोरियालाई  उसको व्यापार घाटा कम गर्न ठूलो आर्थिक सहयोग गरेको थियो ।  साथै भियतनाम युद्धमा अमेरिकालाई दक्षिण कोरियाले ३ लाख सैनिक सहयोग पठाएको थियो । त्यसबाट कोरियाले लगभग दुई अर्ब डलर प्राप्त गरेको थियो । साथै, अमेरिकाले भियतनाम युद्धमा चाहिने युद्धसम्बन्धि सामग्रीको आपूर्तिका सबै ठेक्का पनि  कोरियालाई दिएको थियो, जसबाट थप एक अर्ब डलर कोरियाले प्राप्त गरेको थियो । अमेरिकालाई के डर थियो भने यदि दक्षिण कोरिया साम्यवादीहरूको हातमा गयो भने अमेरिकाको अर्को मुख्य सहयोगी जापान पनि उसको हातबाट फुत्किन सक्छ । 



सिङ्गापुर र कोरियाजस्तै स्विजर्ल्यान्डको विकास र समृद्धिको पनि आफ्नै कहानी छ । स्विजर्ल्यान्डले ऐतिहासिक कालदेखि नै एउटा शान्तिपूर्ण मुलुकका रुपमा आफूलाई उभ्याउँदै आएको छ । युरोपीय मुलुकहरू सत्रौंदेखि बीसौं शताब्दीसम्म परस्पर युद्धमा लिप्त रहँदा स्विजर्ल्यान्डले शान्तिप्रिय मुलुकका रुपमा क्रमशः आफ्नो पहिचान बनाएको हो ।  छिमेकमा फ्रान्स, जर्मनी, अस्ट्रिया र इटालीजस्ता अशान्त र युद्धरत मुलुकहरू थिए । त्यहाँ सत्ताको दमनबाट खेदिएका सत्ता विरोधीहरूलगायत शान्तिको खोजीमा प्रशस्त धनसम्पदासहित आएका आप्रवासीहरूले स्विजर्ल्यान्डकाे  विकासको जग बसालेका हुन् । प्रकारान्तरमा स्विजर्ल्यान्डले आफूलाई एउटा शान्तिप्रिय र तटस्थ मुलुकको रुपमा आफ्नो स्थायी पहिचान बनाउन सफल भएको छ । यही शान्ति र तटस्थताको इतिहासको कारण त्यहाँ विश्वका ठूल्ठूला बैंक र बित्तीय संस्था, रेडक्रस, संयुक्त राष्ट्र संघ जस्ता संस्थाहरूको  स्थापना भएको हो । 

उपरोक्त मुलुकहरूका अतिरिक्त बेलायत, फ्रान्स, पोर्चुगल, स्पेन, हलेन्ड, जर्मनी आदिको समृद्धिको जग पनि इतिहासमै खोज्न सकिन्छ । जतिबेला यी सबै मुलुकले विश्वका विभिन्न क्षेत्रमा आफ्नो उपनिवेश कायम गरेका थिए । आफ्ना उपनिवेशहरूको आर्थिक शोषणबाट नै ती मुलुकले समृद्धिको जग बसालेका हुन् ।  खाडीका मुलुकहरू तेलबाट समृद्ध बनेका हुन् । 

तर हाम्रो मुलुकको हकमा भने इतिहासदेखि नै  विकासको आधार तयार हुन सकेन । २४० वर्षसम्म मुलुकको शासनसत्ता शाह वंश र राणा वंशहरूको हातमा मात्र केन्द्रित रह्यो । नेपालमा   सन् १९५१ -५२ मा मात्र ३ करोड ५ लाखको  पहिलो बजेट प्रस्तुत गरिएको थियो । बजेटको रकम सन ५४-५५ मा बढेर ५ करोड ९२ लाख पुगेको थियो ।  यो तथ्याङ्कलाई माथि दिइएको कोरिया र सिङ्गापुरको तथ्याङ्कसित दाँज्दा प्रष्ट हुन्छ कि इतिहासदेखि नै नेपाल ती मुलुकहरूको तुलनामा कति पछि थियो । यसका अतिरिक्त नेपालको भौगोलिक अवस्थिति पनि व्यापार, वाणिज्यका लागि अनुकूल रहेन । 

काठमाडौं उपत्यका लामो समयसम्म भारत र तिब्बतबीच मध्यस्थ व्यापारको केन्द्रको रूपमा त रह्यो तर खच्चरहरूबाट हुने त्यो व्यापारको मात्रा  नगण्य नै थियो । अर्कोतिर,  प्राकृतिक सम्पदाले मुलुक भरिपूर्ण भए पनि त्यसको दोहन गरेर तत्काल लाभ लिने प्रकारको प्राकृतिक सम्पदा (जलस्रोत, जङ्गल, जडीबुटीबाहेक) पनि मुलुकमा थिएन ।  मुलुकको तुलना विश्वका समृद्ध मुलुकहरूसित गरिरहँदा यी तथ्यहरूप्रति पनि आँखा चिम्लिन सकिन्न । तर भूगोल र इतिहासको जस्तोसुकै चुनौती र प्रतिकुलताका बाबजुद तीन करोड जनता र मुलुकको राजनीतिक नेतृत्व एकजुट हुने हो भने नेपाल समुन्नत र समृद्ध बन्न सम्भव छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X