ad
x
संस्मरण

सपनामा पनि नआउनू है विमल दाइ !

person explore access_timeमाघ १, २०७८ chat_bubble_outline0

कानहरू यिनै हुन् मेरा । कुन्नि त्यस दिन के सुनेँ मैले; सुन्नै नपर्ने सुनेँ । नचाहेको भनौँ अत्यन्त अकल्पनीय कुरा सुनेँ । त्यो कुरा सुन्न पनि मेरा कानहरूलाई त्यसै दिन परेको ! कति खुसीले सीमा नाघेको थियो हिजोसम्म । मुटु पनि ढुकढुक गरिरहेथ्यो तर त्यो धड्कन, त्यो हर्ष, त्यो अपूर्व अनुभूति केवल क्षणिक मात्र बन्न पुग्यो, यिनै कानको सुनाइले गर्दा । 


पत्रिकाहरूको पोको फुकाउने क्रममा एउटा बाक्लो पत्रिका भेट्टाएँ । त्यो पत्रिकाले छुट्टै इतिहास बोकेको पनि गिदीले छुट्याउन बेर गरेन । त्यही पत्रिकासँग भेटेपछि मलाई यो अनुभूति पोख्न हातलाई कलम समाउन बाध्य बनायो मनले । त्यो पत्रिकाको नाम र त्यसले बोकेको इतिहास अनि यी कानले त्यस दिन सुनेका कुरा र त्यो सुन्नुअघिको हर्षको सीमा नरहनेसम्मको क्षण के कस्ता हुन्, त्यो नलेख्ने हो भने मेरो साहित्यिक रुचिप्रति प्रसन्नता व्यक्त गर्ने व्यक्तिको आत्माले सराप्ला जस्तो मनले मान्यो ।



हो, त्यो दिन यी कानले सुन्नु परेको थियो– ‘विमल बिते ।’ तीतो र रुखो शैलीमा बिहानपख सुन्नुपरेको थियो । दोहोर्याएर स्पष्ट हुने चेष्टा गर्दा हिजो बुटबलमा पारिका विमल दाइ बितेछन् । म सत्य सत्य ती कुरा स्पष्ट सुनेर भुइँतिर फर्कें । केहीबेर बोली आएन । मैले सुन्ने शब्दहरू भित्रबाट आमाले पनि सुन्नुभएको थियो, ‘के भन्छ यो ?’



त्यसो त मरेपछि मानिसका गुणहरू मात्र सम्झना हुन्छ । अवगुण स्वतः मृत्युसँगै जान्छन् रे ! तै पनि अतिशयोक्ति प्रकट नगरी भन्दा विमल दाइले मलाई निकै माया गर्थे । मलाई यसरी माया गर्ने व्यक्तिहरू कमै पाएको छु जीवनमा । त्यसो त माया धेरै खाले हुन्छन् । विमल दाइ मलाई माया गर्नेमध्ये एक हुन् । दुःख लाग्छ, अब थिए भन्नुपर्छ । विमल दाइको जीवन अलिकति त पहिले नै सकिएको थियो । तै पनि मृत्यु भएको थिएन । मस्तिष्कमा असर परे पनि उनले ममाथि कहिल्यै पनि दुव्र्यवहार गरेनन् । मैले उनलाई बहुलाएको अवस्थामा पनि भेटेको थिएँ तर बहुलाएको भए पनि मलाई त्यस्तो लागेन । मलाई पूर्ण विश्वास छ कि यस दुनियाँमा सत्य र यथार्थ कुरा बोल्ने बौलाहा नै हुन् । सज्जन त पटक्कै यथार्थ बोल्दैनन् । 



विमल दाइ मरेर गए । काल गतिले मरे पनि, विष खाएर मरे पनि, झुन्डिएर मरे पनि आखिर मर्नु नै हो; उनी मरे । यो दुनियाँ उनलाई मन परेन होला  सायद । नत्र यसरी मर्नै पर्ने; काललाई निमन्त्रणा दिनैपर्ने जस्तो मैले देखेको थिइनँ । पत्नी, छोरो, बाबुआमा, दाजुभाइ कसैलाई पनि देखेनन् उनले त्यस बेला । म उनीप्रति किन हो कुन्नि त्यति गाढा दुःख पोख्दै छु । आखिर मेरो छिमेकमा अरू पनि त मरेकै थिए । म दस दिन लगातार उनका नाममा गरिने तथाकथित संस्कार पूरा गर्ने क्रममा उनका घर गएँ, उनी नभए पनि ।



त्यो दिन म हर्षित थिएँ, किनकि मेरो नाम रेडियोबाट प्रसारित भएको थियो त्यो पनि पुरस्कार पाएर । मेरा शुभेच्छुकहरू सबैलाई खुसी लागेको पाएको थिएँ मैले । विमल दाइलाई भने लागेनछ कि लाग्यो कुन्नि ! मैले सोध्नै पाइनँ । किनभने उनले त्यसै दिन मृत्युलाई निमन्त्रणा दिँदैरहेछन् । उनी मर्ने दिन नै सिद्धिनाथ बासित पनि भेट भएको थियो । म पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । 



पत्रिकाको टोक्रो खोतल्दा आज ‘समकालीन साहित्य’ नामक् पत्रिकाले मलाई हेर्यो । त्यो पत्रिकासँग विमल दाइ छन्; मेरो साहित्य छ; मेरो साहित्यप्रतिको रुचिलाई विमल दाइले देखाएको भावनात्मक सम्बन्ध छ । मैले भनेको होइन; प्रसङ्ग पनि चलाएको होइन । विमल दाइ मन्त्रालयमा जागिर गर्थे । मैले दोबाटामा पढाउँथेँ । घर आएको बेला उनी विद्यालयसम्म पुग्थे; गफ गर्थे । जे होस्, मेरो पीडा बुझ्थे; मैले उनको पीडा बुझ्न नसके पनि ।



यी क्रमहरू चले केही वर्ष । त्यसो त परिवर्तनशील संसारमा सधैँ उही प्रक्रिया दोहोरिन्न । उनी त अहिले छैनन् नै; म पनि त्यहाँ पढाउन छाडेँ । एक दिन विमल दाइले भनेका थिए, ‘भाइ ! मैले तिमीलाई एउटा किताब ल्याइदिएको छु ।   तिमीले साहित्य मन पराउँछौ, कविता लेख्छौ त्यसैले ।’ अनि त्यो मलाई नै भनेर ल्याइदिएको ‘समकालीन साहित्य’ नामक् पत्रिका दिएका थिए । 



आजसम्म विमल दाइबाहेक मैले दोस्रो व्यक्ति पाएको छैन जसले मेरो रुचिप्रति ध्यान राखी विनाअनुरोध पुस्तक ल्याइदेओस् । उनको त्यो चिनो उनी गए पनि रहनेछ । कारणवश त्यो हरायो भने यी अनुभूति त हराउन सक्दैनन् । उनले अब काशी भनेर त बोलाउन्नन्, तापनि यो स्मृति लेखले उनले बोलाएकै जस्तो लाग्नेछ ।

सम्झेर कताकता हृदय दुखेको अनुभूति भइरहेछ । खै, त्यसरी स्वविवेकले मलाई सहयोग गर्ने को पो होला र अब ? आँशुले बाटो छेक्यो । लेख्न राम्रोसँग पनि सकिएन । दुई थोपा आँसु बाहिर फर्केर चुहाएँ । तिमी त्यसरी किन गयौ ? सायद वीरेन्द्रको हत्याकाण्डझैँ यो पनि रहस्यमय नै हुन्छ कि ? मैले आज श्रद्धा र सम्झनाका शब्दहरू मात्र पोखेँ । अरू मबाट हुन पो के सक्छ र ? यदि हाम्रो रूढिवादी मान्यताअनुसार तिम्रो मृतात्माले पुनर्जन्म लियो भने त्यो जन्ममा तिमी बहुलाउनु नपरोस् है !

अहिले सङ्कटकालीन अवस्था छ । एक दुई पटक सपनामा पनि आएका थियौँ । अब त त्यसरी सपनामा पनि नआउनू है विमल दाइ !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X