बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रावती गाउँपालिकाले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने

शनिबार, ०१ माघ २०७८, १६ : १५
शनिबार, ०१ माघ २०७८

इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा  आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै  दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका छन्  ।”

‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि क्षेत्रलाई व्यवस्थित गराउन गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्द्रसमेत स्थापना र  प्रवद्र्धन गर्ने भएको छ । किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषक व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने  गाउँपालिकाको जिकिर छ । यसैगरी इन्द्रावती नदी किनारमा वर्षौंदेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा नापी गर्न आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत पारित गर्नाका साथै  सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामकरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष २०७७/७८ को हालसम्मका उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै  यो आर्थिक वर्षमा १९दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको र  बाँकी योजना सम्झौता र भुक्तानीको क्रममा रहेको उल्लेख गरे । गाउँसभाले चौमासिक समीक्षासँगै योजना संशोधन तथा रकमान्तर, करका दर, दायरा थप तथा संशोधन, कार्यविधि स्वीकृत र  खरिद समिति  तथा मूल्याङ्कन समिति गठनलगायत एजेण्डा पारित गरेको थियो।
 
बढ्दै कोभिड सङ्क्रमित

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका चार पुरुष र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको हो । बिहीबार पाँच महिला र चार पुरुष गरी नौ जनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी एकै स्थानमा एकैपटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन र पठनपाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचना बमोजिम गर्न गराउन सबै स्थानीय तहलाई निर्देशन पनि दिएको छ ।

बैठकले सङ्क्रमण वृद्धिदर उच्च रहेको निष्कर्ष निकाल्दै जिल्लावासीमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान पनि गरेको छ ।

समुदायका जोखिम क्षेत्र पहिचान गरी एन्टिजेन किटबाट परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का बिरामीको उचित व्यवस्थापन गर्दै जाने, खोप लगाउन छुटेका व्यक्तिलाई कोभिड–१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने, घरमै आइसोलेसनमा रहेका व्यक्तिको निगरानी बढाउने, सार्वजनिक सवारी साधनबाट जिल्ला प्रवेश गर्ने नाकामा यात्रुले मास्क लगाए नलगाएको जाँच गरी मास्क लगाउन अनिवार्य गराउने, स्थानीय तहसँग समन्वय गरी सहायता कक्ष सञ्चालन गर्ने र स्वास्थ्य केन्द्र तथा आइसोलेसन सेन्टरमा आवश्यक पूर्वतयारीको व्यवस्था  गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप