शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबलको उपाधि : पुरुषतर्फ आर्मी, महिलातर्फ एपीएफ

शनिबार, ०१ माघ २०७८, १९ : ०५
शनिबार, ०१ माघ २०७८

विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हराएको हो । आर्मीले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो ।  उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजार प्राप्त गरेको छ ।

महिलातर्फको उपाधि भने एपीएफले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी १० टिमको सहभागिता रहेको थियो । महिलातर्फ एपीएफले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो ।  प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान ३ लाख प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपीएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार हात पारेका छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीमा महिलातर्फ उत्कृष्ट सर्भर एपीएफका निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपीएफका हिरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारु र प्रशिक्षकमा एपीएफका महेश चौधरीले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन्  ।

यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिप टपका अमित गुलिया, लिब्रो आर्मीका इश्वर थापा, स्पाइकर टिप टपका विनितकुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिंहले जनही १० हजारका दरले पुरस्कार प्राप्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप