शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको झण्डीडाँडाबाट मेचीनगरसम्मको प्याराग्लाइडिङको परीक्षण उडान सफल

शनिबार, ०१ माघ २०७८, २१ : २८
शनिबार, ०१ माघ २०७८

पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देख्नुभएका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिएका छन् । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उनी आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान सुरु गरेका हुन् । 

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर  नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन् ।

शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गरेका थिए भने आज वडाध्यक्ष स्वयंले उडान गरेर परीक्षण सफल भएको बताए । उनले भने, ‘पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान गर्यौं सफल भयौँ, अब एक महिना भित्रैमा व्यावसायिक रूपमा काम गर्छौँ ।” उनले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गरे ।

उनले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताए । उनले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताए ।

झण्डीडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर नगरपालिका–१ स्थित तिरिङखोलाको बगर र सोही वडामा रहेको बाल विकास आधारभूत विद्यालयको प्राङ्गणमा अवतरण गरिने व्यवस्था मिलाइएको छ । 

मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उनको भनाइ छ । यहाँबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्न सकिन्छ । जसका लागि दैनिकजसो पर्यटक आउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप