शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीवासीले देउडा खेलेर मनाए ‘माघे सङ्क्रान्ति’

शनिबार, ०१ माघ २०७८, २१ : ३६
शनिबार, ०१ माघ २०७८

यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । सङ्घ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भीड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज मानिस खचाखच भएको दृश्य देखियो । 

वीरेन्द्रनगर नगरपालिकाको दक्षिण अर्थात् अत्याधुनिक रङ्गशाला निर्माणधीनस्थलको उत्तरपट्टीको चौरमा एकाएक मान्छेहरू जम्मा भए र गोलो घेरा बनाएर देउडा खेल्न सुरु गरे । ती सबै साविक कर्णालीवासी थिए । घरमा हुँदा देवदारका ठूला मुढा बाल्दै रातभरि जाग्राम बस्ने, एकाबिहानै चिसो पानीले नुहाइधुआइ गर्ने, आलु पोल्ने, फर्सी, पिडालु, भट्याउला (कन्दमूल) पकाउने र सेल रोटीसहितका मिठामिठा परिकार खाएर माघे सङ्क्रान्ति मनाउने उनीहरूले सुर्खेतमा देउडा खेलेरै यो पर्व मनाएका हुन् ।

खासगरी थारु समुदायले माघी अर्थात् नयाँ वर्ष, मगर समुदायले मकर सकरातीका रूपमा मनाउँदा साविकको कर्णालीवासीले माघे सङ्क्रान्तिका रूपमा मनाउँदै आएका छन् । आज पर्वको अवसर भए पनि अक्सर यहाँका नागरिकले हरेक महिनाको १ र १५ गते देउडा खेल्ने गर्दछन् । कोरोना महामारीको बढ्दो सङ्क्रमणका विषयमा थाहा भए पनि देउडाबाट आफ्ना बिरह, दुःख, गुनासाका पोख्नुका साथै भलाकुसारी गर्न पाउँदा त्यसैमा उनीहरूले बढी सन्तुष्टि लिएका छन् ।

 कर्णालीका संस्कृतिसम्बन्धी जानकार डिल्लीप्रसाद तिवारीले देउडा खेल मात्र नभएर यहाँको सांस्कृतिक र मौलिक पहिचान भएको बताए । “देउडाले यहाँको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षलाई राम्रोसँग उजागर गर्दछ”, तिवारीले भने, “यो हाम्रो आपसी सम्बन्ध र सद्भावको सङ्गम पनि हो । समग्रतामा देउडा कर्णालीको सम्पति हो ।” यसको संरक्षण र सम्वर्द्धनमा राज्यले जोड दिनुपर्ने उनले बताए ।

तातोपानी गाउँपालिका जुम्लाका स्थानीय ज्येष्ठ महिला खुम्बिरा शाहीले देउडालाई कर्णालीको जीवनको संज्ञा दिँदै भने, “हामी देउडामै वेदना पोख्छौँ, यसमै हाँस्छौँ, यसमै रुन्छौं र यसबाटै समाजलाई सचेत बनाउँछौँ ।” यसले मनोरञ्जन दिनुका साथै आफन्त, दाजुभाइ, दिदी बहिनीबीच मिलन गराउने उनले बताए ।

तिला गाउँपालिका जुम्लाका स्थानीय महिला कालिका भट्टराईले देउडा हामी भित्रका दुःख–सुख, समस्या, सङ्घर्षका सबै कुरा बिसाउन सरल, सहज र मौलिक माध्यम भएको बताइन् । उनका अनुसार आज परेको माघे सङ्क्रान्ति पर्व देउडा खेलेरै रमाइलो गरिएको छ ।

माघे सङ्क्रान्तिका कारण आज राजधानीको मुख्य शहरमा भीड भएपनि भोलिदेखि नहुने गरी आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार निर्देशनअनुसार मानवीय गतिविधि सञ्चालन गर्न आइतबारदेखि प्रहरी परिचालन गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप