शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरे तोरीको तेललाई ब्राण्ड बनाइँदै

आइतबार, ०२ माघ २०७८, १२ : २२
आइतबार, ०२ माघ २०७८

लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन भक्तपुरे तोरीको तेललाई ‘ब्राण्ड’ बनाइने भएको छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रवद्र्धन गर्ने भएपछि करिब हराइसकेको परम्परागत पेशालाई पुनरूत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । 

तोरीको तेललाई ब्राण्डका रूपमा स्थापित गर्न भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा छलफल भइसकेको छ । प्रारम्भिक चरणको छलफलमा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागी थिए ।

लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताएका छन् । साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पूँजी तथा कच्चा पदार्थ अभाव र मौलिक उत्पादनको गुणस्तरसम्बन्धी गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उनको भनाइ छ । 

भक्तपुरको गोमारी टोलमा सम्पन्न कार्यक्रममा पुर्ख्यौली पेशा अँगाल्दै आएका साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुरको चोडे टोलका व्यवसायीहरू सहभागी थिए । दोस्रो चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेट्ने बताइएको छ । 

भक्तपुरका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनको लागि अरू संघसंस्थाहरूले पनि प्रयास गरिरहेका छन् । भक्तपुरको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा र चाकु लगायत स्थानीय उत्पादन ब्राण्डको रूपमा स्थापित भइसकेको छ ।

भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनको लागि संघले अध्ययन समिति बनाएको छ । समितिले सरोकारवाला पक्षलाई सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप