बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको चुरे गाउँपालिका जसको कार्यालयसमेत सुरुमा अर्को पालिकामा राख्नु परेको थियो

उपाध्यक्ष दिपादेवी साउद भन्छिन्– काँचुली फेर्दैछ चुरे पालिकाले
आइतबार, ०२ माघ २०७८, १३ : ०२
आइतबार, ०२ माघ २०७८

 सुदूरपश्चिम प्रदेशको सुगम जिल्ला भएर पनि यसका सबै पालिका सुगम छैनन् । प्रदेश राजधानीसमेत रहेको कैलालीका केही पालिका दुर्गम छन् । सुगम मानिएको कैलालीका यिनै दुर्गम पालिकामध्येको एक हो चुरे गाउँपालिका ।

नेकपा एमालेका तर्फबाट चुरे गाउँपालिका उपाध्यक्षमा निर्वाचित दिपादेवी साउदले कैलालीकै विकट मानिएको यो गाउँपालिकामा आफूहरु जनप्रतिनिधि भएर आउँदा विकास शून्य अवस्था रहेको स्मरण गराइन् । सडक, विद्युत, स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूति सेवाबाट समेत त्यो बेला यहाँका नागरिक वञ्चितजस्तै रहेको उनले सुनाइन् ।

‘विकटताकै कारण केही महिना त कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा चुरे गाउँपालिकाको कार्यालय खोलेर काम गर्नु परेको थियो,’ उनले रातोपाटीसँग भनिन्, ‘गाह्रो भए पनि त्यसलाई छिचोल्दै विकास गरेका छौं जस्तो लाग्छ । अहिले चुरेका सबै वडामा सडक पुगेको छ । चार वटा स्वास्थ्य इकाई थपेर ७ वटा स्वास्थ्य चौकी निर्माण गरेका छौं ।’ आफूहरु निर्वाचित भएको आउँदाको अवस्था र अहिलेको अवस्था तुलना गर्ने हो भने पालिकाले काँचुली फेरेको उनको भनाइ छ ।

विद्युत सेवा पनि केही बस्तीबाहेक सबै वडामा विस्तार भएको उनले सुनाइन् । वडा नं १, २, ३, ४ र ६ का केही बस्तीमा अझै पनि विद्युत पु¥याउन नसकेको उनले जानकारी दिइन् । ‘तर काम जारी छ, केही महिनाभित्र त्यहाँ पनि विद्युत पु¥याउने योजना छ,’ उनले भनिन्, ‘गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ । वडा नं ५ र ६ को कार्यालय भवन निर्माण पनि सम्पन्न भइसकेको छ ।’ वडा नं १, २, ३ र ४ को वडा कार्यालय निर्माणका लागि टेण्डर भइसकेको उनले बताइन् ।

पालिकाको न्यायिक समिति संयोजकको हैसियतले आफूले न्याय सम्पादनमा समेत सक्रियता बढाएको उनको भनाइ छ । योे वर्षमात्रै २० वटा मुद्दामा मिलापत्र गरेको उनले जानकारी दिइन् । उनका अनुसार न्यायिक समितिमा धेरैजसो जग्गाको सीमाना विवाद, गालीगलौजका मुद्दा आउने गरेको छ ।

भौगोलिक विकटताका कारण वडाहरु टाढाटाढा रहेकाले अहिले वडामै मेलमिलापकर्ता गठन गरेर धेरैजसो मुद्दा वडाबाटै मिलापत्र हुने गरेको उनले बताइन् ।

आफूले प्रतिनिधित्व गरेको दल नेकपा एमाले विभाजन भएको अवस्थामा भने काम गर्न केही असहजता भएको उनले सुनाइन् । ‘पालिकास्तरमा पार्टी विभाजनको असर त्यति नपरे पनि आस्थाकै कारण प्रदेश सरकारबाट भने एमालेका स्थानीय तहका जनप्रतिनिधिमाथि विभेद भएको थियो,’ उनले भनिन्, ‘चुरे गाउँपालिकामा परेको विद्यालयको तारजालीको योजना र सडक सम्बन्धी योजना अन्तै दिइएको थियो ।’

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमाले पार्टी मै भएकाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ती योजना काटेको हो भन्ने महसुस आफूहरुले गरेको उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप