शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी हुँदैछ यो वर्ष शालीनदीमा श्री स्वस्थानी माधवनारायण ब्रत र मेलाको तयारी ?

आइतबार, ०२ माघ २०७८, १४ : २४
आइतबार, ०२ माघ २०७८

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वास्थानी शालीनदी मेला सोमबारदेखि सुरु हुँदैछ । सामान्य अवस्थामा एक महिनाको अवधीमा लाखौं दर्शनार्थी मेला भर्न पुग्ने गरेपनि यो बर्ष कोरोना संक्रमण बढ्दै गएकाले मेला व्यवस्थापन समितिले कोभिड विरुद्धको पूर्णमात्राको खोप लगाएकाहरुलाई मात्र ब्रतमा सहभागी गराउँदैछ । साथै न्यून संख्यामा मात्र व्रतालु राख्ने, माधननारायणको मन्दिरमा पूजा गर्नका लागि पनि पूर्ण मात्राको कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने व्यवस्था गरेका श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । कोभिड संक्रमण बढिरहेको सन्दर्भमा कसरी मेला सञ्चालन हुँदैछ भन्ने सन्र्दभमा अध्यक्ष श्रेष्ठसँग रातोपाटीले गरेको कुराकानी :

साँखुमा माघ ३ गतेदेखि श्री स्वस्थानी ब्रतकथामा आधारित १ महिने शालीनदी मेला लाग्दैछ । कोभिड संक्रमणदर पनि बढिरहेको छ । तपाईहरुले मेलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

यो वर्ष हामीले मेलाको रुपमा भन्दापनि नित्यपूजा र व्रतमा सीमित राखेर धार्मिक कार्यक्रम अगाडि बढाउँदैछौँ । ब्रतका लागि पनि मापदण्ड तोकेका छौँ । उमेरहद १६ बर्षदेखि ६० बर्ष तोकेका छौँ । दीर्घरोगी हुन नहुने, कोभिडको पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने, खोप लगाएको कार्ड हुनुपर्ने, निमोनिया नभएको प्रमाणित गर्नुपर्ने मापदण्ड तोकेर ब्रत सञ्चालन गर्दैछौँ ।

विगतका बर्षहरुमा ब्रतालुहरु कति हुन्थे, यो बर्ष कतिको संख्यामा हुन्छन् ?

विगतको सामान्य अवस्थामा ४ सय जनाभन्दा बढी ब्रतालुले १ महिनासम्म नियमित श्रीस्वास्थनीको ब्रत लिने गर्दथे । गतबर्ष कोभिडका कारण भएको लकडाउनको अवस्थामा ५२ जना ब्रतालुहरु राखेका थियौं, यो बर्षपनि सीमित संख्यामा मात्र व्रतालु राख्न खोजिरहेका छौँ ।

यो बर्ष मेलामा दर्शनाथीहरु कुन मात्रामा आउने अपेक्षा गर्नुभएको छ, उनीहरुको लागि के कस्तो व्यवस्थानको तयारी गर्नुभएको छ ?

श्रीस्थानी र माधवनारायणको दर्शन गर्ने विशेष समय माघ महिनामा भएकोले शालीनदी बिशेष धार्मिक केन्द्रको रुपमा रहेको छ । कोभिड संक्रमणको कारण गत बर्षपनि कम संख्यामा दर्शनार्थीहरु आउनुभएको थियो । यो बर्षपनि कम संख्यामा नै आउनुहुन्छ होला भन्ने अनुमान गरेका छौँ । यहाँ आउने दर्शनार्थीहरुका लागि हामीले निःशूल्क मास्क र स्यानीटाइजरको व्यवस्था गरेका छौँ ।

हामीले भौतिक व्यवस्थापनको तयारी पूर्ण रुपमा गरिसकेका छौँ । सुरक्षाको विषयमा सुरक्षा निकाय, स्थानीय सरकारसँग छलफल गरेर र उनीहरुको सम्पर्कमा रहेर काम गरिरहेका छौँ । अन्य विशेष परिस्थिति आएन भने हामीले नित्य पूजा र ब्रत निरन्तर सञ्चालन गर्नेछौँ ।

साथै यो बर्ष शालीनदीमा गत असोज १४ गते माधव नारायणको मूल मन्दिर शिलान्यास भएर निर्माणको काम सुरु भइरहेको छ । माधवनारायण पार्कमा रहेको स्तम्भमा पनि हामीले नारायणको मूर्ति स्थापना गरिसकेका छौँ । पुस ६ गते मूर्तिको अनावरण गर्दैछौँ ।

व्रतको प्रक्रिया कसरी अगाडि बढ्दैछ ?

व्रतको प्रक्रिया मंसिर पूर्णिमाको ४ दिन अघिदेखि नै सुरु भएको हो । व्रतको प्रक्रिया सुरु भइसकेको छ । पूर्णिमाको अघिल्लो दिन आइतबार एक महिनासम्म नुन नखानेका लागि अन्तिम नुनभोज खाएर नुहाएर चोखो भएर ब्रम्हपुर पुगेर चोखो जल ल्याएर ब्रत आरम्भ हुन्छ । ब्रत सोमबारबाट सुरु हुन्छ ।

विगतका वर्षहरुमा शालीनदी मेलामा आउने दर्शनार्थीहरूको आकस्मिक उपचारका लागि स्वास्थ्य शिविरहरुको व्यवस्था हुने गरेको थियो । यो वर्ष कस्तो व्यवस्था गरिएको छ ?

पिपुल्स लाइफ हस्पिटलले शालीनदी परिसरमा स्वास्थ्य शिविर राखेको छ । शंखरापुर नगरपालिकाले नगरपालिका कार्यालयको परिसरभित्र स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।

हामीले दर्शनार्थीहरूलाई सामाजिक दुरी कायम गरेर मात्रै दर्शन गर्न अनुरोध गरिरहेका छौँ । स्थानीय सरकार, स्थानीय प्रशासन, शालीनदी मेला ब्यवस्थापनका पदाधिकारी सहितको छलफलबाट माधवनारायणको दर्शनका लागि पूर्ण खोप लिएका खोप कार्ड भएकाहरुलाई मात्र अनुमति दिने निर्णय भएको छ । सबैको स्वास्थ्यलाई पूर्ण ध्यानमा राखेर मात्रै शालीनदीमा दर्शन गर्न आउनका लागि हामी भक्तजनलाई अनुरोध गर्दछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप