शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता

५० हजार जरिवाना र एक वर्ष कैद सजायको मागदाबी
आइतबार, ०२ माघ २०७८, १५ : ०४
आइतबार, ०२ माघ २०७८

ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो । २४ दिन लामो अनुसन्धानपछि जानुकाले ६ वर्षीय बालकलाई यातना दिएको पुष्टी भएको भन्दै उनीमाथि मुद्दा दर्ता भएको हो । 

सरकारी वकिल कार्यालयकाअनुसार परिवर्तित नाम २०७८(४७) को जाहेरीका आधारमा नेपाल सरकार वादी भएर प्रतिवादी जानुका नेपालीविरुद्ध मुद्दा दायर भएको हो । उनीमाथि बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । 

सरकारी वकिल कार्यालयले आफ्नो निचोडखण्डमा यस्तो लेखेको छ :

‘निज पीडितले ओछ्यानमा पिसाब गरेको भनी जानुका नेपालीले पीडितको पिसाब गर्ने ठाउँमा रबरले बाँधेर यातना दिएको हुँदा निजलाई कानुनी कारवाही हुनुपर्छ भनी लेखाइदिएको ब्यहोरा कागज र सो घटनाका सम्बन्धमा पत्रिकामा छापिएको समाचार एवम् घटनाका सम्बन्धमा सोधपुछ गरिएको अडियो भिडियो तथा घटनास्थलको फोटोसमेत मिसिल संलग्न आधार प्रमाणहरुबाट निज प्रतिवादी जानुका नेपालीले वर्ष ६ का नाबालाक परिवर्तित नाम २०७८ पोखरा ४७ ले बिस्तारामा पिसाब गरेको भनी निजले पिसाब गर्ने अङ्गमा बाँधी यातना दिनेजस्ता कार्य गरी बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा १ ले निषेधित तथा उपदफा २ को खण्ड घ र ङ बमोजिमको कार्य गरी बालबालिका विरुद्धको कसुर गरेको पुष्टी हुन आयो ।’

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ को खण्ड घ र ङ मा यस्तो लेखिएको छ : 

(घ) घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने । 
(ङ) शारीरिक चोटपटक वा असर पुराउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने । 


यही उपदफा प्रयोग गरेर जिल्ला सरकारी वकिल कार्यालयले सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड क बमोजिमको सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । 
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७२ को उपदफा ३ को खण्ड क मा यस्तो कानुनी व्यवस्था राखिएको छ । 

दफा ६६ को उपदफा (२) को खण्ड क, ख, ग, घ, ङ, च वा (द) वा दफा ७८ को उपदफा (१) वा (२) बमोजिमको कुनै कार्य गरेमा पचास हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय । यसै दफाको आधारमा कास्कीको फलेपाटनमा रहेको न्यु लाइफ स्कुल नामक होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गरिएको छ । 

भएको के थियो ?
कास्की जिल्लाको फलेपाटनमा एउटा होस्टल छ, न्यु लाइफ स्कुलको नाममा । उक्त होस्टलमा केही अनाथ तथा सडक बालबालिकाहरु रहेका छन् । उनीहरुलाई शिक्षा, आवास आदिको व्यवस्था गरिएको छ । होस्टलमा रहेका बालबालिकालाई होस्टेलले नजिकै रहेको सिद्ध माध्यमिक विद्यालयमा अध्यापन गराउने गरेको छ । 

गत पुष ५ गते सिद्ध माध्यामिक विद्यालयमा कक्षा नर्सरीमा पढाउने जाने शिक्षिका सिर्जना कँडेललाई एक बालिकाले एउटा रबर दिइन् । रबर किन दिएको भनेर सोध्दा बालिकाले एक बालकलाई देखाएर उसले धेरै पिसाब गर्छ त्यही भएर पिसाबनलीमा रबरले बाँधिदिनोस् भनेर सुनाइन् । शिक्षिकाले उक्त रबर डस्टबिनमा फालिदिइन् । तर ती बालिकाले फेरि पिसाब धेरै गरेकाले रेमन (होस्टलमै रहने बालक) को पिसाब नलीमा पनि रबरले बाँधिदिएको सुनाइन् । 

जब शिक्षिका कँडेलले बालकलाई हेरिन्, उक्त बालक रुन थाल्यो । शिक्षिकाले अहिले पनि पिसाब नलीमा बाँधिएको छ हो भनेर सोध्दा बालकले रुँदै हो भन्ने जवाफ दिए । शिक्षिकाले हतार हतार बालकले लगाएको पाइन्ट खोलेर हेरिन् । नभन्दै बालकको पिसाब नलीमा कसिलो गरी रबरले बाँधिएको थियो । 

त्यसलगत्तै शिक्षिका सिर्जना कँडेलले विद्यालयकै सहायक प्रिन्सिपल र सहायक प्रिन्सिपललाई कक्षाकोठामै बोलाइन् र देखाइन् । तीनैजना शिक्षक मिलेर बच्चाको पिसाब नलीमा बाँधिएको रबर काटे ।  शिक्षिक कँडेलकाअनुसार पिसाब नलीमा कसिलो गरी रबरले बाँधिएको कारण बालकको पेट फुल्लिएको थियो । पेट फुल्लिएको कारण बालकको नाइटोसमेत अस्वभाविक रुपमा बाहिर निस्किएजस्तो देखिन्थ्यो ।

अनुहारको भागभंगीमा पनि परिवर्तन भएको थियो र बालक असाध्यै धेरै पीडामा भएको अनुभूति गरिरहेका थिए । पिसाब नलीबाट तपतप पिसाबसमेत चुहिरहेको थियो । जब शिक्षक र शिक्षिका मिलेर बालकको पिसाबनलीमा बाँधिएको रबर काटियो, त्यसपछि बालकले अत्याधिक धेरै पिसाब गरे । 

बालकमाथि अमानवीय व्यवहार गरेको पाइएलगत्तै विद्यालयले यसबारे सोधखोज गर्यो । होस्टलमै रहेका अन्य बालबालिकासँग कुरा गर्दा होस्टलकै कर्मचारी जानुका नेपालीले ती बालक तथा अन्य बालबालिकामाथि पनि त्यस्तै अमानवीय व्यवहार गर्ने गरेको थाहा भयो । सोही विद्यालयमा पढ्ने होस्टेलका कर्मचारी जानुका नेपालीकै बच्चाले पनि मामुले त्यसरी बाँधिदिनुभएको कुरा बताए । 

यस्तो घटनालगत्तै विद्यालयले होस्टलकी कर्मचारी नेपालीलाई विद्यालयमा बोलाएर कुरा गर्यो । सुरुमा नेपालीले आफूले त्यस्तो अमानवीय कार्य नगरेको जवाफ दिइन् । तर धेरै सोधखोज गरिसकेपछि बच्चाले ओछ्यानमा पिसाब गर्ने गरेकाले तर्साउने नियतका साथ त्यसरी पिसाब नली बाँधिदिएको तर विद्यालय जाने बेलामा झिक्न बिर्सिएको बताइन् । 

होस्टल कर्मचारीले नै त्यस्तो बताएपछि होस्टलका सञ्चालकलाई समेत बोलाएर विद्यालयले छलफल ग¥यो । अनि अब आइन्दा त्यस्तो अमानवीय कार्य नगर्ने कागजसमेत गराइयो ।  तर अमानवीय हर्कत लुकाउन विद्यालय र होस्टेलले गरेको प्रयास सफल भएन । उक्त कुरा बिस्तारै सञ्चारमाध्यममा पनि आउन थाल्यो । त्यसपछि होस्टलले कर्मचारी जानुका नेपालीलाई बर्खास्त गरेको बतायो । तर बालबालिकामाथि अमानवीय गतिविधि गर्ने वार्डेन नेपालीमाथि कानुनी कारवाहीको माग उठेपछि प्रहरीले वार्डेन जानुका नेपालीलाई पक्राउ गर्यो ।

२४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले पुष २८ गते प्रमाणका साथमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको थियो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुष ३० गते शुक्रबार कास्की जिल्ला अदालतमा बालबालिका सम्बन्धी कसुरको आधारमा नेपालीमाथि मुद्दा दर्ता गराएको हो । 

बालबालिकालाई यातना दिएको अभियोगमा काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दामा बालबालिकालाई यातना दिने शिक्षिकालाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा पीडित बालबालिकालाई क्षतिपूर्तिस्वरुप एक लाख रुपैयाँ भराउने फैसला भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप