शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराट कोहली : भारतका सफल कप्तानको यस्तो बिदाई ?

आइतबार, ०२ माघ २०७८, १६ : ५८
आइतबार, ०२ माघ २०७८

शनिबार सामाजिक सञ्जालमा लेखेको एक पोष्टका माध्यमबाट विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानी छाडेको घोषणा गरे । यस्तो घोषणा हुने अड्कलबाजी दक्षिण अफ्रिकाविरुद्धको शृङ्खला अघि नै गर्न सुरु गरिएको थियो । विराटलाई कप्तानी बचाउनका लागि कुनै पनि हालतमा यो टेस्ट शृङ्खला जित्न जरुरी थियो । पहिलो टेस्टमा भारतले ११३ रनको अन्तरले जीत हासिल पनि गर्‍यो । तर, त्यसपछि जीतको लयलाई टोलीले कायम राख्न सकेन र त्यसपछिका दुई टेस्ट हार्न पुग्यो ।

वरिष्ठ खेल पत्रकार चन्द्रशेखर लूथरा भन्छन्, ‘यस शृङ्खलाको नतिजाअघि नै बीसीसीआईले विराटलाई हटाउने तय भइसकेको थियो । त्योभन्दा अघि नै विराटले समझदारी देखाउँदै आफै राजीनामा दिए । यसलाई तपाईं विराट भर्सेस बीबीसीआई पनि भन्न सक्नुहुन्छ । यहाँ सत्ताको अगाडि कुनै एक व्यक्तिको केही पनि चल्दैन । यो कुरा एकपटक पुनः पुष्टि भएको छ ।’

विराट भर्सेस बीसीसीआई ?

के यो लडाइँ वास्तवमै विराट भर्सेस बीसीसीआई बनिसकेको थियो ? यसलाई बुझ्न अघि टेस्ट टोलीको कप्तानको रूपमा विराटको योगदानलाई पनि हेर्नपर्छ । कोहलीको राजीनामा पछि बीसीसीआईले आफ्नो सामाजिक सञ्जालमा उनको योगदानको तारिफ गर्दै टेस्ट क्रिकेटको सबैभन्दा सफल कप्तान भएको बताएको छ । 

यसअघि यही भारतीय क्रिकेट बोर्डले एक महिनाअघि दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला अघि विराटलाई कप्तानीबाट हटाएको थियो । त्यतिबेला टीम घोषणाको प्रेस विज्ञप्तिमा मात्र दुई पङ्क्तिमा रोहित शर्मालाई कप्तानी दिइएको उल्लेख गरिएको थियो । कोहलीको योगदान या उनलाई आभार दिनेबारे केही उल्लेख थिएन । 

त्योभन्दा पनि एक महिनाअघि कोहली भारतीय क्रिकेटको तीनवटै फर्म्याटका कप्तान थिए । तर समयरूपी चक्रमा विराट कोहली रुपी सूर्य अस्ताउने अवस्थामा पुगेका छन् । अब यहाँबाट आफूलाई टीममा राखिराख्न सकेपनि उनका लागि ठूलो उपलब्धि हुनेछ ।

सफल कप्तान

विराट कोहलीले भारतका लागि कूल ६८ टेस्टमा कप्तानी गरे । यसमध्ये उनले ४० वटामा जीत दिलाए भने १७ मा हार तथा ११ मा बराबरी खेले । भारतको तर्फबाट कुनै पनि कप्तानले यति धेरै टेस्टमा जीत हासिल गरेका थिएनन् । उता ९५ एक दिवसीय खेलमा उनको कप्तानीमा ६५ खेलमा जीत दिलाए । एक दिवसीयमा महेन्द्र सिंह धोनी (११०), मोहम्मद अजहरुद्दीन (९०) र सौरभ गांगुली (७६) खेलमा जीतको हिसाबले अघि भए पनि विराटजस्तो जीतको दर ७० प्रतिशतभन्दा बढी थिएन । उनले विदेशी भूमिमा हासिल गरेको सफलताले पनि पटक–पटक यही कुराको याद दिलाउँछ कि विराटलाई जसरी कप्तानीबाट बिदाइ गरियो, उनी यो भन्दा राम्रो व्यवहारको हकदार थिए ।

वरिष्ठ क्रिकेट पत्रकार सी शेखर लूथारा भने, ‘जुन दिन विराटले सार्वजनिकरुपमा बीसीसीआईभन्दा अलग लाइन लिएका थिए । टी–२० को कप्तानबाट हटाएपछि उनी जसरी क्रुद्ध बनेका थिए, त्यो अप्रत्याशित थियो । यो स्पष्ट थियो कि उनको गणितमा केही गल्ती भएकै थियो । टेस्ट शृङ्खलामा हारेपछि उनलाई हटाउने नै थियो । यसबीच यो ध्यान दिन पनि जरुरी छ कि पछिल्लो दुई वर्षदेखि विराटको ब्याटले पनि धमाका देखाउन सकेको छैन जसका लागि उनी चिनिन्थे ।’

कसरी बनेका थिए कप्तान ?

विराटको टेस्ट कप्तानीको शृङ्खला पहिलोपटक अचानक २०१४ मा भारतका अस्ट्रेलियाको भ्रमणमा सुरु भएको थियो । एडिलेड टेस्टअघि कप्तान महेन्द्र सिंह धोनी घाइते भएपछि कोहलीलाई पहिलोपटक कप्तानीको मौका मिलेको थियो । 

एडिलेडको तीव्र गतिको पिचमा विराटले पहिलो पारीमा ११५ रन बनाए भने दोस्रोमा ३६४ रन पछ्याउँदै उनले १४१ को पारी खेले । अर्कोपट्टी मुरली विजयीजस्तै अन्य ब्याट्सम्यानले साथ दिएको भए पहिलो टेस्टमा नै इतिहास रच्ने थिए । तर टोली ४८ रनले हार्न पुग्यो ।

आगामी दुई टेस्टमा धोनीले कप्तानी गरे पनि चौथो टेस्टअघि सन्यासको घोषणा गरे । सिड्नीमा खेलिएको खेलको पहिलो पारीमा १४७ रन बनाए भने दोस्रोमा ४६ रन बनाए । यो खेल बराबरीमा सकियो । विराटले ६८ टेस्टमा भारतको कप्तानी गर्दा २० वटा शतक बनाए । यो भारतीय कप्तानको लागि नयाँ रेकर्ड पन िहो । कप्तानले टेस्टमा बनाएको शतकमा उनीभन्दा अघि मात्र ग्रेम स्मिथ मात्र छन् । उनले दक्षिण अफ्रिकाका लागि १०९ खेलमा कप्तानी गर्दै २५ शतक बनाएका थिए । 

भारतीय क्रिकेटका लागि योगदान

विराटले आफ्नो कप्तानीमा भारतलाई एक सशक्त टिम बनाएर राखे । उनको कप्तानीमा अगस्त २०१६ देखि मार्च २०२० सम्म लगातार ४२ महिनासम्म भारतीय टोली टेस्टमा नम्बर १ टोली बनेको थियो ।

उनको कप्तानीमा भारतले अस्ट्रेलियालाई टेस्ट शृङ्खलामा उसैको मैदानमा हराएको थियो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

यता, घरेलु मैदानमा भारतले पछिल्ला १४ टेस्ट शृङ्खला हारेको छैन । घरेलु मैदानमा खेलिएका २४ वटा टेस्ट खेलमध्ये भारतले २ वटामा मात्र हारको सामना गर्नुपरेको थियो ।

यद्यपि, विराटको कप्तानमा सबैकुरा ठीक भने थिएन । विराटको कप्तानीमा भारतले कुनै पनि ठूलो प्रतियोगिता जित्न सकेन । सन् २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पराजित भएको थियो भने सन् २०१९ को विश्वकपमा सेमिफाइनलमा सीमित बनेको थियो । सन् २०२१ को टी–२० को विश्वकपमा टोली सेमिफाइनलसम्म पनि पुग्न सकेन । आफ्नो कप्तानीमा विराटले रोयल च्यालेन्जर्स बैंग्लुरुलार्ई आईपीएलमा उपाधि दिलाउन सकेनन् ।

अबको ठूलो सवाल भनेको विराट अब के गर्छन् भन्ने हो । अझै पनि विराट थुप्रै क्रिकेट बाँकी छ । दुई वर्षमा उनले शतक बनाउन नसके पनि लगातार रन भने बनाइरहेका छन् । आज पनि सचिन तेन्दुलकरको १ सय शतकको रेकर्ड तोड्नका लागि प्रबल दाबेदार हुन् । तर यसका लागि उनले टोलीमा आफ्नो स्थान बचाएर राख्नुपर्छ । टेस्ट क्रिकेटमा २७ र एक दिवसीयमा उनले ४३  शतक बनाएका छन् । ब्याटिङको सहारामा अझै पनि दुई तीन वर्ष उनले क्रिकेट खेल्न सक्नेछन् । तर शनिबारको राजीनामासँगै उनको ब्राण्ड भ्यालु घट्दै जानेछ । त्यो भ्यालु कति घट्छ भन्ने उनको ब्याटिङमा निर्भर हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप