बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा सुधार आवश्यक छ, त्यसको अगुवाई काँग्रेसले गर्नुपर्छः पाण्डे

आइतबार, ०२ माघ २०७८, १७ : ०४
आइतबार, ०२ माघ २०७८

 नेपाली काँग्रेसका सह–महामन्त्री बद्री पाण्डेले पार्टी एकढिक्का बनाउन नेतृत्वपंक्ति र आम कार्यकताहरुले विधि विधानलाई अक्षरश पालना गर्नुपर्ने बताएका छन् । उनले हेटौंडामा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आन्तरिक द्वन्द्वले पार्टीलाई कमजोर बनाउँने भएकाले नेतृत्वपंक्तिले विधि विधानलाई कुल्चने काम गर्न नहुने र कार्यकर्ताहरूले पनि अनुशासित ढंगबाट अघि बढ्नु पर्ने बताएका हुन् ।

२०७४ को हारबाट सिकेर आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी जनताको मन जित्ने गरी काम गर्नुपर्ने आस्था आएकोले त्यस तर्फ केन्द्रीत हुन उनले कार्यकर्तालाई आग्रह समेत गरे । काँग्रेसले जनताको मुद्दालाई व्यवास्था गर्दै जाने हो भने विगतको अवस्थामा नै काँग्रेस बस्नु पर्ने भएकोले अब एक जुट भएर जनताको हितमा काम गर्नु पर्ने उनले बताए ।

सह–महामन्त्री पाण्डेले पार्टीको नेतृत्वमा पनि एक व्यक्ति एक कार्यकाल मात्र रहने व्यवस्था लागु गर्नुपर्नेमा जोड दिए । विगतमा एकै व्यक्तिले मात्र पार्टीको नेतृत्वमा कब्जा गर्दा नयाँ पुस्ताहरू राजनीतिबाट पलायन हुनुपर्ने अवस्था सृजना भएकोले अब यसलाई परिवर्तन गर्दै नयाँ जोश र जाँगर बोकेका युवा पुस्तालाई पनि स्थान दिने गरी कुनैपनि पदमा एक व्यक्तिले एक कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले काँग्रेसको १४ औं महाधिवेशन अन्तिम समयमा मात्र बाध्य भएर गर्नु परेको भन्दै पार्टीको यो अवस्थाले आम कार्यकर्ता र नागरिकमा गलत सूचना प्रवाह हुने बताए । पार्टीले आफ्नो निश्चित कार्यकाल भित्रै महाधिवेशन गरेर नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भएपनि काँग्रेसको १४ औं महाधिवेशनमा पनि त्यसो हुन नसकेको उनले गुनासो गरे ।

‘हामीलाई दिएको निश्चित कार्यकालमा हामीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो तर हामी १४ औं महाधिवेशन सम्म आइपुग्दा समेत निकै कठिनाइ भोग्दै नेतृत्व चयन ग¥यौ । एउटा प्रसव पीडामा छटपटाएकी महिलाको अवस्था भन्दा पनि गाह्राे गरी हामीले नयाँ नेतृत्व पाएका छौ । यो अवस्थालाई सुधार गरेर जानु पर्छ ,’ उनले भने ।

अन्य पार्टीको भन्दा काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई कार्यान्वयन गरेको भएपनि त्यो प्रयाप्त हुन नसकेको उनको भनाई थियो । ‘अन्य पार्टी भन्दा हामीले राम्रो लोकतान्त्रिक पद्धतीको अभ्यास त ग¥यौ तर त्यो प्रयाप्त होइन । अन्य पार्टीले निर्वाचनबाट भन्दा पनि वाचन गरेर नेतृत्व चयन गरे । हामीले प्रत्यक्ष मतदानबाट नेतृत्व पायौ तर त्यो प्रक्रिया अझै कमजोर देखियो । यसलाई सुधारेर काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नु पर्छ,’ सह–महामन्त्री पाण्डेले भने ।

लोकतान्त्रिक पद्धती अवलम्बन गर्दै गएपछि मात्र नयाँ विचार एवं परिष्कृत सोचको सृजना हुने र युवा पुस्ताको लागि अवसरको सृजना हुने उनले बताए । हिजोको दिनमा स्ववियुको निर्वाचन तथा नेवि संघको अधिवेशनहरू नियमित नहुँदो हो त काँग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र आफू जस्तो युवा पुस्ताको प्रतिनिधित्व सम्भव थिएन त्यसैले काँग्रेसलाई बलियो बनाउन लोकतान्त्रिक पद्धतिको उच्चतम उपयोग गर्नुपर्ने र त्यो अन्य पार्टीहरुको लागि पनि सिकाइको आधार बन्ने उनको भनाई थियो ।

काँग्रेसले लोकतान्त्रिक पद्धतिमा पनि समय अनुकुल सुधार गर्दै जानु पर्ने र मितव्ययी निर्वाचन प्रक्रिया बनाउन पहल गर्नु पर्ने उनको धारणा थियो । नेपालको राजनीतिमा कम्युनिष्टहरू भन्दा काँग्रेस निकै पुरानो शक्ति भएकाले वर्तमान राजनीति परिवर्तनमा पनि अगुवाको भूमिका निर्वाह गर्नु पर्ने उनले बताए ।

राजनीति सुधार तथा शुद्धीकरण आजको आवश्यकता भएकोले सत्ता मोह भन्दा पनि आम जनताको पक्षमा काँग्रेसले वकालत गर्नु पर्ने उनको भनाई थियो ।

राजनीति व्यवसाय नभइ सेवा भएकाले पहिले आफ्नो आर्थिक स्थिति सवल हुने प्रकृतिको व्यवसायमा लागेर मात्र राजनीतिमा आउनु पर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप