मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : लिपुलेक–कालापानीबारे बोल्यो सरकार, कोरोना संक्रमण बढेको बढ्यै

आइतबार, ०२ माघ २०७८, २० : ३५
आइतबार, ०२ माघ २०७८

आज २०७८ माघ २ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा कोरोना संक्रमण बढेको बढ्यै, अब फिल्म हल पनि बन्द, अनियमितताविरुद्ध कडा रुपमा उत्रिँदै मन्त्री प्रेमबहादुर आले, लिपुलेक–कालापानीबारे बोल्यो सरकार, कोरोनाविरुद्ध फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिन सुरु, कोरोना संक्रमणले नेताहरु धमाधम आइसोलेसनमा, अफगानिस्तानलाई नेपालले पठायो मानवीय सहायता, धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी लगायत छन् ।

१. कोरोना संक्रमण बढेको बढ्यै, अब फिल्म हल पनि बन्द
केही दिन यता नेपालमा कोरोना संक्रमण लगातार बढ्दै गएको छ । संक्रमण दर निरन्तर तीव्र गतिमा उकालो लाग्न थालेपछि सरकारले माघ १५ सम्मका लागि फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । यसअघि नै सरकारले माघ १५ सम्मका लागि विद्यालय बन्द गरिसकेको छ । संक्रमण दर बढेकै कारण सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक पनि स्थगित गरिएको छ । पछिल्लो २४ घण्टामा ४९६१ जनामा संक्रमण पुष्टि भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सम्भावित अनियमितताविरुद्ध आफूलाई खरो रुपमा प्रस्तुत गर्न थालेका छन् । सोही क्रममा उनले पशुपति क्षेत्र परिसरमा निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको सो धर्मशाला निरीक्षणपछि उनले आफूले कसैसँग प्रतिशोधको आधारमा कारवाही नगर्ने तर अनियमितता भए नछाड्ने प्रस्ट पारे ।

भारत सरकारले लिपुलेक–कालापानीमा सडक निर्माण गरेको विषयमा बल्ल नेपाल सरकारले प्रतिक्रिया जनाएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गर्दै आएको सडक निर्माण रोक्न आग्रह गरिएको बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विभिन्न दलले यसअघि नै विज्ञप्ति जारी गरेर भारतीय पक्षले सडक निर्माण गरेकोमा आपत्ति जनाएका थिए ।

सरकारले कोरोनाभाइरस विरुद्ध खोपको बुस्टर डोज दिन सुरु गरेको छ । आइतबारदेखि फ्रन्टलाइनरलाई बुस्टर डोज खोप दिन थालिएको हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई बुस्टर डोज दिन थालिएको हो ।

नेपालले सार्क सदस्य मुलुक अफगानिस्तानलाई मानवीय सहायता उपलब्ध गराएको छ । आइतबार लत्ताकपडा, औषधि, भाँडासहितका मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली अफगानिस्तान पुगेको हो ।

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो ।

संयुक्त राष्ट्र संघले सन् २०२६ बाट नेपालसहित बंगलादेश र लाओसलाई एकैपटक विकासशील राष्ट्रमा स्तरोन्नति गर्दैछ । त्यसका लागि संयुक्त राष्ट्र संघले आवश्यक तयारी गर्न पाँच वर्ष समयसीमा दिएको छ । यद्यपि नेपालका सामु विकासशील मुलुक बन्नका लागि अझै चुनौती सकिएको छैन । नेपालले प्रतिव्यक्ति आयमा निर्धारित मापदण्ड पूरा गर्न बाँकी छ । 

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला सोमबारदेखि सुरु हुँदैछ । सामान्य अवस्थामा एक महिनाको अवधीमा लाखौं दर्शनार्थी मेला भर्न पुग्ने गरेपनि यो वर्ष कोरोना संक्रमण बढ्दै गएकाले मेला व्यवस्थापन समितिले कोभिड विरुद्धको पूर्णमात्राको खोप लगाएकाहरुलाई मात्र व्रतमा सहभागी गराउँदैछ । 

१०. न्यायाधीश सहित २४ जनामा कोरोना पुष्टि भएपछि सर्वोच्च अदालतको कामकाज प्रभावित
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप