शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले लिए पुनः श्रम स्वीकृति

आइतबार, ०२ माघ २०७८, २१ : ३९
आइतबार, ०२ माघ २०७८

वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिएपछि पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र  थालिएको हो । वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको छ । 

आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल सहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले आफुले मन्त्रालयमा सुधारको अभियान सञ्चालन गरेको बताउँदै अनलाइन प्रणालीको सफलता महत्वपूर्ण उपलब्धी भएको बताए । उनले अनलाइन प्रणालीबाट सफलतापुर्वक सेवा प्रवाह सुरु गरेकोमा कर्मचारीहरुलाई धन्यवाद समेत दिए । 

सचिव अर्यालले सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको बताउँदै सेवाप्रवाहलाई सरलिकृत गर्नुपर्ने बताए । कार्यालय प्रमुख रमेश अर्यालले सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न कार्यालय परिसर भित्र हेल्प डेस्क स्थापना गरिएको र कार्यालयको काममा ठगिएमा, गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष सेवाग्राहीले गुनासो राख्ने वातावरण मिलाइएको जानकारी दिए । 

यसअघि श्रम स्वीकृति नविकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ  । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । औसतमा कार्यालयबाट प्रति दिन  १५ सय ६५ जनाको अन्तिम श्रम स्वीकृति  जारी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप