बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

आइतबार, ०२ माघ २०७८, २१ : ४३
आइतबार, ०२ माघ २०७८

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

अस्पतालमा सञ्चालनमा रहेको पिसीआर प्रयोगशालामा छ कर्मचारी रहेका थिए । तीमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीनमध्ये दुई जनामा कोरोना देखिएपछि आइतबारदेखि पिसीआर परीक्षण रोकिएको सूचना अधिकारी सुवेदीले बताए । “६ कर्मचारीमा तीन जनाको करार सकियो, दुई सङ्क्रमित भए, एक जनाले मात्रै प्रयोगशाला सञ्चालन गर्न सकिने अवस्था हुँदैन, त्यसैले बन्द भयो”, सूचना अधिकारी सुवेदीले भने ।

पिसीआर प्रयोगशालाका कर्मचारीमा कोभिडका कारण जाँच रोकिएपछि प्रदेशमा थप जनशक्ति माग गरिएको उनले बताए । उनका अनुसार प्रदेशबाट केही दिनभित्रमा जनशक्ति व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको छ । जनशक्ति थप नहुँदासम्म पिसीआर परीक्षण भने बन्द रहने उनले बताए । 

पिसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित हुनेछ । अस्पतालमा कोभिड परीक्षण गर्नेको चाप बढिरहँदा पिसीआर रोकिँदा समस्या हुने देखिएको छ । यसैगरी अस्पतालले अत्यावश्यक नपरी अस्पताल नआउनसमेत सबैमा अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिम बढदै गएकाले अस्पतालमा भीडभाड हुँदा थप जोखिम हुनसक्ने भन्दै अतिआवश्यक नपरेसम्म अस्पतालमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

अस्पतालका कर्मचारीमा समेत कोभिड सङ्क्रमण भई जनशक्ति कम भएको र भीडभाड हुँदा कोभिडको जोखिम थप बढ्ने भएकाले यस्तो अनुरोध गरिएको सूचना अधिकारी सुवेदीले बताए । “अस्पतालबाट सेवा दिइरहेका छौँ, तर पनि अतिआवश्यकबाहेक केही दिनपछि अस्पताल आए हुने बिरामी यो समयमा नआए भीड कम हुने र जोखिमसमेत कम हुने भएकाले यस्तो अनुरोध गरेका हौं”, सूचना अधिकारी सुवेदीले भने, “कर्मचारीमा कोभिड देखिएर जनशक्ति कम हुँदा सेवा दिनसमेत गाह्रो हुने भएकाले यस्तो गर्नुपरेको हो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप