शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोभिड–१९ का कारण माधवनारायण मेलामा असर

सोमबार, ०३ माघ २०७८, ११ : ३५
सोमबार, ०३ माघ २०७८

माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।

नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिए ।

साँखुको शाली नदीमा भन्दा पहिल्यैदेखि यो मेला र  व्रत सुरु भएको शिलालेखमा पाइएको उनको भनाइ थियो। माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, अरुलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उनको भनाइ थियो ।
    
यसवर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा गरिने  व्रत ओझेलमा परेको  छ । कोरोना भाइरस सङ्क्रमण हुन नदिन यसवर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिएको माधवनारायण धलौं (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप