शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरानो ग्राफ उकालो लाग्दै, लुम्बिनी प्रदेशका सीमा नाकामा अझै चेकजाँच फितलो

अस्पतालमा बेड र उपकरण तयारी अवस्थामा
सोमबार, ०३ माघ २०७८, ११ : ३६
सोमबार, ०३ माघ २०७८

 लुम्बिनी प्रदेशमा कोेरानाको ग्राफ पुनः बढ्दै गर्दा भारतीय सीमा नाकामा भने चेकजाँच फितलो नै रहेको पाइएको छ । केही दिन अघि प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि अस्पतालहरू सञ्चालन र सीमा नाकामा चेकजाँच कडाई गर्ने निर्णय गरेको थियो । तर पनि सीमा नाकामा भने अझै प्रभावकारी ढंगले चेकजाँच नभएको पाइएको हो ।

पछिल्लो साता रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्ता अवधिमा एन्टिजेन परीक्षण २३४० गर्दा ४१८ जनामा संक्रमण पुष्टि भएको  छ । बेलहिया नाका ल्याब टेक्निसियन लोकनाथ कँडेलका अनुसार नाकामा स्वास्थ्य चेकजाँच गर्ने ८ स्वास्थ्यकर्मी अहिलेसम्म संक्रमित भइसकेका छन् । जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सतर्कता अपनाउँदै काम गर्दा पनि स्वास्थ्यकर्मीहरुलाई संक्रमण देखिएको बताए ।

भारतमा पछिल्ला दिनमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको हो । नाकामा दैनिक ५ सयभन्दा धेरैजनाको एन्टिजेन परीक्षण हुने गरेको छ । यद्यपि नाकाबाट प्रवेश गर्ने सबैको भने परीक्षण हुने गरेको छैन ।

चेकजाँच फितलो

सुनौली नाका हुँदै नेपाल प्रवेश गर्ने सबै नागरिकको एन्टिजेन परीक्षण गरिँदैन । केही दिन भारतमा बसेर आएका नागरिकहरुलाई वा भारतमा रोजगारी गरेर फर्किएकाहरुलाई मात्र एन्टिजेन परीक्षण गरिन्छ ।

तर, यो नाका हुँदै भारतीय बजारमा दैनिक सरसामान लिन जाने नेपालीहरुलाई भने परीक्षण बिना नै आउन दिइन्छ । भारतबाट आउने नागरिकहरुलाई सामान्य सोधपुछपछि उनीहरु भारतमा कति दिन बसे भन्ने जानकारी लिएर नाकामा स्वास्थ्य चेकजाँच गर्ने कि नगर्ने भन्ने निर्धारण गरिन्छ ।

धेरैजसोले आफू सुनौली बजारमा किनमेलका लागि गएको बताउने गरेको र उनीहरुलाई स्वास्थ्य परीक्षणबिना नै नेपाल प्रवेश गर्न दिइने गरेकाले संक्रमणको जोखिम कायमै रहने विज्ञहरु बताउँछन् ।

भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर सुनौली, नौतनवा लगायतका स्थानमा किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण नगरिएको नाकामा रहेका एक सुरक्षाकर्मीले बताए ।

ती प्रहरीले रातोपाटीसँग भने, ‘समान्यतया मानिसहरु साँझ बिहान जान्छन्, आउँछन् । कतिलाई चेकजाँच गर्ने ? त्यसैले दैनिक ओहोरदोहोर गर्नेलाई छाडिएको हो, केही दिन भारतमै बसेर आउनेलाई भने चेकजाँच गरिन्छ ।’

एन्टिजेन परीक्षणमा सिद्धार्थनगर नगरपालिका, रेडक्रस लगायतका संस्थाले पनि जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरेका छन् । बिहान ६ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिइएको छ । एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान साँघुरो हुँदा परीक्षणमा समस्या देखिन्छ ।  अध्यागमन कार्यालयभित्र अहिले हेल्थ डेस्क स्थापना गरिएको छ ।

यसअघि पनि नेपालमा भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी व्यवसायीले सीमा नाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले रातोपाटीलाई बताए ।  उनले कोरोना चेकजाँच सहज रुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनु पर्नेमा जोड दिए । व्यवसायीहरुलाई अप्ठ्यारो पार्ने गरी काम गर्न नहुने उल्लेख गर्दै उनले सरकार कारोना नियन्त्रण गर्नका लागि गम्भीर बन्नुपर्ने बताए ।

अस्पताल तयारी अवस्थामा

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारूका अनुसार कोरोनाको दर विस्तारै बढ्दै जाने संकेत देखिएकाले अस्पतालमा बेड तथा जनशक्ति र उपकरणहरु तयारी अवस्था राख्ने  काम भइरहेको छ । उनले अस्पतालहरू पुरानै पूर्वाधारबाट काम गर्ने अवस्थामा रहेको बताए ।

विगतमा धेरै अस्पतालमा आईसीयू र भेन्टिलेटर तयार पारेको जानकारी दिँदै उनले अहिलेसम्म अस्पताल आएका केसहरु निकै कम भए पनि आवश्यक तयारी भने गरिएको प्रस्ट पारे । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले अस्पतालमा भर्ना हुने संख्या न्यून रहे पनि संक्रमणको ग्राफ वृद्धि हुँदै गएकाले अस्पतालमा कोरोनाको लागि भन्दै हाल सामान्य बेड, आईसीयू, एचडीयू र भेन्टिलेटर तयारी अवस्थामा राख्ने काम भइरहेको बताए । उनले विगतमा सञ्चालनमा आएका बेडहरु र उपकरण तथा जनशक्तिका लागि तयारी अवस्थामा राख्ने काम भएको बताए ।

प्रदेशका अस्पतालमा कुल १ हजार ७९ वटा बेड छन् । स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार प्रदेशका २३ वटा अस्पतालमा  आईसीयू, एचडीयू बेडहरु विस्तारै बन्दै गएका छन् । हाल प्रदेशमा २ सय ३९ वटा आईसीयू बेड छन् ।

यस्तै एचडीयू बेड ५१२ वटा छन् भने भेन्टिलेटर ७९ वटा छन् । डा. गिरीले भने, ‘अहिले हामीलाई विगतमा जस्तो अप्ठ्यारो अवस्था आउँदैन । अधिकांश अस्पतालमा आईसीयू र एचडीयू तयारी अवस्थामा छन् ।’

लुम्बिनी प्रदेशमा कुन अस्पतालको क्षमता कति ?

कर्मचारीहरु त्रासमा

सुनौली नाकामा तैनाथ ८ जना स्वास्थ्यकर्मीलाई आइतबारसम्म कोरानो संक्रमण भएको छ । त्यहाँ अहिले कर्मचारीहरु विभिन्न संघ संस्थाबाट भोलिन्टियर रुपमा पनि आएका छन् । तर त्यहाँ तैनाथ भएका कर्मचारीहरु साँझ घर जानुपर्ने हुँदा आफ्नो कारण परिवारमा संक्रमण फैलिने हो कि भन्ने त्रासमा छन् । विगतमा कोरोना संक्रमित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई छुट्टै बस्ने व्यवस्था मिलाएको थियो तर अहिले त्यो गरिएको छैन । अर्कोतिर कर्मचारीहरु कोराना संक्रमित भएमा कहाँ बस्ने भन्नेसमेत कुनै व्यवस्था नभएको सुनौली नाकामा काम गर्ने स्वास्थ्यकर्मीको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप