शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रंगशाला निर्माणमा धुर्मुस–सुन्तलीबाट अनियमितता भएकै हो ?

यस्तो छ वास्तविकता
सोमबार, ०३ माघ २०७८, १२ : २५
सोमबार, ०३ माघ २०७८

अभिनय यात्राकै क्रममा सामाजिक कार्यमा संलग्न जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो समय विवादमा तानिएका छन् । उनीहरुले नै स्थापना गरेको सामाजिक संस्था ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको रंगशालाको हालसम्मको खर्च र भौतिक प्रगति विवरणका आधारमा अनियमितताको आशंका गरिएको छ ।

केही अघि भरतपुर महानगरले रंगशालाको आर्थिक र भौतिक प्रतिवेदन तयार पार्दै युवा तथा खेलकुद मन्त्रालयमा सो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा रंगशाला निर्माणमा अनियमितताको आशंका गरिएको हो ।

यसैबीच रंगशाला निर्माणमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । यद्यपि, भरतपुर महानगरपालिका, धुर्मुस सुन्तली फाउन्डेशनकातर्फबाट स्वयं सीताराम कट्टेलले रंगशाला निर्माणको सम्बन्धमा अन्तिम रिपोर्ट तयार नभएको बताउँदै आएका छन् ।   

सीताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माणको वास्तविकता एकातिर रहेको तर बहकाई अर्काेतिर भइरहेको बताए । ‘रंगशाला निर्माणबारेमा पुस मसान्तसम्मको पूर्ण लेखा परीक्षण भइरहेको छ । यो आएपछि मात्र वास्तविक खर्चको विवरण बाहिर आउँछ,’ रातोपाटीसँग उनले भने, ‘त्यो नआएसम्म मैले हचुवाको भरमा केही बोल्न मिल्दैन । त्यसको रिपोर्ट आज वा भोलि आउँछ, अनि सबै कुरो बोलौंला ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका विषयमा आफूले अहिले केही नबोल्ने उनको भनाइ छ । ‘किनभने बोल्न थालेपछि धेरै कुरा बोल्नुपर्ने हुन्छ । त्यसैले केही दिनमा एकैचोटी बोलौंला भन्ने लागेको छ,’ उनले भने, ‘अहिले सञ्चो पनि छैन, घरमै रेस्ट गरिरहेको छु । पहिले स्टेटमेन्ट जारी गर्दछु । पूर्ण प्रतिवेदन आएपछि सबै विषयमा एकएक गरेर बोल्छु ।’

उनले भरतपुर महानगरपालिकाले तयार पारेको प्रतिवेदनको वास्तविकता पनि आफूले बुझ्न बाँकी नै रहेको बताए । महानगरपालिकाको प्रतिवेदनबारे पनि आफूले तत्काल टिप्पणी नगर्ने उनले प्रस्ट पारे । ‘त्यो प्रतिवेदन प्रारम्भिकमात्र हो । पूर्ण प्रतिवेदन नआएसम्म केही भन्न सकिन्न,’ उनले भने, ‘पूर्ण प्रतिवेदन केही दिनमा आएपछि चित्त नबुझको र छुटेका कुरा गरौंला ।’

कट्टेलका अनुसार रंगशाला निर्माणको सुरुदेखिको अहिलेसम्म अर्थात पुस मसान्तसम्मको विवरण केही दिनमा आधिकारिक रुपमा अडिट भएर आउँछ । ‘रंगशाला पूर्ण रुपमा हस्तान्तरण पनि अहिलेसम्म भइसकेको छैन । हाम्रो कर्मचारी, कामदार अहिले पनि दैनिक रुपमा रंगशालामा खटिएका छन्,’ उनले भने, ‘निर्माण कार्य लगायत अन्य कार्य भइरहेको छ । हामीले न्यूनतम दररेटमा काम गरेका छौं । त्यसलाई सरकारी दर रेटमा कन्भर्ट गर्दा कतिमा बन्यो भनेर बल्ल वास्तविकता आउँछ ।’

आफूहरुले बेलाबखत खर्चको विवरण सार्वजनिक गर्दै आएको प्रस्ट पार्दै उनले युट्युवमार्फत पनि भौतिक प्रगति र खर्च आफैले भिजुअलसहित राख्दै आएको सुनाए । ‘काम भइरहेको ठाउँमा १५ दिन अगाडिको खर्च १५ दिन पछाडि आएर हेर्दा मिल्दैन । त्यो भिन्न हुन्छ,’ उनले भने, ‘लेखा परीक्षण गरेपछि मात्र वास्तविकता बाहिर आउँछ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी पनि महानगरले तयार पारेको प्रतिवेदन आफैमा अहिले पूर्ण नरहेको बताउँछन् । ‘अझै केही कुरा छुटेका छन्,’ रातोपाटीसँग उनले भने, ‘धुर्मुसले पनि केही कुरा छुटेको भन्नु भएको छ । हाम्रो कानुन र सिस्टमले भ्यालुएशन गर्न नमिल्ने तर उहाँहरुले काम गरेका केही विषय पनि छन् । जमिनको व्यवस्थापन गर्ने कुरामा अन्य खर्चहरू पनि हुने रहेछ । उहाँहरुको कुरा अनुसार त्यतातिरको हिसाब अझै आएन भन्ने कुरा पनि छ ।’

प्राविधिक रुपमा खर्च भएको अनुपातमा भौतिक प्रगतिको विश्लेषण आफूहरुले गर्न नमिल्ने उल्लेख गर्दै उनले अझै विस्तृत विवरण आउन बाँकी रहेको सुनाए । ‘हामीले प्रारम्भिक मूल्याङ्कन गरेर युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेका हौं,’ उनले भने, ‘त्यसको रिपोर्ट पनि आयो । अब सम्बन्धित विज्ञहरुले हेरेर थप विषय बाहिर आउला ।’

आफूहरुले धुर्मुस सुन्तली फाउण्डेशनसँग समन्वय गरिरहेको जानकारी दिँदै उनले थप डकुमेन्ट पनि प्राप्त भइरहेको बताए । वित्तीय अडिटको विवरण आएपछि मन्त्रालय पठाउने र आफूहरुले समेत त्यसको विवरण सार्वजनिक गर्ने उनको भनाइ छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कुमार घिमिरे पनि आफूहरुले रंगशाला निर्माणको प्रारम्भिक मूल्याङ्कनमात्र गरेको बताउँछन् । प्रारम्भिक मूल्याङ्कनका लागि पनि पर्याप्त कागज पत्र उपलब्ध नभएको उनले सुनाए । ‘आधिकारिक कागजात, दररेट, खरिद बिलहरु नआएका कारणले प्रारम्भिक रुपमा मूल्याङ्कन गरेर दिएका हौं । हामी एकदुई पटक छलफल गरेर केही दिनभित्रै त्यसलाई अन्तिम रुप दिएर बुझाउँछौं,’ उनले रातोपाटीसँग भने ।

निर्माणसँग सम्बन्धित कागजपत्र संकलनको काम भइरहेकाले अहिले नै यसै हो भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताए । ‘हामीले प्रारम्भिक मूल्याङ्कनमा उठाएको विषय भनेको के हो भने, त्यसको लागत अनुमान के आधारमा निर्धारण गरियो ? ३ अर्व ५५ करोड लागत लाग्छ त भनियो तर आधार त हुनु प¥यो नि,’ उनले भने, ‘त्यसको केही कागज त हुनुपर्छ । त्यो कागज ल्याउनु भनेर हामीले मागेका छौं । त्यो पत्र आजसम्म हामीले पाएका छैनौं । उहाँहरुले त्यसको डिटेलहरु मेल गरिदिन्छु भन्नु भएको छ । ती सबै कागजपत्र आएपछि हामी थप मूल्याङ्कनका लागि जान्छौं ।’

अहिलेसम्म खर्च भएको भनिएको ५४ करोडका सवालमा धुर्मुुस सुन्तली फाउन्डेशनले दिएको दररेटलाई आधार मानेर मूल्याङ्कन गरेर नै सार्वजनिक गरिएको उनको भनाइ छ । ‘हामीले त्यसमा प्रश्न गरेको वा भनौं उहाँहरुबाट खोजेको के हो भने त्यो दर रेट के आधारले निर्धारण गरियो ? त्यसमा पनि हामी प्रष्ट भएनौं । त्यसको कागज पनि उपलब्ध भएन । तपाईहरुसँग छैन भने हामी हाम्रो हिसावले गर्छौं । केही सम्झौता भएको दररेट भए दिनुस् भनेका छौं ।’

ती सबै कागजहरु आएपछि थप मूल्याङ्कन गरेर केही दिनभित्रै यसलाई अन्तिम रुप दिने उनले बताए । उनले भने, ‘त्यसपछि मात्र के भएको हो भनेर आधिकारिक रुपमा भन्न सकिन्छ । अहिले यसै हो भन्न सक्ने अवस्था छैन ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप