शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धमाधम कोरोना सङ्क्रमित हुँदै स्वास्थ्यकर्मी, जनशक्तिको अभाव

सोमबार, ०३ माघ २०७८, १३ : ०१
सोमबार, ०३ माघ २०७८

त्रिवि शिक्षण अस्पताल (टिचिङ) को गणेश भवनको प्राङ्गणमा आइतबार दिउँसो डेढ बजे पुग्दा पीसीआर परीक्षण गर्नेहरूको लामो लाइन थियो । दुई लाइनमध्ये एउटा स्वास्थ्यकर्मीहरूको र अर्को लाइन सर्वसाधारणको थियो । टिचिङ अस्पतालमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब २ सय भन्दा बढी सङ्क्रमित भएको अस्पताल स्रोतले जनाएको छ । आज सोमबार पनि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीको लाइन रहेकाले स्वास्थ्यकर्मीको सङ्क्रमित दर अझै बढ्न सक्ने अस्पतालका एक चिकित्सकले बताए । 

गएको सातादेखि स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित हुने दर ह्वात्तै बढेको छ । सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी सङ्क्रमित भएको पाइएको छ । आठ महिना अघि कोरोना सङ्क्रमणको दोस्रो लहरमा सङ्क्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो । अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको टिचिङका छाती रोग विशेषज्ञ तथा कोभिड व्यवस्थापन समितिका फोकलपर्सन डा. निरज बम बताउँछन् । उनका अनुसार एकैपटक धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा कोभिड, नन्कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुँदैछ । ८ शय्याको मेडिकल आईसीयूका सबै कर्मचारी सङ्क्रमित भएपछि टिचिङको सो वार्ड बन्द गरिएको छ । 

सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाएको थिए । त्यस्तै, उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि सङ्क्रमित भएका छन् । ‘दोस्रो लहरमा फ्रन्टलाइनरलाई कोरोना खोपले ठूलो सहयोग गरेको महसुस गर्‍यो,’ डा बमले भने, ‘तर अहिले आएर जनशक्तिको अभाव खड्कन थालेको छ ।’ सङ्क्रमित भएका स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मध्यम ज्वरो, शरीर दुख्ने, रुघाखोकी लगायतको लक्षण देखिएको डा. बमले बताए ।   

कोरोना पोजेटिभ आएका स्वास्थ्यकर्मीलाई होम आइसोलेशनमा १० दिनका लागि अस्पतालले पठाउने गरेको छ । अस्पतालमा शय्या भए पनि जनशक्तिको अभावमा खड्किदा कोभिड वार्डका बेडहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भएको अस्पतालले जनाएको छ । 

अस्पतालमा दैनिक करिब ५ सय जनाको कोरोना परीक्षण हुन्छ । पीसीआर गरेका मध्ये ४० प्रतिशतलाई कोरोना पोजेटिभ देखिने गरेको छ । कोरोनाको दोस्रो लहरमा टिचिङ अस्पतालमा ४०५ जनासम्म भर्ना गरिएको थियो । पुसको पहिलो सातासम्म सङ्क्रमित बिरामीको सङ्ख्या एकदम कम हुँदा पनि २८ वटा जनरल बेड र १८ वटा आइसीयू एचडियू बेड अस्पतालले  छुट्टाएको थियो । अहिले ती बेड र आइसीयू भरिएपछि सुरेश वाग्ले भवनमा रहेको नन्कोभिड वार्डका १८ वटा एचडियू बेड र २८ वटा जनरल बेडलाई कोभिड वार्ड बनाइएको अस्पतालले जनाएको छ । 

कसरी टार्ने जनशक्तिको अभाव ?

त्रिवि शिक्षण अस्पतालमा शय्या, अक्सिजन, आइसीयू, भेन्टिलेटर एचडियू अर्थात् स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा छ । तर जनशक्तिको अभाव तत्काल टर्ने सम्भावना न्यून छ । ‘कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा गएकाहरूलाई १० दिन कुर्नैपर्छ । डा बमले भने, ‘नयाँ भर्ना गर्न पनि सक्दैनौँ ।’ 

नन् कोभिड वार्डबाट नर्सहरूलाई कोभिड वार्डमा ल्याएर दुवै कोभिड वार्ड सञ्चालन गर्ने तयारी टिचिङ अस्पतालले गरेको छ । हाल उक्त अस्पतालमा बिरामी जनरल वार्ड २८ जना कोभिडका बिरामी छन् । आइसियूमा ८ जना छन् भने  एचडियूमा ५ जना सङ्क्रमितको उपचार भइरहेको छ । टिचिङमा आइसीयूमा भर्ना भएका मध्ये ५० प्रतिशतले खोप लगाएको पाइएको छ । डा.बमका अनुसार इटाभट्टा, विभिन्न कलकारखानामा काम गर्ने श्रमिकले खोप लगाएको पाइएन । 

टिचिङ अस्पतालमा मात्रै स्वास्थ्यकर्मी सङ्क्रमित नभएर राजधानीका कोभिड उपचार गर्ने मुख्य अस्पतालहरूका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी धमाधम सङ्क्रमित भइरहेका छन् । यस्तै, अवस्थामा सरकारले छिट्टै नीति बनाएर सेवा प्रवाहित गर्नुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप