ad
x

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन : आफ्नै कमजोरी उपर निर्मम समीक्षा

person explore access_timeमाघ ३, २०७८ chat_bubble_outline0

गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन भब्यतापूर्वक सम्पन्न भयो । यस लेखमा गम्भीर बहसका साथ साझा निष्कर्षमा पुगेको उक्त महाधिवेशनको संक्षिप्त सिंहावलोकन गर्ने कोसिस गरिएको छ ।


माओवादी पार्टीको महाधिवेशनलाई देशभित्र र बाहिर विशेष महत्वका साथ हेरिएको छ । एकता महाधिवेशन अथवा छैठौं महाधिवेशनले देशमा महान् जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको विशिष्ट र ऐतिहासिक जिम्मेवारी सम्पन्न गर्ने उर्जा पैदा गरेको थियो । सातौं महाधिवेशनले टुटफुट र विभाजनले कमजोर बनेको माओवादी पार्टीलाई सम्हालिएर अगाडि बढ्न प्रेरित गरेको थियो । अहिलेको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेज, भएका बहस र पैदा भएको नयाँ एकताले देशलाई समाजवादतिर अघि बढाउन कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । यो महाधिवेशनले नेपालको राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवात गरेको छ । श्रमजीवि जनतामा समाजवादको नयाँ आशा जागृत गरेको छ । साम्राज्यवाद र तिनका दलालहरुको क्याम्पमा नयाँ आतंक सिर्जना गरेको छ ।



माओवादी पार्टीले महाधिवेशनको हलमा उच्च जनवादसहित दस्तावेजमा व्यापक बहस गरेर निकालेका नयाँ निष्कर्षका साथ अघि बढ्ने कोशिस गरेको छ । जसलाई बुँदागत रुपमा चर्चा गरिन्छ ।



 १. विचारधारा



मार्क्सवाद–लेनिनवाद–माओवाद नेपाली सन्दर्भमा प्रयोग गर्दै जाँदा विकास भएको निष्कर्ष यो महाधिवेशनले निकालेको छ । मालेमा –मार्क्सवाद–लेनिनवाद–माओवाद) सार्वभौम विज्ञान हो । विज्ञान हुनुको नाताले यसले प्रयोग र विकासको माग गर्दछ । नेपालमा जुन मूल्य र मान्यताका साथ विचारलाई दह्रोसँग आत्मसात गरेर प्रयोग गरियो, त्यसले नेपाली मौलिकतामा विकासको नयाँ आयाम प्रदान गरेको छ । समाज विकासको लामो इतिहासमा मालेमाको प्रयोग विजय र पराजयको तात्कालिक परिणाम हेरेर मात्र पुग्दैन । सर्वहारा श्रमजीवी वर्गले त्यसलाई कसरी प्रयोग र विकास गर्छ भने कुरा नै मुख्य हो । अन्तर्राष्ट्रिय प्रयोगका आफ्नै निष्कर्ष छन् । नेपालको सन्दर्भमा यसको प्रयोगले नयाँ मौलिक विकास गरेको साझा निष्कर्ष महाधिवेशनले निकालेको छ ।



कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र सफलताको उन्मादमा रहेको साम्राज्यवादले सिर्जना गरेको जटिल परिस्थितिमा नेपालबाट माओवादी आन्दोलनको झन्डा उठाउनु आफैमा सामान्य कुरा थिएन । त्यसले एउटा नयाँ विचारधाराको पनि संकेत गरेको थियो । विरोधी वा मित्र शक्तिले सोचे वा कल्पना गरेजस्तो नेपालको जनयुद्ध अगाडि बढेन । यसले आफ्नै मौलिकताको नयाँ इतिहास वैचारिक मूल्य र मान्यतासहित स्थापित गरेको छ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा अर्को एउटा मौलिक सावित भएको छ । यसरी विकास भएको वैचारिक आधारलाई संश्लेषण गर्दै ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ तय गर्ने काम महाधिवेशनले गरेको छ । ‘प्रचण्डपथ’ संश्लेषण गरेको र छोडेको चर्चा गर्दै महाधिवेशनले अर्को विशेष महाधिवेशन मार्फत् विचार विकासको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ ।



२. राजनीतिक कार्यदिशा



विचार र कार्यदिशा एकअर्काका परिपूरक हुन् । कमरेड माओत्सेतुङको भनाइमा कार्यदिशा सही वा गलत हुनुले धेरै कुरा निर्धारण गर्दछ । सही विचार भएर मात्र हुँदैन । सही विचारले सही कार्यदिशाको माग गर्दछ । राजनैतिक कार्यदिशा सही भयो भने त्यसले वैज्ञानिक विचारको विकासमा योगदान दिन्छ । पार्टी र समाजलाई सही दिशामा अगाडि बढ्नको लागि कार्यदिशाको महत्वपूर्ण भूमिका हुने गर्दछ । त्यसैले कम्युनिष्ट पार्टीमा राजनैतिक कार्यदिशाको महत्वलाई विशेष ढंगले हेरिएको हुन्छ । समाजवादको लक्ष्य हासिल गर्न उपयुक्त कार्यदिशा बिना सम्भव छैन । महाधिवेशन हलमा कार्यदिशाको बारेमा व्यापक बहस र छलफलबाट नयाँ निष्कर्षतिर अघि बढ्ने कोशिस गरिएको छ ।



नेपालमात्रै होइन संसारभरका कम्युनिष्टहरू विभाजित हुने वा एकजुट हुने प्रमुख कारण पनि राजनीतिक कार्यदिशालाई मान्ने गरिन्छ । शान्तिपूर्ण परिवर्तन वा सशस्त्र संघर्ष, संसदीय व्यवस्थामा सहभागिता वा उपयोग, जनवादी क्रान्ति वा समाजवादी क्रान्ति आदि कम्युनिष्ट पार्टीका राजनैतिक कार्यदिशा हुन् । मार्क्सवादले हरेकलाई पूर्णतः निषेध गरेको छैन । तर दुईथरी अतिवादी सोच कम्युनिस्ट आन्दोलनमा देखिन्छ । शान्तिपूर्ण बाटोमा जानै हुँदैन, शान्तिपूर्ण प्रतिस्पर्धाबाट परिवर्तन सम्भव छैन भन्ने एकथरी धारणा रहेको छ । सशस्त्र संघर्ष असम्भव छ, शान्तिपूर्ण बाटो नै एकमात्र विकल्प हो भन्ने अर्को थरी सोच देखिन्छ । सबैखाले गलत सोचका विरुद्ध संघर्ष गर्दै अघि बढ्ने स्पष्ट राजनीतिक कार्यदिशा महाधिवेशनले तय गरेको छ ।

नेपालमा आफ्नै मौलिकताको नयाँ विशेषतासहितको राजनीतिक अभ्यास अघि बढिरहेको छ । परम्परागत आँखाबाट यो व्यवस्थालाई हेर्दा माओवादी पार्टी सुधारवादी जस्तो पनि देखिन्छ । अथवा संसदीय व्यवस्थाको यो बाटोबाट समाजवाद स्थापना असम्भव छ । हामीले लडेर ल्याएको यो व्यवस्था मूलतः रुपान्तरणकारी र परिवर्तन उन्मुख छ । त्यसैमा टेकेर समाजवादको बाटोमा अघि बढ्नुपर्छ भन्ने नयाँ अभ्यासमा जाने निष्कर्ष महाधिवेशनले दिएको छ । बहुदलीय प्रतिस्पर्धा, समावेशी सिद्धान्त र समाजवादी अर्थराजनीतिक कार्यक्रमका साथ अघि बढ्ने कार्यदिशा नै आठौं महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा हो ।

३. संगठनात्मक क्षेत्र

विचार र राजनीतिलाई लागू गर्ने भनेको संगठनले हो । बलियो संगठन बिना सही राजनीति र विचार जनताको बीचमा जान्न सक्दैन । पार्टी संगठनमा हालसम्म प्रयोग गर्दै आएको भन्दा नयाँ संगठनात्मक मान्यताको विकास आठौं महाधिवेशनले गरेको छ । कम्युनिस्ट पार्टी सञ्चालनमा हालसम्म विकास भएको सिद्धान्त भनेको लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको सिद्धान्त थियो । व्यक्ति संगठन, अल्पमत बहुमत, सबै कमिटी र केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा भन्ने कुरा जनवादी केन्द्रीयताको सिद्धान्त हो । यसमा समावेशी सिद्धान्त समेत थप गरेर व्यवहारिक रुपमै आठौँ राष्ट्रिय महाधिवेशनले संगठनात्मक क्षेत्रमा मौलिक विकास गरेको छ । विशेष गरी महिला, दलित र युवाहरूको नेतृत्व विकासलाई विशेष महत्वका साथ स्थापित गर्ने कार्य महाधिवेशनले गरेको छ ।

४. कम्युनिष्ट आन्दोलनको समिक्षा 

आठौं राष्ट्रिय महाधिवेशनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक ढंगले समीक्षा गरेको छ । सबल पक्षलाई ठिक ढंगले उठान गरेको छ भने कमजोरीप्रति निर्मम समीक्षा गरेको छ । इतिहासमा आफैप्रति यति धेरै निर्मम समीक्षा गरेको दस्तावेज नेपालको कम्युनिष्ट आन्दोलनमा सायदै भेटिन्छ । पेरिस कम्युनदेखि पेरु कम्युनिष्ट पार्टी साईनिङ्गपाथ सम्मको सीमा समस्या र उपलब्धिलाई केलाउने प्रयास गरिएको छ । नेपालको किसान आन्दोलन, झापा विद्रोह, जनआन्दोलन र जनयुद्धको सम्पूर्ण समीक्षा गर्ने काम गरेको छ । जसले गर्दा कम्युनिष्ट आन्दोलनको इतिहासप्रति सम्मान र भविष्य वस्तुनिष्ठ खाका कोर्नको लागि महत्वपूर्ण योगदान हुनेछ ।

५. विश्व परिस्थितिको चर्चा 

मार्क्सवाद ठोस परिस्थितिको ठोस विष्लेषण पनि हो । आजको विश्व परिस्थिति विकसित घटनाक्रम र उपलब्धिलाई ठीक ढंगले नहेरी समाजवादी क्रान्ति अगाडि बढ्न सक्दैन । एकाधिकारवादी वित्तीय पुँजीवादको साम्राज्यवादी भूमण्डलीकरण, दलाल तथा नोकरशाही पुँजीवादको नयाँ चरित्र, शोषण र दमनका साम्राज्यवादी नयाँ हतियारको विकास आदिबारे सुक्ष्म ढंगले विश्लेषण महाधिवेशनले गरेको छ । विज्ञान र प्रविधिको विकास, सूचना प्रविधिमा क्रान्ति आदिको विकास र विस्तारलाई नजिकबाट हेर्ने काम भएको छ । साम्राज्यवादको आन्तरिक संकट, सर्वहारा क्रान्तिको सम्भावना र नेतृत्वका पहलकदमीबारे पनि महाधिवेशनले राम्रोसँग प्रकाश पारेको छ ।

६. पुरक प्रस्ताव र फरक मतको सम्मान 

कम्युनिष्टहरुलाई लोकतन्त्र र जनवाद सिकाउने दुनियाका सबै पार्टीहरुले माओवादी पार्टीको आठौं महाधिवेशनबाट के कुरा राम्रोसँग सिक्न सक्छन् भने त्यहाँ फरक मतको पनि उत्तिकै सम्मान गरिन्छ र पूरक प्रस्तावलाई पनि अभिन्न अंगको रुपमा समेटेर लग्ने क्षमता राखिन्छ । राम कार्कीले प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई हलले सर्वसम्मत रुपमा ग्रहण गरेको छ । त्यसैगरी लेखनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको फरक मतलाई समेत दस्तावेजको अभिन्न अङ्गका रूपमा स्वीकार गरेको छ । त्यसैले माओवादी केन्द्रको आठौं महाधिवेशन विचार र दृष्टिकोणका आधारमा सबैभन्दा उत्कृष्ट रहेको छ ।

साम्राज्यवादमाथि धावा बोलेका कारण आठौं महाधिवेशनका निष्कर्ष र माओवादी पार्टीप्रति यो वा त्यो रुपमा साम्राज्यवादी हमला भइरहेको छ । यथास्थितिवादी र प्रतिगामीहरुका विरुद्ध सम्झौताहीन संघर्षको उद्घोष गरेका कारण उनीहरुले माओवादी पार्टी र आठौं महाधिवेशनविरुद्ध गम्भीर आक्रमण गरिरहेका छन् । कम्युनिष्ट पार्टीको नाम र झण्डा राखेर सोझा र इमानदार कम्युनिष्टहरुलाई दिग्भ्रमित गरिरहेका अवसरवादीहरुको सातो उडेको छ । त्यसैले माओवादी केन्द्रलाई गलत देखाउन हरसम्भव कोसिस गरिरहेका छन् । यी सबै भ्रमबाट मुक्त हुँदै माओवादी केन्द्रको झण्डामुनि गोलबन्द हुने लहर पनि सँगसँगै चलिरहेको छ । आगामी दिन आठौं महाधिवेशनको सार्थकता थप पुष्टि हुँदै जाने निश्चित छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X