शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबारको हव बन्दै वीरेन्द्रनगर, दुई दिनमै १४ जना पक्राउ

१८–२५ वर्ष उमेर समूहका युवायुवती लागुऔषधको कुलतमा
सोमबार, ०३ माघ २०७८, १४ : ४०
सोमबार, ०३ माघ २०७८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागुऔषध कारोबारको केन्द्र बन्दै गएको छ । सुर्खेत प्रहरीले विगत २० दिनमा १८ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत २ दिनमा मात्र १४ जना लागुऔषध कारोबारीहरुलाई पक्राउ गरिएको छ । शुक्रबार वीरेन्द्रनगरको बसपार्क क्षेत्रमा रहेको होटेल ‘बुलबुले भ्यु टु’बाट १० जनालाई पक्राउ गरेको प्रहरीले आइतबार थप चार जनालाई वीरेन्द्रनगर–६ स्थित ‘कुईन्स रेष्टुरेन्ट’को क्याबिनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ३० वर्षीय भुगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं. १० बस्ने वर्ष १८ का युनिस नेपाली र वडा नं. ३ बस्ने वर्ष १९ की पूजा कार्की छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–३ बस्ने वर्ष ३० का सुमन खत्री, २२ वर्षका कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर–४ बस्ने वर्ष २३ का रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा छन् । त्यस्तै दैलेखको नारायण नगरपालिका–८ का २३ वर्षीय दीपक थापा, सोही नगरपालिका ११ का २९ वर्षीय सागर चन्द, वडा नम्बर ८ बस्ने वर्ष २३ का क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–१ बस्ने वर्ष २४ का डम्बर खड्का छन् । कालिकोट महाबै गाउँपालिका–३ बस्ने वर्ष २२ का जीवन सिंह पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीले १४ जनाको साथबाट शुक्रबार ६३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ, चरेस ४ ग्राम र गाँजाको धुलो ३२ ग्राम बरामद गरेको थियो भने आइतबार सय मिलिग्राम र  नाप तौल गर्दा शुद्ध ४० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ ।

विगत २० दिनको अवधिमा पक्राउ परेका १८ जनामध्ये ३ जना किशोरी छन् । गत पुस १४ गते वीरेन्द्रनगर नगरपालिकाको पदमपुरबाट लागुऔषध कारोबार गरिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका–५ बस्ने वर्ष १८ की ज्ञानु पौडेललाई प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो । उनको साथबाट १ ग्राम ७७० मिलिग्राम तथा शुद्ध १ ग्राम ५४० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ ।

सोही दिनमा वीरेन्द्रनगर भित्रिने मुख्य नाका सुब्बाकुनाबाट नेपालगञ्ज उप–महानगरपालिका–१६ की २५ वर्षीय पूजा खनाललाई पनि लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनको साथबाट नाईट्राभेट ७८ ट्याब्लेट, कोरेक्स ३.५ सीसी, ट्रामाडोल ३७ ट्याब्लेट, अलफा जोलन ४० ट्याब्लेट बरामद गरिएको प्रहरीको भनाइ छ ।

विशेषगरी युवा पुस्ता अर्थात् १८ वर्षदेखि २० वर्ष उमेर समूहका युवायुवती लागुऔषध कारोबारमा संलग्न हुने गरेको प्रहरीको निष्कर्ष छ । सरकारी तथा विभिन्न गैरसकारी संघ–संस्थाले लागुऔषध नियन्त्रणबारे बेलाबखत कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउनुको साटो दिनदिनै कारोबारीहरु बढ्दै गएको देखिन्छ ।

परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा युवा पुस्ता लागुऔषधको लतमा फस्दै गएको प्रहरीको भनाइ छ । प्रदेश राजधानीका सामान्यतया सबै क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको देखिए पनि विशेषगरी बसपार्क क्षेत्र, एरिचोक, भैरवस्थान, तातापानी लगायतका क्षेत्रमा बढी हुने गरेको छ ।

विगत पाँच वर्षमा कर्णालीमा लागुऔषध सम्बन्धी २६९ वटा मुद्दा दर्ता भएको देखिन्छ ।

कहाँबाट भित्रिन्छ लागुऔषध ?

वीरेन्द्रनगरमा लागुऔषध कहाँबाट भित्रिन्छ भन्ने विषयमा प्रहरीनै अनभिज्ञ छ । विशेषगरी भारतसँग सीमा जोडिएको नेपालगञ्ज हुँदै वीरेन्द्रनगर भित्रिने अनुमान गरिए पनि सानो–सानो परिमाणमा विक्री वितरण हुने भएकाले लागुऔषध फेला पार्न मुस्किल हुने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती बबई, छिन्चु लगायतका नाकामा निकै कडाइ गरिए पनि सानो परिमाणमा लागुऔषधको कारोबार भइरहेको बताउँछन् ।

‘सानो परिमाण भएकाले लुकाई–छिपाइ गरेर भित्र्याइएको देखिन्छ,’ उनले भने, ‘हामीसँग लागुऔषध सम्बन्धी कुनै स्क्यान÷प्रविधियन्त्र छैन । त्यो भएकाले पनि नियन्त्रण गर्न गाह्रो भएको हो ।’

आफूहरुलाई लागुऔषधको कारोबार भइरहेको बारेमा पनि निकै कममात्रामा सूचना आउने गरेको उनले सुनाए । सूचना आएअनुसार नै प्रहरीले निगरानी बढाउने र छापा मार्ने गरेको उनको भनाइ छ ।

मन्दिरको छेउछाउ, पार्कहरुमा लागुऔषध सेवन गरेर अस्वाभाविक हर्कतहरु गरेको खण्डमा सूचना दिन पनि घर्तीले सबैलाई आग्रह गरे ।

रोकथाम र नियन्त्रण

लागुऔषधको रोकथाम र नियन्त्रणबारे गरिएका गतिविधि प्रभावकारी हुन सकिरहेका छैनन् । प्रहरीले सामुदायिक प्रहरी साझेदारीमार्फत स्थानीय जनप्रतिनिधि, टोल सुधार समितिहरु, अन्य भद्रभलाद्मीसँग समन्वय गरी बेला–बेला कार्यक्रम पनि गर्दै आएको देखिन्छ तर यस्ता खालका कार्यक्रम प्रभावकारी हुन सकिरहेका छैनन् ।

घर्ती भन्छन्, ‘पहिलो  कुरा त चेतनाको विकास हुन जरुरी छ । विद्यालयहरुमा पनि लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने भनेका थियौं तर हुन सकिरहेको छैन ।’

कस्तो कारबाही हुन्छ ?

घर्तीका अनुसार लागुऔषध ऐन २०३३ अनुसार नै यसबारे अध्ययन, अनुसन्धान र कारबाही गर्ने गरिएको छ । ‘हामीले पक्राउ परेकाहरुलाई लागुऔषधको परिमाण हेरेर कारबाही गर्ने गरेका छौं भने कोहीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । कसैलाई जेल चलान पनि गरेका घटना छन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप