शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा मन्त्रिपरिषदले पूर्णता पाउने छाँट देखिएन

मुख्यमन्त्री शाही भन्छन्– गठबन्धनमा अलिकति कुरा मिलिरहेको छैन
सोमबार, ०३ माघ २०७८, १७ : २८
सोमबार, ०३ माघ २०७८

कर्णाली प्रदेशको मन्त्रिपरिषदले लामो समयदेखि पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन गठबन्धनमा अलिकति कुरा नमिलेको बताउँछन् । उनले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनमा अलिकति समस्या भएको बताए । पत्रकारहरुसँग उनले भने, ‘मन्त्री नभएर कुनै पनि मन्त्रालयको काम रोकिएकोचाहिँ छैन, त्यही भएर मैले सचिवज्यूहरुलाई समेत यहीँ बोलाएको छु । नपत्याए सोध्नुहोस् !’

मुख्यमन्त्री शाहीले सरकारलाई पूर्ण बनाउन नसक्नुको कारण नै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र भएकोजस्तो तर्क दिएका थिए । उनले प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टको भनाइबारे पनि प्रतिक्रिया जनाए ।

उनले भने, ‘उहाँ (ठम्मर विष्ट) ज्यूले जुन कुरा बोल्नुभयो । त्योचाहिँ अनभिज्ञता हो । कुन आधारमा भन्नुभयो, त्यो मलाई पनि थाहा भएन । दलीय व्यवस्थामा र गठबन्धनको सरकार भएको बेलामा कुरा मिलाउनुपर्ने हो ।’ विष्टले मुख्यमन्त्री शाहीले लामो समयसम्म मन्त्रीमण्डललाई विस्तार गर्न चासो नदिएको भन्दै खरो प्रतिकृया जनाएका थिए ।

‘मन्त्री नबनाएरै सरकार चलाउने सोचमा हो ?’ भन्ने प्रश्नमा मुख्यमन्त्री शाहीले मिश्रित खालको जवाफ दिए । ‘राजनीतिक नेतृत्व नै पहिलो आवश्यकता हो, दोस्रो त कर्मचारीतन्त्र छँदैछ । तर अहिलेसम्म कुनै फाइल रोखिएको पनि छैन,’ उनले भने ।

मन्त्रिपरिषदमात्र नभई मुख्यमन्त्री शाहीले आफ्नो सचिवालयलाई नै पूर्णता दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ । तर मुख्यमन्त्री शाहीले भने प्रदेशको राजश्व बचाउन खोजेको भन्दै सचिवालयले पूर्णता नपाएको विषयलाई पनि सहजै पन्छाए ।

उनले भने, ‘सल्लाहकार नराखेको कुरा राजश्व बचाएको हो, पहिला मन्त्रीमण्डल होस्, त्यसपछि मात्र सचिवालयलाई फुलफिल गर्ने मेरो सोच हो ।’ आफूले राजनीतिक सल्लाहकार लगायत अन्य विज्ञहरुलाई नराखेर प्रदेश सरकारको राजश्व बचाएकोजस्तो लागेको उनको भनाइ छ । उनले बजेट कार्यान्वयनको सन्दर्भमा विगतकोभन्दा तीव्र गतिमा वृद्धि भइरहेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप