शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वेश्वरप्रसाद कोइरालाको दृष्टिमा मधेस– मधेसतिर (कथा)

मङ्गलबार, ०४ माघ २०७८, १२ : ०४
मङ्गलबार, ०४ माघ २०७८

सुनकोसी र तामाकोसीको सङ्गममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो र पूर्वतिरबाट तामाकोसीमा मिसिन्थ्यो । सुनकोसी तर्न सक्ने कोहीकोही मात्र होलान् तर दरो तिघ्रा भएको जसले पनि तामाकोसी तर्न सक्थ्यो । यी दुवै नदीका किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रूख–पातहरू टाढै उभिएका जस्ता थिए । 

सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केजस्तो गरेर नदीका किनारमा घुम्लुङ्ग परेर सुतेका चार पाँच जना उठे । उठ्नासाथ सबैको मनमा प्रश्न उठ्यो, “पेट कसरी भर्ने ?” एउटाले अर्काको मनोभाव बुझेको जस्तो गरेर सबै मुखामुख गर्न लागे । विधवाको दृष्टि गोरेमाथि थियो । विधवाले सबैलाई सम्बोधन गरेर भनिन्, “होइन, तिमीहरू घरबाट हिँड्दा पेट भर्ने के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?” सबै जना विधावाको कुराले विस्मित भए । भोटेले भन्यो, “मेरो त घरै छैन ।” बूढाले भन्यो, “मेरो त थियो तर अब म पनि घरद्वार नभएको छु, तर नानी ! तिम्रो भए किन यहाँ आएकी त ?”

घरद्वार नभएका यी चार जना माग्ने भनूँ वा कुल्ली भनूँ– काम पाए कुल्ली नत्र माग्नेका माझमा घरद्वार भएकी विधवा कागको हूलमा हंसिनी थिइन् । तिनले अन्नपूर्णा (अन्नकी देवी)झैँ झट्ट आफ्नो पोकोबाट चिउरा झिकिन् र भाग लगाउन थालिन्, अनि सबैको चिउरामाथि थप थप चाकुका डल्ला राखिन् । सबैको आँखामा अकस्मात् तेज आयो र सबैको हृदयमा विधवाप्रति महान् आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नो भागबाट चिउरा थपिदिँदै भनिन्, “तिमी जवान छौ । तिमीलाई अरूलाई भन्दा बढी भोक लाग्दो हो ।” फेरि सबैलाई सम्बोधन गरेर भनिन्, “मधेसतिर हिँडेकी । पोइ छैनन् । सासूससुरा फुटेका आँखाले हेर्दैनन् । देवर रूखो माया गथ्र्यो तर पोइ नभएको घरमा टिक्न सकिनँ ।”

यस वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पा¥यो । खान पाउने ठाउँ पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू ती विधवालाई झन् मान गर्न थाले । 

उनले सोधिन्, “तिमीहरू कहाँ हिँडेका नि ? तिमीहरूले त राति केही पनि खाएको देखिनँ, त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकाले तिमीहरूनेर आएर सुतेँ । रातभरि तिमीहरूको माया लागिरह्यो ।”

भोटेले बडो आश्चार्य मानी सोध्यो, “तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंका पोइ होइनौँ, छोरा होइनौँ, बाबु होइनौँ ।”

विधवाले भनिन्, “तिमीहरू मान्छे त हौ ।”

हिजो दिनभरि नखाएको पेटमा चिउराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई कराई कुरा गर्न थाले । बूढाले भन्यो, “नानी ! हामीहरू चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रा कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ । साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एक चोटि भारी बोकेर मधेस गएको थिएँ । 

उत्निखेर सबैले मधेस लाग्ने निश्चय गरे । यी र चार लोग्नेमानिस र एक स्वास्नीमानिस पाँचै जना दक्षिणको बाटो लागे । बूढाले आफ्नो बितेका जीवनका घटनाहरू सुनायो । उसले एक चोटि निकै पैसा कमायो । सत्र रोपनी खेती गथ्र्यो, पछि त्यसै बिग्रेर गयो । त्यसबेला त्यो जवान थियो । निधरमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामथ्र्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ? अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकेर यताउति हिँड्नुपरेको । 

विधवाले भनिन्, “मेरो त मधेसमा गएर राम्ररी घरबार गरेर बस्ने इच्छा छ । सानो खेतबारी ग¥यो । वहाँ खेती गर्न सजिलो छ रे ! जग्गा पनि त्यसै पाइन्छ रे ! यहाँ त सासूससुराको कचकचले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा त्यसै उच्चाट लागेर आउने ।”

भोटे र धने यिनीहरूका कुरा चाख मानेर सुनिरहेका थिए तर आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबैभन्दा पछि गोडा घसारी घसारी हिँडिरहेको थियो । विधवाले गोरेका निम्ति पर्खिइन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिकै आएपछि विधवाले भनिन्, “के थाक्यौ गोरे ? घाम पनि अग्घोर छ । तिम्रो टाउको तात्यो होला, लौ लेऊ यो कपडा टाउकोमा राख ।” उनले आफ्नो टाउकामा राखेको सेतो लुगा झिकेर गोरेको टाउकामा राखिदिइन् । 

फेरि सबै जना हिँड्न थाले । त्यो बूढो, बूढो भन्नु मात्र थियो । त्यो सबैभन्दा अघिअघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसका दुवैतर्फ त्यसको कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो विगतका घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्ता बूढो झन् सुरिएर भए–नभएका कुरा गर्न थाल्यो । भोटे र धने पक्क परेर सुनिरहेका थिए । भित्रभित्र तिनीहरू बूढाको आदर गर्थे । 

विधवा र गोरे पछिपछि बिस्तारबिस्तार आइरहेका थिए । गोरेको उमेर पच्चीस वर्षको हुँदो हो, विधवा तीस । गोेरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गालामा धेरै कठिन परिश्रमले झन् भित्र भासिएको थियो, आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्, “तिमी मधेस गएर के गर्छौ ? 

गोरेले भन्यो, “कुन्नि !” 

विधवाले भनिन्, “के तिमी घरबार गर्दैनौ ? खेतबारी गरी बस्न मन छैन ?”

गोरेले भन्यो, “पैसा खोइ नि ?” 

विधवाले भनिन्, “मधेसमा खेती गर्न त्यसै पाइन्छ । त्यहाँ खेती सित्तैँमा पाइन्छ । तिम्रो उमेर के भयो होला र ? घरद्वार गर । स्वास्नी पाल, छोराछोरी पाल । यस्तो उरन्ठ्याउलो भएर कति दिन बिताउँछौ ?” 

विधवाले फेरि एक्कासि प्रश्न गरिन्, “तिमीलाई स्वास्नीमानिस मन पर्दैन र ?” 

गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हे¥यो र भन्यो, “किन मन पर्दैन र ?”

विधवाले भन्न थालिन्, “म मधेस गएर खेतीबारी गर्छु । घरबार गर्छु तर स्वास्नीमान्छेले मात्र घरबार बनाउन सक्तैन, लोग्नेमान्छे पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो– किन हामी दुई जना मिलेर घर नचलाऔँ ?” 

गोरेले विस्मयको दृष्टिले विधवालाई हे¥यो, विधवाले अलिक अप्रतिभ भएर भनिन्, “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएको छैन । मेरो सन्तान पनि कोही भएन । त्यसो हुनाले शरीर बिग्रन पाएन ।” गोरेले चकित भई विधवालाई हेरिरह्यो । विधवाले भनिन्, “गोरे ! मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जाला जस्तो भयो । म के छोराछोरी पाउन सक्तिनँ र ? खोइ मेरा छोराछोरी ? खोइ मेरो आफ्नो घर ? खोइ मेरो आफ्नो मान्छे ?”

विधवाको मुख अकस्मात् रुन्चे जस्तो भयो । उनको मुख रातो भयो । मुन्टो तल गाडेर नबोली हिँड्न थालिन् । धेरैबेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निस्तब्धतालाई भङ्ग गरेर भनिन्, “गोरे ! मसँग अलिक गहना पनि छ । रुपियाँ पनि छ, त्यसैले गएर खेती किनौँला, घरद्वार बनाउँला । तिमी मेरो भयौ भने यो सबै तिम्रो हुन्छ ।”

अलिक पर बूढो, भोटे र धने एउटा ठूलो ढुङ्गामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरूलाई आएको देखेर टाढैबाट बूढाले भन्यो, “अब बस्ने होइन ? खाने के नि ?”

सबैको दृष्टि विधवामाथि प¥यो । उनले भनिन्, “अलिकति चिउरा बचेको छ, पेटभरि नभए तापनि अलिअलि त थेग्ला ।” तिनीहरू बसेर चिउरा फाँक्न थाले र आकाशलाई छानो बनाएर गुँडुल्किएर त्यही बाटाको छेउमा सुते । 

दिनभरि हिँडेको हुनाले तिनीहरू लड्न पाएका थिएनन्, भुसुक्कै निदाए ।

बिहान सूर्यको पहिलो किरणका साथसाथै बूढो उठ्यो र खोक्न थाल्यो । सबै जना उठे तर गोरेको पत्ता थिएन । विधवाले आत्तिएर सोधिन्, “गोरे खोइ ?”

बूढाले शान्त भएर भन्यो, “गयो होला कतै, अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय हुन सक्छ ।”

विधवाको हृदय भारी भयो र उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुर्दिनको सँगी यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनु ? तिनी आफ्नो पोको बटुल्न थालिन् । उनको हृदय ढक्क भयो । उनको गहनाको पोको छैन । 

सबै जना हिँड्न तयार भए तर विधवा बसेर पोकाहरू बाँधबुँध मात्रै गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो, “के गरिरहेकी ? हिँडिहालौँ, नत्र साँझसम्म पुगिँदैन, भोकै सुत्नुपर्ला ।” विधवाले रुन्चे स्वरले भनिन्, “मेरो गहनाको पोको छैन ।”

सबैजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, “तिमी गहनागुरिया लिएर कहाँ हिँडेकी त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नु ?” त्यसको कुरा सुनेर विधवालाई रिस उठ्यो । उनले चिच्च्याएर भनिन्, “चुप लाग बूढा ! त्यस गहनाले मैले केके गरुँला भन्ने विचार गरेकी थिएँ– खेती किनुँला, बिहा गरुँला, घर जमाउँला, छोरो पाउँला ! मेरा सारा आशा नष्ट भयो ।” 

यति भनेर डाको छोडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्ने थाल्यो, “किन रोकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भइहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तियौ, लौ हिँड ।”

विधवा टोलाएर उभिइन् र बूढाको पछिपछि लागेर हिँड्न थालिन् । 

त्यो टाढाको टाकुरामा पुगेर बूढाले बडो उत्साहसँग दक्षिणतिरको, आँखाले भ्याउन्जेलसम्मको, ठूलो विस्तीर्ण मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो, “उः त्यही हो मधेस । त्यहीँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामी अघाउन्जेल खान पाउँछौँ ।” 

भोटे र धनेको आँखामा उत्साहको आभा दगु¥यो । भोकले सुकेका गालामा पनि आनन्दको गुलाफी देखियो । कानसम्म मुखको कुना पु¥याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे तर विधवामा उत्साह थिएन । आफ्नो उमेर ढलिसकेको थियो । उनले तिनै गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई– आफ्नो बनाउने इच्छा गरेकी थिइन् । सबै तारको घरझैँ भताभुङ्ग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् । 

(नेपाली कथा भाग ४ बाट ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बीपी कोइराला
बीपी कोइराला
लेखकबाट थप