बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ

मङ्गलबार, ०४ माघ २०७८, १५ : ०६
मङ्गलबार, ०४ माघ २०७८

दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई बन्धक बनाएको आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने अन्दाजी ३२ वर्षका संजोग राई, सोही स्थानका अन्दाजी ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बसन्तनगरमा होटल व्यवसाय गर्ने ३१ वर्षका गोकुल घिमिरेलाई पक्राउ गरिएको हो ।

वैदेशिक रोजगारका लागि दुबई गएका रामेश्वर राम गत असोज ८ गते बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उत्रिई बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेको प्रहरीको भनाइ छ । उनी बसेको होटलमा अपरिचित व्यक्तिहरु आई उनलाई अपहरण गरी काठमाडौं महानगरपालिका–२७, ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिइ चुरोटको ठुटोले पोलेर यातना दिएको तथा उनको झोला, मोबाइल समेतका सामान लगेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिएका छन् ।

रामेश्वर राम उक्त होटलबाट भाग्न सफल भई प्रहरीको सम्पर्कमा आएर जाहेरी दरखास्त पेस गरेपछि विविध विधिमार्फत अनुसन्धान गर्दै जाँदा अपहरण तथा बन्धक बनाउने कार्यमा संजोग राई, रमेश अर्याल र गोकुल घिमिरेको संलग्नता देखिएको प्रहरीको भनाइ छ । संजोग राई र रमेश अर्याललाई पुस ३० गते काठमाडौंको जरङ्खुबाट र गोकुल घिमिरेलाई माघ २ गते काठमाडौं महानगरपालिका–१६, बसन्तनगरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता मैनालीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप