मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमण

मङ्गलबार, ०४ माघ २०७८, १७ : ०२
मङ्गलबार, ०४ माघ २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो । कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ जनाको एन्टिजेन परिक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ७३० जना तथा एन्टिजेन विधिबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांकअनुसार संक्रमणदर समग्रमा ४४.९ प्रतिशत पुगेको छ । यसमध्ये पीसीआर विधिबाट संक्रमण दर ४८.८ प्रतिशत रहेको छ भने एन्टिजेन विधिबाट ४४.९ प्रतिशत रहेको छ । पुसको १९ गते संक्रमण दर समग्रमा २.६ प्रतिशत रहेकोमा १५ दिनको अन्तरालमा संक्रमण दर रेकर्ड स्तरमा वृद्धि भएको हो ।

काठमाडौँ रेड जोनमा

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमित मध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै रहेका छन् । काठमाडौँ जिल्लामा मात्रै ४००४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९७५ तथा भक्तपुरमा ५७० जना संक्रमित थपिएका हुन् । काठमाडौँमा हाल १७ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा ४ हजार ४७१ तथा भक्तपुरमा २३९६ जना रहेका छन् ।

यता प्रदेश १ मा मोरङमा सर्वाधिक ५०९ तथा सुनसरीमा ३१० संक्रमित थपिएका छन् । मधेस प्रदेशमा धनुषामा ८१ जनामा संक्रमण पुष्टि हुँदा गण्डकी प्रदेशमा कास्कीमा २८७ जना संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा रुपन्देहीमा २१२ जनामा संक्रमण पुष्टि भएको छ भने कर्णालीमा सुर्खेतमा २५ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीमा १ सय ८१ जना संक्रमण पुष्टि भएको छ ।

हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ, कञ्चनपुर छन् ।

देशमा सक्रिय संक्रमितको संख्या बढेर ३९ हजार ४४ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख ६८ हजार २१५ तथा एन्टिजेन विधिबाट १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ५६२ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६२४ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

देशभर थप २ लाख १३ हजार १४८ जनाले खोप पनि लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ८३ लाख २२ हजार ८ मात्रा खोप लगाइसकेको छ । यसमध्ये १ करोड ५९ लाख ६७ हजार ३८० जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने १ करोड २३ लाख ४७ हजार ३०४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ७ हजार ३२४ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप