बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान सरलाई पत्र

मङ्गलबार, ०४ माघ २०७८, १७ : ५४
मङ्गलबार, ०४ माघ २०७८

प्रिय कुलमान सर, यहाँको उत्तरोत्तर प्रगतिको आकांक्षासहित न्यानो अभिवादन ।  उज्यालो नेपालका लागि यहाँको योगदान अतुलनीय छ । विगतका दिनमा १८ घण्टा लोडसेडिङको मार खपेका हामी नेपाली हौ । तपाईंकै कुशल व्यवस्थापन र प्रविधिसँगको ज्ञानले आज हामी अँध्यारोबाट मुक्त भएका छौं । तपाईंको यस योगदानलाई आम नेपालीले सदा सम्झने नै छन् ।

हामी पूर्व पश्चिम राजमार्गको यात्रामा अनेकौं ठाउँमा कुलमानको जय भनेर अनेकौं ठाउँमा होडिङ बोर्डमा लेखेका भेट्छौ । नेपाली इतिहासमा साधारण किसानको सन्तानले यति धेरै स्यावासी र बधाई सायदै अरुले पाएको होला । विभिन्न चाडपर्वमा उल्लासको समयमा यहाँको सक्रियता अझ धेरै बढ्दो छ । यसै वर्ष तिहारमा चितवनको भरतपुरमा रहेको सबस्टेसनमा आएको समस्या होस् वा भक्तपुर फिडरमा आएको समस्या होस्, तपाईं स्वयम् नै खट्नु हुन्छ । कुर्सीमा लिप्त हाकिम हुनुको अहम् र घमण्ड गर्नेलाई तपाईं गतिलो जवाफ बन्नु भएको छ । यहाँको हँसिलो मिजासिलो व्यवहार, सही र स्पष्ट बोल्ने तार्किक क्षमता, कामप्रतिको लगनशीलता, धैर्यता सबैलाई बाँध्ने अनुशासन आजका पुस्ताले सिक्न आवश्यक छ । 

प्रिय कुलमान सर, यहाँले भरमग्दुर प्रयास त गरी नै रहनु भएको होला । तर पनि आजकल काठमाडौंलगायत अधिकांश ठाउँमा बारम्बार विद्युतको समस्या बढ्दो छ । म केही समय अघि सिन्धुपाल्चोकको मेलम्ची गएको थिएँ । त्यहाँ केही दिनको बसाइँमा दिनको दसौँ पटक विद्युत आउने र जाने भैरह्यो । तपार्इं त जानकार हुनुहुन्छ, कार्यालयको कामको म्याद हुन्छ । बारम्बार विद्युतको समस्याले गर्दा मैले समयमा काम सकिनँ । म जस्ता हजारौँ नागरिक जो हाल यो समस्या भोग्दैछन्, सबैका प्रश्न छन् तपाईलाईं, के यो अघोषित लोडसेडिङ हो त ? 

आज संसार प्रविधिमैत्री बन्दै छ । प्रविधिको प्रयोगले संसार साँघुरो बनेको छ । पूर्व धु्रवबाट थिचेको स्वीचले पश्चिमी धु्रवमा एक निमेषमै कायापलट गरिदिन्छ । तर हामीकहाँ कुन खम्बामा लाइन सर्ट भएको छ भनी खम्बैपिच्छे चढ्नुपर्ने अवस्था छ । ती परिश्रमी कर्मचारी न प्रविधि मैत्री बन्दै छन्, न यो विषयमा जानकार नै छन् । हुन त प्रविधिको नवीनतम् सोच र व्यवस्थापन तपाईमार्फत् नै भित्रिएका छन् । जसरी एक स्क्यानिङ मेसिनले शरीरको जाँच गरी समस्या पहिल्याउँछ, अब त्यसैगरी ती प्रत्येक खम्बा पनि प्रविधिमैत्री हुनुपर्यो । त्यही अनुसारका साधन र स्रोतको पहुँच ती फिल्डका कर्मचारीलाई पनि हुनुपर्यो । कुन खम्बामा के समस्या छ भनी जाँच्ने मेसिनको पहुँचता दिनुपर्यो ।

खाडी मुलुक कतारमा रोजगारीको सिलसिलामा दुई वर्ष बस्दा मैले कहिल्यै पनि विद्युतको समस्या भोग्नु परेन । न त खम्बा चढेर कुन लाइनको गडबडी भएको छ भनी जाँच्ने व्यक्ति देखेँ । त्यही साधन, स्रोत र पहुँचको सही व्यवस्थापन र प्रयोग भएको देखेँ । हामीकहाँ अहिले पनि विद्युतको महसुल तिर्न लाईन बस्नुपर्छ । कहिलेकाहीँ त कर्मचारीहरुको हप्की पनि खानुपर्छ । कतिपय स्थानका टोकन मेसिन बिग्रिएका छन्, धुलै धुलोले भरिएका छन् । अनि ती राज्यलाई उपयोग वापत कर तिर्न बसेका नागरिकलाई गिज्याइरहेका छन् । प्रिय कुलमान सर,  जसरी एक मत्ता हात्तीले खाली अगाडीको भाग मात्र देख्छ । तर तपाईं त सर्वव्यापी हुनुहुन्छ , पक्कै ती लाईनमा पनि तपाईंका आँखा डुलेका होलान् !

राष्ट्रिय ग्रिडमा नजोडिएका ती ८ वटा जिल्ला (जुम्ला, हुम्ला, बाजुरा, कालीकोट, मुगु, डोल्पा, रुकुम पूर्व र सोलुखुम्बु) का विद्यार्थी जब साँझमा सल्लाका खोटो र दीयो बाली पढ्न बस्छन्, अनि स्वाभिमानी नेपाली हुँ भन्ने बिर्सन्छन् ।

तपाईं जब सन् १९७० मा रामेछापको बेथानमा  जन्मनुभयो, नेपाल आमाले सच्चा गौरवशाली सुपुत्र पायो । ती धिपधिपाउँदो टुकीमा जीवन त पक्कै तपाईंको पनि बित्यो होला । अबका दिनमा राष्ट्र लोडसेडिङ मुक्त भैसक्यो । ती तमाम दुरदराजका विद्यार्थीले कुलमानलाई किताबमा पढेका छन्, रेडियोमा सुनेका छन् । तपाईंको नाम र चर्चाको परिभाषा लाएका छन् अनि मीठो आशामा बसेका छन् । अब फेरि छिट्टै विद्युत समस्याको अन्त होला । किनकी कुलमान घिसिङ फेरी ४ वर्षको लागि नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । अन्त्यमा यहाँको सफल कार्यकालको शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप