बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कबाड संकलनको आडमा प्रतिबन्धित जडीबुटीको कारोबार

मङ्गलबार, ०४ माघ २०७८, १८ : १९
मङ्गलबार, ०४ माघ २०७८

कबाडको आडमा जडीबुटीको अवैध कारोबार हुँदै आएको पाइएको छ । जडीबुटीका तस्करहरु कबाड संकलन र निकासीको आडमा नेपालबाट बहुमूल्य जडीबुटी भारततर्फ लैजान सक्रिय रहँदै आएको तथ्य प्रकाशमा आएको हो ।

सोमबार डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको हो । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका–७, भुजहवाँस्थित एक कबाड पसलबाट ठुलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउजस्तो जडीबुटी बरामद गरेको हो ।

भुजहवाँ गाउँस्थित साई टे«डर्स नामक कबाड संकलन गर्ने डिपोमा लुकाई छिपाई राखिएको अवस्थामा ती जडीबुटी बरामद भएको प्रहरीले जनाएको छ । लामो समयदेखि यस कबाड पसलबाट यसरी झारजस्तो देखिने बस्तु साईकल तथा रिक्सामा लोड गरी भारततर्फ पठाउने गरेको स्थानीयवासीले देखेपछि प्रहरीले छापा मारेको हो ।

भारततर्फ तस्करी गर्ने उद्देश्यले कबाडी पसलमा लुकाई छिपाई जडीबुटी राखिएको सुराकी पाएपछि डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल बिओपी भुजहवाँ, जनपद प्रहरी चौकी भुजहवाँको संयुक्त टोलीले छापा मार्दा ठुलो परिमाणमा जडीबुटी बरामद गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख डिलाराम पौडेलले जानकारी दिए ।

जडीबुटी बरामद गरिएको कबाड पसल दशगजाबाट १०० मिटरको दुरीमा छ । बरामद सुनाखरी २१ क्विन्टल ८० किलो, झ्याउ ५१ क्विन्टल ३० किलो रहेको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।

यो जडीबुटी पहाडी जंगलमा पाइने गर्दछ । यसलाई संकलन तथा ओसारपसार र विक्रीवितरण गर्न नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । बरामद सुनाखरी प्रति किलोग्राम २०० का दरले ४ लाख ३६ हजार रुपैयाँ र झ्याउ प्रतिकिलो २५ रुपैयाँका दरले १ लाख २८ हजार २५० रुपैयाँ गरी कुल ५ लाख ६४ हजार २५० रुपैयाँ यसको बिगो रकम मुल्याङ्कन गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।

सुनाखरी रुघाखोकी, च्यावनप्रास, जस्ता आयुर्वेदिक औषधिमा प्रयोग हुने र झ्याउबाट पाउडर बनाई घाउ निको पार्ने आयुर्वेदिक औषधि बनाईने डिभिजन वन कार्यालयले जनाएको छ । यो सुनाखरी तथा झ्याउ भारतमा निकै महँगोमा विक्री हुने हुँदा कबाडी व्यापारीहरु कबाडको आडमा यसको तस्करीमा संलग्न हुँदै आएको बताइन्छ ।

बरामद जडीबुटी डिभिजन वन कार्यालयमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप