शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विराटनगर कोरोनाको हटस्पट बन्दै

प्रदेशमा परीक्षणमध्ये ५१.८८ प्रतिशतमा कोरोना पुष्टि
मङ्गलबार, ०४ माघ २०७८, १९ : ३०
मङ्गलबार, ०४ माघ २०७८

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरका नागरिक सङ्क्रमित हुन थालेको छन् । यो सँगै विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ। मंगलबारमात्र प्रदेश भरी कुल एक हजार ७१ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । 

एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोमा मोरङ जिल्लाका ४४८ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।परीक्षण गरिएका मध्ये प्रदेशको राजधानी रहेको विराटनगरका मात्र ३८६ जना रहेका छन् । यो तथ्याङ्कले मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको भयावह अवस्थाको सङ्केत गरेको छ । मंगलबार कुल परीक्षणको अनुपातमा प्रदेशमा ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । त्यसमा मोरङका ४५ प्रतिशत रहेका छन् भने विराटनगरका ४१ दशमलव ९१ प्रतिशतमा एकै दिन कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले माघ १ यता मात्र कोरोनाको दर उच्च दरमा बढेको देखाएको छ । माघ १ गते प्रदेश १ मा ३२० जनामा कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ अर्थात् ४६ दशमलव १८ प्रतिशत र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा अर्थात् १८ दशमलव २५ प्रतिशत सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमित मध्ये सबै भन्दा बढी मोरङमा १२९ त्यसमा विराटनगरका मात्र ११३ रहेका थिए ।

त्यसै गरी माघ २ गते ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ अर्थात् ४३ दशमलव ७४ प्रतिशत र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जना अर्थात् १६ दशमलव ८० प्रतिशतमा सङ्क्रमण देखिएको थियो । कुल परीक्षणका आधारमा मोरङमा सबै भन्दा बढी मोरङमा १६६ र विराटनगरमा मात्र १ ३७ जना रहेका थिए ।

त्यसै गरी माघ ३ गतेको परीक्षणमा ६१७ जनामा कोरोना सङ्क्रमण भएको थियो । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ अर्थात् ५८ दशमलव ६१ प्रतिशत र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जना अर्थात् २५ दशमलव २६ प्रतिशतमा सङ्क्रमण देखिएको थियो । पीसीआर परीक्षणका आधारमा  सबै भन्दा बढी मोरङमा २२७ र विराटनगर १९१ जना सङ्क्रमित पुष्टि भएको थियो ।

प्रदेश त्यसमा पनि मोरङ र त्यसमा पनि विराटनगरमा लगातार कोरोना सङ्क्रमणको दर उकालो लागेको अवस्थामा मंगलबार एकै १ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ अर्थात् ५९ दशमलव १५ प्रतिशत र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जना अर्थात् २९ दशमलव ५९ प्रतिशतमा कोरोना सङ्क्रमण भएको छ । मंगलबार एकै दिन मोरङमा ४४८ र विराटनगरमा ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जनस्वास्थ्य विज्ञ डा नवराज सुब्बाले प्रदेश भरीको सङ्क्रमित दरसँगै विराटनगरमा तीन जना मध्ये एक जनामा कोरोना पुष्टि हुने अवस्था देखिँदै गएकाले विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा निम्त्याएको बताए ।

उनले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले तत्काल सिमानाकालाई थप व्यवस्थित गर्नुपर्ने, बिरामीको उपचारको प्रबन्ध मिलाउने र बढीभन्दा बढी खोप लगाउन सर्वसाधारणलाई आकर्षित गर्न तर्फ सरकारको ध्यान केन्द्रित गर्नुपर्ने बताए । सुब्बाले भने, 'भोलि कोरोनाको भयावह स्थितिको सङ्केत आजबाटै देखिदैछ। सरकार सम्पूर्ण रूपमा व्यवस्थापनको पक्षमा अहिलेदेखि नै नलागे यसले भोलि ठुलो जोखिम निम्त्याउने छ ।’

प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । प्रदेशमा मंगलबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६७ पुगेको छ।जसमा ५६ जना अस्पताल भर्ना भएका छन् ।  

२३ जनाको आइसियुमा ८ जनाको भेन्टिलेटर ३१ जनाको एचडियुमा र दुई जनाको जनरल बेडमा राखेर उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्य सबै सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप