बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

मङ्गलबार, ०४ माघ २०७८, २० : ०८
मङ्गलबार, ०४ माघ २०७८

समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो ।’’, 
     
बुस्टर डोजको रुपमा खोपको मात्रा लगाउन केन्द्रबाट कोभिशिल्ड एक लाख पाँच हजार मात्रा र भेरोसेल ५१ हजार मात्रा प्राप्त भइसकेको प्रवक्ता कार्कीले जानकारी दिए । पहिलो र दोस्रो मात्रा (पूर्ण खोप) पाइसकेकामा रोग प्रतिरोधीको थप क्षमता बढाउन तेस्रो मात्राको रुपमा (बुस्टर डोज) खोप सञ्चालन गर्ने कार्यक्रम छ । 

पहिलो चरणमा यसअघि पूर्ण खोप लगाएर कोरोना रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकालाई बुस्टर डोज दिइने जनाइएको छ । बुस्टर डोजको यो खोप कार्यक्रम यही माघ २ देखि सञ्चालन गर्ने तयारी थियो । यही माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्ष माथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ ।   

कोरोना सङ्क्रमण दर एकाएक उकालो लागेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले बताउनुभयो । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको जनाइएको छ । १२ देखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरुलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ । 

एकतिर कतिपय नागरिकले खोप लगाउन आनाकानी गरेको र अर्कोतर्फ खोप लगाउन आवश्यक पर्ने सिरिञ्जको अभावसमेत देखिएपछि तीन हप्ताअघि सम्म खोप सञ्चालनको काम केही सुस्त देखिएको थियो । भारतबाट भित्रिनेलाई सीमा नाकामै एन्टिजेन परीक्षण गरेर खोप नपाएकालाई एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैत्र महिनासम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले कोरोना रोकथामका लागि प्रदेशका चारवटै मुख्य सीमा नाकालाई पहिलेको भन्दा व्यवस्थित बनाइएको बताए। 

उहाँले भन्नुभयो, ‘‘पहिलेभन्दा सीमा नाकामा भारतबाट भित्रिनेको परीक्षणको दायरा बढाएका छौँ । यस्तो व्यवस्था देशका अरु प्रदेशका सीमा नाकामा भइरहेको देखिँदैन ।’’ भारतबाट नेपाल भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । कन्ट्याक्ट टे«सिङ गर्ने कामको जिम्मेवारी पालिकालाई दिइएको छ तर धेरै पालिकामा यो काम प्रभावकारी भएको देखिँदैन । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार निर्माणमा जुटेको भएपनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा यो प्रदेशमा ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५१ हजार ५२१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप