शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : रेकर्ड तोड्दै कोरोना, तत्काल लकडाउन नहुने

मङ्गलबार, ०४ माघ २०७८, २० : ५२
मङ्गलबार, ०४ माघ २०७८

 

आज २०७८ माघ ४ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. कोरोनाको भयावह अवस्था

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो । कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ जनाको एन्टिजेन परिक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ७३० जना तथा एन्टिजेन विधिबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको छ ।

२. काठमाडौँमा कडाइ

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । 

३. एमाले जिल्ला अधिवेशन

नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने एमालेले जनाएको छ । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरूमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवेशनहरू पनि सम्पन्न भएका छन् ।

४. कार्यदल गठन​

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ । मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

५. तत्काल बन्दाबन्दी नगर्ने​

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताएका हुन् । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताए । उनले भने, “कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।”


६. वैशाखमै स्थानीय चुनाव

सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।​

७. सर्वोच्चको सेवामा संकुचन

कोभिड महामारीको कारण देखाउँदै सर्वोच्च अदालतले आफ्नो सेवामा संकुचन ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ गतेसम्म निश्चित प्रकृतिका मुद्दामा मात्रै सुनुवाई गर्ने भएको हो । 
सर्वोच्च अदालतका अनुसार माघ ५ गतेदेखि ६ वटा प्रकृतिका मुद्दामा मात्रै सुनुवाई हुनेछ । ​

८. सामाजिक सञ्जालमा बालबालिकाको उपस्थिति कति सुरक्षित ?

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पुस ३० गते २१ वर्षीय सुजन श्रेष्ठलाई ललितपुरको पाटनबाट पक्राउ गर्‍यो । एक नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल ललितपुरको पाटनस्थित सुन्धारामा बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गर्दा भने सौगात महर्जन भन्ने ठानेको थियो । किनभने युवकले आफ्नो नाम सौगात महर्जन रहेको बताएका थिए र एक बालिकालाई डर धम्की देखाई भेट्न बोलाई जवरजस्ती करणी गरेर फरार भएका थिए ।

९. दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगो लगाए

सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।  मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।

१०. पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा

चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म कुल २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले आर्जन गरेका कुल नाफा भन्दा १९.८७ प्रतिशतले बढी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप