ad
x

‘बबुरो रेशम’ र मुक्तिको प्रश्न

person explore access_timeमाघ ५, २०७८ chat_bubble_outline0
फाइल तस्विर

 


लोकतान्त्रिक, गणतान्त्रिक संविधानमा
हाम्रो पनि खुशी मिसिन पाए
क्या जाति हुन्थ्यो 
अनि हेर्थ्यो दुनियाले 
विजय जुलुसको लहरमा
चार वर्ण छत्तीस जातको
क्या ताँती हुन्थ्यो
सारा जग हाम्रो खुशीदेखि दंग पर्थे
अरे वाह, संसार सामू नेपालीको शिर
क्या माथि हुन्थ्यो ।



प्रवासमा हुँदा २०७२ असोज ३ गते संविधान जारी हुँदा कोरेको थिएँ मैले माथिको कविता पंक्ति । केही सन्कीका कारण राणा शासन समाप्त भयो । सामन्तीका कारण पञ्चायत ढल्यो । शोषकका कारण देशमा जनयुद्घ निम्तियो । हिजो बुर्जुवा शिक्षा पढायो भनेर शिक्षकको गला रेट्नेहरूले आज महँगो शिक्षालयमा आफ्ना सन्तानलाई पढाउँदा जनता फेरि अलमलमा परेका छन् । जनताको मनमा फेरि परिवर्तनको हुण्डरी चल्न थालेको छ । जनता भन्दैछन्, “हिजो पार्टीले बुर्जुवा शिक्षा होइन, जनवादी शिक्षा दिनुपर्छ भन्थ्यो । त्यसैका लागि लडियो । छोरी शहीद भई, छोराको पेट, खुट्टामा छर्रा छ । जनयुद्घ लडेकी बुहारी छोराछोरी पढाउन तरकारी रोप्छे । युद्घताका मकै भटमास खुवाएका नेताको दैलो भेट्टाउनै मुस्किल छ । हिजो हाम्रा भतिजा भतिजीले तिनको सुरक्षा गर्थे, अहिले सरकारी सुरक्षाकर्मीको पहरामा सुत्छन् रे । मेरो जुनी त यस्तै भयो, नाति नातिनाका लागि पनि फेरि अर्को परिवर्तनको लडाइ नलडी भाको छैन ।” यो मुर्मुरिएका जनताको वास्तविक उक्मुक्सिएको व्यथा हो ।



सबैले सम्झिने विगत हो । भविष्यको त कल्पना मात्रै हो । विगत सम्झेर मान्छे उकुसमुकुस हुँदै भविष्यको गोरेटोमा पैतला चाल्न थाल्छ । विज्ञानसहित शास्त्रले भन्छ, मान्छेको जात पुरुष र स्त्री हो । वर्ण गोरो र कालो हो । आकार अग्लो र होचो हो । स्वरुप चुच्चे र थेप्चे हो । बाँकी सब बकवास हुन् । धर्म आस्था हो । यदि कहीँ कतै ईश्वर छन् भने पनि तिनी एउटै छन्, सृष्टिकर्ता बनेर सबैलाई स्याहार गर्ने । सबैलाई सन्तान मानेर सरोबरी माया गर्ने । उनको नजरले विभेद देख्दैन । अग्लो होचो, चुच्चे थेप्चे, काले गोरे, सबै उनका सन्तान हुन् । राक्षस उनै हुन्, जो रगत पिएर तृप्त हुन्छन् । मान्छेको मासु खाएर भोक मेट्छन् । अप्सराहरूलाई यौनदासी बनाउँछन् । विलासिताको पुष्पक विमान चढ्छन् । उनैको नजरले विभेद देख्छन् । मान्छे मान्छे बीचको फरक छुट्याउँछन् । वर्ण हेरेर विधान लेख्छन् । धाक लगाउन धारा लेख्छन् र जनतालाई प्रतिशतमा बाँड्छन् । तेरो यति, मेरो यति भनी भागबण्डा लगाउँछन् । 



बालीनाली, फलफूल कृषकले उत्पादन गर्ने हो । गे्रडिङ गर्ने काम व्यापारीको हो । किसान आफ्ना सबै उत्पादनमा उत्तिकै पसिना बगाउँछ । उत्पादित वस्तुलाई उत्तिकै माया गर्छ । तर व्यापारी स्वार्थी हुन्छन् । उनीहरू आफ्नो स्वार्थको लागि उत्पादित वस्तुलाई छानीछानी यो राम्रो र यो नराम्रो भनेर बेच्छन् । हो, आज हाम्रो देश पनि त्यस्तै भएको छ । स्वार्थी शासकले चुच्चे थेप्चे छुट्याएका छन् । मान्छेको जातलाई ठूलो सानो भनेर विभाजित गरिदिएका छन् । हामीलाई चुच्चे थेप्चे, ठूलो जात सानो जात भनेर छुट्याउने सामन्ती शासकहरू मान्छेका व्यापारी हुन् । यिनले हामी नागरिकलाई पनि संविधानमा ग्रेडिङ गरिदिएका छन् । संसारका विकसित देशमा त्यसै विकास भएन । पहिले तिनको चेतना विकास भयो, सोच परिवर्तन भयो । देशका लागि सामूहिक मितव्ययिता केन्द्रीकृत गरे । अनि भयो विकास र बन्यो देश । 



एकपटक कैलालीमा बाढीपीडितहरूको उद्धारमा खटिएको बेला उँचो स्थानमा घर भएको एकजना समाजमा अलि प्रतिष्ठित व्यक्तिको गोठमा पीडितहरूलाई केही दिन बस्न दिन अनुरोध गरेको थिएँ । मेरो आग्रहलाई स्वीकार गर्ने कि अस्वीकार गर्ने भनेर ती भलाद्मी केही क्षण बोल्न नसकिरहेको बेला तिनकी श्रीमतीले प्वाक्कै बोलिन्,‘हाम्रो गोठमा मान्छे बस्ने भए बस्तुभाउ काँ बस्छन् त बाबु ?’



‘बस्तुभाउ कुनामा सारेर भए पनि मान्छे त बाँच्नु पर्यो नि काकी,’ उनको जवाफको प्रतिवाद गर्दै भनेको थिएँ मैले । यसरी मान्छे बस्न दिने कि नदिने सम्बन्धमा दुईबीच केहीबेर विवाद भयो । अन्ततः मैले रेडियोमा रिपोर्ट बजाउने घुर्की देखाएपछि ती भलाद्मी मत्थर भए । अनि, केही दिनका लागि बाढी पीडितले आश्रय पाए । 



कहिलेकाहीँ म आफै सोच्मग्न हुन्छु । पशुभन्दा मान्छेको मान्यता कम भएको सोचको त्यान्द्रो माथिसम्मै पुगेको देश हो हाम्रो । सिंहदरबारको पहुँच नभएसम्म नागरिकको दर्जा पाउनै कठिन छ । “मै खाउँ मै लाउँ मै गरुँ सुखसयल” मस्तिष्कमा बोकेर हिँड्नेले मुलुकै मपाईंत्व ठान्छन् । आपत विपतमा पशु बस्ने गोठसमेत छिमेकीलाई आश्रय दिनबाट हिच्किचाउँछन् । 



यहाँ उच्च सोचले मात्र अधिकार पाइनेवाला छैन, दिनेवाला पनि छैनन् । बरु बागमती पाँच ठाउँमा लेखिएला, नेवा ताम्सिलिङ, थारू, लिम्बुवान एक ठाउँमा पनि लेखिनेवाला छैन । संकीर्ण सोचका शासकलाई थाहा छ, आज नाम माग्नेले भोलि ठाम माग्छ । ठाम दिए दाम माग्छ । दाम पाए देशमा उसले उन्नति गर्छ । 

एकपटक सत्तामा चढिसकेपछि शासन सदा उसैको पोल्टोमा होस् भन्ने अधिनायकवादी शैली छ । यही संकीर्णताले एकदिन देशमा द्वन्द्व हुन्छ, अनि देश भड्खालोमा जान्छ । नागरिकलाई रैती सोच्दा राणा शासन गयो । देशलाई बपौती सम्झिदा पञ्चायत ढल्यो । चालीस बुँदामा एक बुँदाको मात्रै सुनुवाइ भइदिए जनयुद्ध हुँदैनथ्यो भन्छन् विश्लेषकहरू । 

अहिले हाम्रा माग थोरै छन्, जायज छन्, राष्ट्रघाती छैनन् । देशलाई बन्धकी राखेर दिनुपर्ने होइन । केवल सोच सकारात्मक हुनुपर्यो, व्यवहार भाइचाराको हुनुपर्यो । अधिकार बाँडेर जनता सु–सूचित हुन्छन् भने दिन तयार हुनुपर्यो । विभेद हुनुभएन, गर्नुभएन । विभेदको पराकाष्ठाले विद्रोह हुन्छ । सबैलाई थाहा छ, विद्रोहले केही देख्दैन । आँखै नदेख्ने अन्धो विभेदलाई हामीले किन स्थान दिने ? विभेद भन्ने समाज, देश सबैबाट हटाइदिऊँ, मुलुक आफै समुन्नत हुन्छ । मुलुकमा आफै शान्ति र स्थिरता छाउँछ । अनि लाग्छ, हावा, पानी, माटो आफ्नो, छाँगा छहरा आफ्नो, हिमाल पहाड आफ्नो, तराई मधेस आफ्नो । सबै आफ्नै लागेपछि अपनत्व आफै बढ्छ । अपनत्व आफ्ना लागि होइन, परिवारका लागि होइन, देशका लागि होस् । हो, साँच्चिकै अपनत्व देशका लागि हुनुपर्छ ।

जेलको छिंडीबाट संसार नियाल्दा साह्रै न्यास्रो लाग्छ । भन्नेले भन्छन्, माननीय रेशम चौधरी बाघ हो, बाख्रा पाए यसले क्वाप्ल्वाक्कै खान्छ । तर म आफैले आफैलाई नियाल्छु, अनि खुट्याउँछु, बिचारा रेशम बबुरो हो । उसले ओकलेको अंगारमा भात पकाएर खानेहरू धेरै छन् । उसले ओकलेको आगो ताप्नेहरू धेरै छन् । उसको काम ओकल्ने न हो । कहिले मुखबाट ओकल्छ, कहिले सुरबाट ओकल्छ र कहिलेकाहीँ कलमको निबबाट अक्षर पनि ओकल्छ–

बर्षौंदेखि शोषित, पीडित नागरिकको उन्मुक्ति कहाँ छ ?

दासताको जञ्जिरबाट मुक्त हुने जुक्ति कहाँ छ ?

फैसलाको हँथौडा ठोकेर भन्नुस् ‘श्रीमान्’

भौगोलिक, साँस्कृतिक पहिचानको मुक्ति कहाँ छ ?

हालः डिल्लीबजार, कारागार, काठमाडौं

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।