बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चेकोस्लाभाकियामा खोप बिरोधी अभियानमा सरिक हुने गायिकाको कोरोनाबाट मृत्यु

बिहीबार, ०६ माघ २०७८, १० : ३६
बिहीबार, ०६ माघ २०७८

चेक गणतन्त्रकी एक लोक गायिका हाना होरकाको कोरोना भायरसको संक्रमण मृत्यु भएको छ । उनको छोराले यसबारे जानकारी दिएका हुन् । हानाले साउना र थिएटर हलमा प्रवेश पाउनका लागि आफूलाई जानीजानी कोरोनाद्वारा संक्रमित बनाएको उनको परिवारले बताएको छ । 
 
इयूका सदस्य राज्यमा खोप कार्ड वा हालै संक्रमित भएको प्रमाण देखाएपछि मात्रै सार्वजनिक स्थलमा प्रवेश पाउने भएपछि उनले खोप लगाउनुको साटो आफूलाई संक्रमित बनाउनु नै मुनासिव ठानिन् । 

असोनेन्स ब्यान्डकी भोकलिस्ट हाना होरकाको आइतबार ५७ वर्षको उमेरमा निधन भएको उनका छोरा जान रेकले जानकारी दिए । 

क्रिसमस अघि उनका छोरा र श्रीमान् कोभिडद्वारा संक्रमित भएका बेला उनले आफूलाई जानीजानी संक्रमित बनाएको उनका छोरा रेकले रेडियो कार्यक्रमसँग भने । 

‘उनले  भ्याक्सिन लगाउनुको साटो हामीसँगै साधारण तरिकाले बस्ने निर्णय गरिन्,’ उनले सोमबार भने । 

उनको मृत्यु हुनु दुई दिनअघि उनले सोसल मिडियामा भनेकी थिइन्, ‘म बाँचे... यो साह्रै गाह्रो थियो ।’

‘त्यसैले अब थिएटर, साउना, कन्सर्ट.... र समुद्रको यात्रा हुनेछ,’ उनले थपेकी थिइन् । 

रेकका अनुसार उनकी आमाको निधन स्थानीय रुपमा चलिरहेको खोप विरुद्धको अभियानका कारण भएको हो । यो अभियानका नेताहरुले उनकी आमालाई खोप लगाउन हुँदैन भनेर विश्वस्त पारेका कारण आफूहरुले यस्तो परिणाम भोग्नुपरेको उनले बताए । 

‘उनलाई प्रभावित पार्ने ती निश्चित व्यक्तिबारे पनि मलाई थाहा छ । तर उनले परिवारका सदस्यलाई भन्दा अपरिचितलाई विश्वास गरेकोमा भने दुःख लाग्छ,’ रेकले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप