ad
x

बजारको तराजुमा साहित्यको मूल्य

person explore access_timeमाघ ६, २०७८ chat_bubble_outline0

बजार   
आजभोलि जे चल्छ, बजारअनुसार चल्छ । ब्यापारी त पैसाका पछि लाग्ने नै भई गए । यो बजार, व्यापारी र पैसालाई गाली गर्ने भनेको पनि पैसाको छेउछाउ पहुँच नहुनेहरूले नै हो । आज बजारलाई गाली गर्नेहरू भोलि आफैं बजारको खेलाडी बन्न सक्छन् । त्यसैले त विचित्र छ बजार । बजारका आधारभूत तत्वभित्र उत्पादक, वस्तु र उपभोक्ता पर्छन् । तर यी तीन तत्वलाई परिचालित गर्ने मुख्य नयाँ तत्वका रुपमा व्यापारी (अझ अगाडि बढेर दलाल) हरूको बिगबिगी हुनाले आजको बजार विकृत हुन पुगेको छ । बस्तु उत्पादकसँग वस्तु उपभोक्तालाई सोझो सम्बन्ध स्थापित गराउन बाधा उत्पन्न गराउँदै नाफाको मोटो भाग आफूतिर पारेर उत्पादकलाई कम मूल्य दिलाउने अनि उपभोक्तालाई बढी मूल्यभार पार्ने दलाल व्यापारीकरणले आजको बजारलाई विकृत बनाइदिएको छ । 


उत्पादक पनि आफ्नो परल मूल्य नपाएर पीडित बन्ने उपभोक्ता पनि महङ्गो मूल्यभारले थिचिने तर विना लगानी ठूलो नाफा भने बीचको दलालको भागमा पर्ने मुख्य विशेषता नै आजको बजारको हो । उत्पादकको पसिनाको अवमूल्यन, उपभोक्ताको मूल्यको अवमूल्यन आजको बजारको मूल्य हो । खुल्ला अर्थतन्त्र र विश्व व्यापारीकरणका नाममा ब्राण्डका लागि समेत उपभोक्ताले ठूलो मूल्य चुकाउनु पर्ने दिन आएको छ । इच्छित वस्तुका लागि भन्दा पनि उक्त वस्तु राखिएको प्याकेज र बोत्तलका धेरै मूल्य तिर्नुपर्ने बजारमा छौँ हामी । स्थानीय बजारमा दलाल व्यक्तिका रुपमा प्रस्तुत हुन्छ भने अन्तराष्ट्रिय बजारमा दलाल ब्राण्डका रुपमा प्रस्तुत हुँदो रहेछ । 



त्यसैले हिजोका दिनमा जस्तो स्थानीय हाटबजारमा वस्तु विनिमय गरेर वा डोकाबाट फिंजाइएका सामानहरू छानी–छानी किन्ने बजार रहेन आज । बरु स्तरीय स्टोरहरूबाट आकर्षक साज सज्जा र ब्राण्डमा लोभिएर सामान किन्ने बजार रहेको छ आज । जसले उपभोक्तालाई होइन, व्यापारीहरूलाई नाफा कमाइदिने  केवल उपभोक्तका रुपमा मात्र बुझ्छ । त्यसैले आजको बजार यति निर्मम छ कि जसले नाफा–घाटाको हिसाब मात्र जान्दछ । मानवीय संवेदना, दुःख, सुख, आत्मीयता, हार्दिकता, सन्तुष्टि भन्ने कुरा त पैसाबाटै पाउन सकिन्छ भन्ने भ्रम बेच्दछ । 



तराजु
बजारमा तराजुको ठूलो महत्व हुन्छ । तराजुको एक पल्लामा वस्तु र अर्को पल्लामा पैसा राखेर मानवतामाथि खिल्ली उडाइएको हुन्छ बजारमा । त्यसैले त बजारको मुख्य हतियार नै तराजु हो, जसको माध्यमबाट हरेक बस्तुको मूल्य निर्धारण हुन्छ । वस्तुको नापतौल गरेर मूल्य निर्धारण गरुञ्जेल त मानव सभ्यताले तराजु स्वीकार गरेकै थियो । 



तर आजको बजारसम्म आइपुग्दा मान्छेलाई समेत वस्तुकै रुपमा बुझ्दै मान्छेका हाड, मासु, रगत, सास मात्र होइन, सुख, दुःख, आँसु, रोदन, हार्दिकता, संवेदना लगायतलाई समेत तराजुले नै जोख्न थाल्यो । तराजुले नै मूल्य तोक्न थाल्यो र पो आजको बजार विकृत बन्न पुग्यो । मानिसका हरेक आवश्यकता र इच्छा तराजुमा जोखेरै पाउन सकिन्छ भन्ने भ्रमले आजको बजार तराजुको एक पल्लामा पैसा र अर्को पल्लामा मानवीय संवेदना राखेर जोख्न थाल्छ । अनि मूल्य निर्धारणमा हार्दिकता र बौद्धिकता एकातिर फालिएर तराजुहरू हाबी हुन थालेका छन् । 



साहित्य
मानवीय संवेदनाबाट उत्प्रेरित हुने भाषिक कला नै साहित्य हो । विचार पक्षलाई हार्दिकतासँग घोलेर विभिन्न शैलीका माध्यमले जीवनको सन्दर्भलाई अभिव्यक्त गरिने भाषिक कला नै साहित्य हो । साहित्यमा कला हुन्छ, विचार हुन्छ र खास शैली हुन्छ । त्यसभन्दा बढी यसमा जीवन हुन्छ । जिन्दगीले जिन्दगीसँग गरेको मीठो संवाद साहित्य बनेर आएको हुन्छ । साहित्य मुस्कानमा फुल्छ, आँशुमा ओइलाउँछ, दुःख कष्टमा पनि बीउ बनेर फेरि उम्रने साहस दिन्छ । त्यसैले त सुखको अनुभूति हुन्छ । उज्यालोको आभा भेटिन्छ । दुःखको अन्धकारपछि सुखको बिहानी उदाउने आशा हुन्छ । जीवन यात्राको कठिन उकालोपछि सफलताको शिखर पुगिने अपेक्षा हुन्छ । सुख, दुःख, हाँसो, रोदन, क्रान्ति, प्रेम, फूल, काँडा, उकाली, ओराली आदि जे जे विषय भए पनि साहित्य अनन्तः जिन्दगीको मुस्कान हो । 



तर साहित्य जब व्यापारीको नापतौलको विषय बनिदिन्छ, तब हृदयको अभिव्यक्ति होइन, बजारको बिकाउ वस्तु मात्र बन्न पुग्ने रहेछ । बोत्तल भित्र के छ ? भन्दा पनि बोत्तल कस्तो छ भन्ने रुपवादी दृष्टिकोणमा चलेको आजको बजारले साहित्यलाई पनि साजसज्जा र होहल्लाकै आधारमा स्तर निर्धारण गरिदिन थालेको छ । 



साहित्यिक मूल्य
साहित्यिक मूल्य मूलतः कला र विचारमा बाँचेको हुन्छ । आम पाठकलाई मनोरञ्जन र ज्ञान सम्प्रेषण गर्ने उद्देश्यमा नै साहित्यको मुख्य उद्देश्य केन्द्रीत हुन्छ । कला मनोरञ्जनसँग र विचार ज्ञानसँग नजिक हुन्छ । कलाका दृष्टिले उत्कृष्ट तर विचारविहीन सिर्जना पनि कागजको फूल जस्तो मात्र हुन्छ भने विचारले खँदिलो तर कलाविहीन सिर्जना पनि सिर्जना नबनेर दस्तावेजमात्र बन्न पुग्दछ ।



त्यसकारण सजिलो गरी भन्नुपर्दा कला र विचारको भाषिक संयोजनले नै साहित्यलाई उत्कृष्ट बनाउँछ । साहित्यको उत्कृष्टता नै साहित्यिक मूल्य हो । तर्क गर्ने कतिपयले पाठकको रुचिमा पर्न सक्नु नै साहित्यिक मूल्य हो भन्दै पाठकलाई केन्द्रमा राखेको पाइन्छ भने कतिपयले बजारमा बढी चल्नु नै साहित्यिक मूल्य हो भन्दै बजारलाई केन्द्र बनाएको पाइन्छ । तर सत्य के हो भने कला र विचारको उत्कृष्ट संयोजन रहेको जुनसुकै कृति पनि पाठकको रुचिमा पर्छ, बजारमा माग बढ्छ । त्यसकारण मुख्य साहित्यिक मूल्य भन्नु कला र विचार हो । मुख्य साहित्यिक उद्देश्य आनन्द र ज्ञान हो । 

तर आजभोलि साहित्यिक मूल्य कला र विचारका आधारमा होइन बजारका आधारमा निर्धारण गर्न थालिएको छ । बाहिरी कभर कस्तो बनेको छ ? फ्रन्ट र डिजाइन युनिक छ कि छैन ? कुन प्रकाशकले बजारमा ल्याएको हो ? पत्रपत्रिकामा हो–हल्ला र कभरेज के कसरी भएको छ ? विमोचन कहाँ कसरी गरिएको हो ? विमोचन कार्यक्रममा को कस्ता, के कति मानिस आए ? सेलिब्रेटीले प्रशंसाका फूल थुङ्गा कति खर्चिए ? कुन समूह र जातको मानिसले लेखेको हो ? साटफेरिमा नै भएपनि कति पुरस्कार पाइयो ? कोटाका आधारमा  नै भएपनि पाठ्यक्रममा पर्याे, परेन ? कार्यक्रम, जमघट र भीडहरूमा कस्तो हल्ला छ ? जस्ता यावत पक्ष साहित्यका मूल्य निर्धारक तत्व बन्न पुगेका छन् । कला, विचार, विषय, शैली जस्ता आधारभूत मूल्य निर्धारक तत्त्वहरू त बाहिरी गाताले नै छोपिएका छोपियै हुन थाले ।

समीक्षकहरू पुरै कृति पढ्न नभ्याएको अन्तर्य मसिनो स्वरले प्रष्ट्याउँदै गाताको पछिल्लो भाग र लेखकको अनुहारकै भरमा कृतिको मूल्य निर्धारण गरिदिन्छन् । समीक्षाका पानाहरूमा पनि लेखक महिमा गान र कृतिको विज्ञापन गरेरै कृतिलाई सर्वोत्कृष्ट ठहराइन्छ । अनि बजारले पनि साहित्यिक कृतिलाई केवल वस्तुका रुपमा आकर्षक विज्ञापनका साथ पाठकका हात–हातमा पुर्याउँछ । र, बढी बिकाउ भएकाले यस वर्षकै उत्कृष्ट कृतिका रुपमा घोषणा गरिदिन्छ । बजारिया होहल्लाले नै सेलिब्रेटी लेखक बनाइदिने भएपछि अध्ययन र साधनामा भन्दा बढी वस्तुको लगानीमा ध्यान दिन थाल्छौँ । पुस्तकालयका कुनामा भन्दा बढी रेष्टुरेन्टका कुनामा भेटिन थाल्छौँ । भावनाका खेस्राहरूलाई सुधार गर्ने भन्दा नाम चलेका प्रकाशकलाई रिझाउन बढी समय दिन्छौँ । अनि यसैबाट साहित्यिक मूल्यको खोजीमा लागिरहेका हुन्छौँ । 

अर्कोतिर निरन्तरको साधना र अध्ययनबाट सिर्जिएका उत्कृष्ट रचनाहरू प्रकाशनको सामर्थ्य नभएर पाण्डुलिपीमै थन्किरहेका हुन्छन् । जोरजाम गरेर प्रकाशन भइहाले पनि पसलको डिस्प्लेमा नआएटर कुनामा मिल्किरहेका हुन्छन् । साहित्यिक बजारमा चल्न नसकेर कमसल माल बनिरहेका हुन्छन् । 

खुला अर्थतन्त्रको नाममा सबै कुरा बजारलाई छोडिदिँदा अन्य सेवामूलक क्षेत्रमा गम्भीर असर परेजस्तै कला साहित्यको क्षेत्रमा पनि गम्भीर नकारात्मक असर पर्ने निश्चित छ । बजारले संवेदनालाई समेत बस्तुका रुपमा व्यापार गरिरहेको सन्दर्भमा संवेदनाको कलात्मक उपजका रुपमा रहने  साहित्यलाई पनि बिकाउ वस्तुका रुपमा मात्र बुझ्ने निश्चित छ । 

बजारले मानकीकरण गरेका कृतिहरूलाई नै उत्कृष्ट कृति मानेर पढ्नुपर्ने बाध्यतामा रहने पाठकहरूले उत्कृष्ट रचना छान्न नै नपाउने अवस्था पनि आउन सक्छ । अझ कला साहित्यप्रति राज्यको गैरजिम्मेवार नीति बढ्दै जाँदा यो समस्या झन् बढ्न पुग्छ । सबै प्रकाशकले झुर किताबलाई नै उत्कृष्ट देखाएर बेचेका छन् भन्ने पनि होइन । तर बजारको तराजुलाई मात्र साहित्यिक मूल्य निर्धारणको आधार बनाइयो भने यो समस्या बढ्दै जान्छ नै । त्यसकारण साहित्यको मूल्य बजारको तराजुले होइन, साहित्यिक कला र विचारले निर्धारण गरिदिनु पर्दछ । यसका लागि लेखक, प्रकाशक र राज्यको संयन्त्र मात्र होइन, पाठक पनि उत्तिकै जिम्मेवार हुनु आवश्यक छ । 

लेखक मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाका उप–प्राध्यापक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X