शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरको कोठाभित्र बालबालिका कति सुरक्षित  ?

सावधान, सामाजिक सञ्जालले निम्त्याउला दुर्घटना
बिहीबार, ०६ माघ २०७८, १६ : २२
बिहीबार, ०६ माघ २०७८

–काभ्रेपलाञ्चोकका २१ वर्षीय सुजन श्रेष्ठ बुढानीलकण्ठकी एक १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाटनबाट पुस ३० गते पक्राउ परे । करिब २ महिना अघि फेसबुकमा उनले सौगात महर्जनको नामबाट ती बालिकालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । घनिष्टता बढ्दै गएपछि बालिकासँग अश्लील संवाद गर्ने क्रमसँगै नग्न भिडियो कल गर्न बाध्य पारेका थिए । र, पछि तिनै फोटो र भिडियो भाइरल बनाइदिने धम्की दिएर करणी गरेको पाइएको छ । अश्लील कुराकानी गर्दै ब्ल्याकमेल गर्ने उद्धेश्यले उनले फेसबुकमा ५ वटा फेक आइडि बनाएको पाइएको छ ।

–काठमाडौँकी १५ वर्षीया दीक्षा कार्की (नाम परिवर्तन) एक युवकसँग इन्स्टाग्राममार्फत् साथी बनिन् । सुरुमा सामान्य कुराकानी भयो, तर एकदिन एक्कासी युवकले दीक्षालाई अश्लील गालीसहितको म्यासेज पठाए । उनलाई पनि रिस उठ्यो र युवकलाई अश्लील गाली गर्दै म्यासेज पठाइन् । त्यसलगत्तै युवकले दीक्षाले पठाएका ती सबै अश्लील गालीगलौजका स्क्रिनसट पठाउँदै भन्यो, ‘अब यो सबै तिम्रो परिवार, प्रिन्सिपल र साथीहरूलाई पठाइदिन्छु ।’ दीक्षाले ती युवकसंग त्यस्तो नगरी दिन अनुनय विनय गरिन् ।

युवकले ब्ल्याकमेल गर्दै नाङ्गो फोटो पठाउन भन्यो । विस्तारै हस्तमैथुन गरेको भिडियो पठाउन भन्दै धम्काउन थाल्यो । युवकले दीक्षाको अश्लील भिडियो पोर्न साइटमा अपलोड गरिसकेको भन्दै त्यसको स्क्रिनसट पनि दीक्षालाई पठाउन थाल्यो । र, भेट्न नआए त्यो पब्लिक गरिदिने भन्दै धम्की दिन थाल्यो । त्यसको तनावले उनलाई डिप्रेसन भयो । दीक्षाको गतिविधि शंकास्पद देखेर भाउजूले निगरानी बढाइन् । त्यसपछि बल्ल दीक्षाले आफू यौनशोषणमा परेको खुलाइन् । 

यी केही प्रतिनिधि घटना हुन् । यस्तो हिंसामा बालिका मात्र नभएर, बालकहरु पनि परेका छन् । हाम्रा बालबालिका घरको कोठाभित्र छन् भन्दैमा उनीहरु सुरक्षित छन् भन्ने छैन । सूचना प्रविधिको विकासले अहिले बालबालिकालाई इन्टरनेटबाट टाढा राख्न सकिदैन । तर इन्टरनेटले अश्लील सामग्रीमा पहुँच बढाउन असीमित सम्भावनाको ढोका खोलेको छ । बालबालिकाले इन्टरनेटको प्रयोग गर्दा अनुगमनको कमीका कारण दुराचारीहरु सल्बलाएका छन् । बालबालिकाको शोषण गर्ने हेतुले दुराचारीहरुले सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाएका हुँदैनन् । जबकि सामाजिक सञ्जाल धेरै हदसम्म ‘फेक’ हुन्छ । 

लाखौं अश्लील वेबसाइट

बालबालिकाहरुका लागि काम गर्ने संस्था सिविन नेपालको रिपोर्टअनुसार इन्टरनेटमा एक लाख भन्दा बढी बाल अश्लीलताका वेबसाइट सञ्चालनमा छन् । किशोरहरू माझ अनलाइनमा यौन व्यावहार सामान्य बन्दै गइरहेको छ । लत लागेपछि कतिपयले जानाजानी यस्ता अश्लील वेबसाइट नियमित हेर्छन् । यसरी उमेर नपुग्दै यौनसम्बन्धी गलत सूचनाले बालमष्तिकमा गहिरो प्रभाव पार्छ । 

मोबाइलका विभिन्न एपमा राखिएको यौन क्रियाकलाप, समस्या र समाधानका सामग्री ‘एडल्ट’का लागि राखिएको हुन्छ । तर त्यो ७/८ वर्षकै बालबालिकाको पहुँचमा पुग्छ । पहिले १७/१८ वर्षको उमेरमा हुने शारीरिक परिवर्तन अहिले ९/१० वर्षकै उमेरमा विकास भएको मनोचिकित्सक डा. प्रदीप पाण्डे बताउँछन् । अहिलेको किशोरहरूमा कति छिटो वैंश आएको भनेर हामी प्वाक्क भन्छौ । डा. पाण्डे भन्छन्,‘हामीले खाने विषाक्त खानाले उमेर भन्दा अघि नै बालबालिकामा शारीरिक, मानसिक परिपक्वता आएको छ ।’   

 


 

हिंसामा पर्नेको लक्षण

इन्टरनेटमार्फत् हिंसामा परेका बालबालिकामा तत्काल परिवर्तन देखिन्छ । जस्तै, दुःखी निराश  हुने, ससानो कुरामा झर्किने, खाना नखाने, आँखा जुधाएर कुरा नगर्ने जस्ता संकेत देखिने पौडेल बताउँछिन् । यस्तो अवस्थामा अभिभावकले गाली नगरी सोध्नुपर्छ । गाली गर्ने, पिट्ने, दोष थुपार्ने जस्ता काम गर्यो भने उनीहरुले डरले सत्य कुरा लुकाउँछन् । पीडाले एक्लै पिल्सिएर बस्छन् र अन्तिममा डिप्रेसनमासमेत जान सक्ने हुन्छ । 

मनोविद् पौडेलका अनुसार इन्टरनेटमा हुन सक्ने हिंसाको विषयमा छलफल गर्नुपर्छ, केही भएमा पुलिसमा खबर गर्न सकिन्छ भनेर सिकाउनुपर्छ । उनीहरुलाई सम्भावित हिंसाबारे लड्न सकिने आत्मबल दिनुपर्छ । 

अभिभावक पनि दोषी

कुन उमेरदेखि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने भन्ने सरकारको कुनै निश्चित मापदण्ड छैन । अभिभावकले पनि छोराछोरीलाई फुक्काफाल छाडेका छन् । अभिभावक नै इन्टरनेटको लतमा छन्, उनीहरु बालबालिका भुलाउन मोबाइल थमाइदिन्छन् । जबकि छिमेकी राष्ट्र भारतमै पनि सरकारले टिकटक बन्द गरेको छ । यो समस्याको समाधान समयमै खोजिएन भने भविष्यमा झनै डरलाग्दा साइबर हिंसाबाट बालबालिका पीडित हुने डा पाण्डे  बताउँछन् ।  

कोभिडका कारण बालबालिकाको अनलाइन कक्षामा अनिवार्य सहभागिताले इन्टरनेटको पहुँच सहजै छ । तर अभिभावकहरुले कक्षा सकिएपछि आफ्ना बच्चाहरुले मोबाइलमा के कस्ता साइट हेर्छन् त्यस्तो कुरामा ध्यान नदिएको मनोविद् सनम पौडेल बताउँछिन्  । उनका अनुसार बालबालिकाको लागि स्क्रिन समय फिक्स गर्दिनुपर्छ, उनीहरुले के कस्तो साइट चलाएका छन्, त्यो निगरानी राख्नुपर्छ । आफ्नो कामबाट फुर्सद निकालेर अभिभावकले समय दिनुपर्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी बालबालिकाले इन्टरनेटको प्रयोग गर्दा अभिभावकले मोनिटर गर्नुपर्ने बताउँछन् । अपराधको ट्रेण्ड र तरिकामा धेरै परिवर्तन आइसकेको उनको भनाइ छ । ‘मेरा छोराछोरी कोठाभित्रै छन् भनेर ढुक्क हुन सकिने अवस्था छैन । बालबालिकाहरु साइबर हमला, पोर्नोग्राफी आदिको सिकार भइरहेका हुन सक्छन् भने कतिपय अपराधतिर लागेका पनि हुन सक्छन्,’ एसएसपी गिरी भन्छन्, ‘जुन बालबालिका घरभित्रै कोठामा चुक्कुल लगाएर बस्छन्, उनीहरुमाथि थप निगरानी राख्नुपर्ने हुन सक्छ ।’ उनीहरुले डिजिटल डिभाइस र इन्टरनेटमा के गरिरहेका छन् भन्नेबारे अभिभावकले जानकारी राख्नैपर्ने उनको भनाइ छ ।

एसएसपी गिरी अगाडि भन्छन्, ‘बालबालिकाले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप आदि चलाउन जान्यो भनेर अभिभावक मक्ख हुने अवस्था छैन । बरु सकेसम्म बालबालिकालाई यस्ता सामाजिक सञ्जाल प्रयोग गर्नै दिनु हुन्न । दिनै परे अभिभावकको उपस्थितिमा मात्रै चलाउन दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप