शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कोरोना संक्रमणमा नयाँ रेकर्ड, धमाधम परीक्षा स्थगन

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय
बिहीबार, ०६ माघ २०७८, २१ : ३५
बिहीबार, ०६ माघ २०७८

आज मिति २०७८ साल माघ महिनाको ६ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य  घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् ।  माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

बिहीबार कोरोना संक्रमणमा नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा १२३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  यो हालसम्मकै धेरै संक्रमित संख्या हो । यसअघि बुधबार देशभर ११३५२ जनामा संक्रमण पुष्टि भएको थियो । हाल देशभर सक्रिय संक्रमित ५७ हजार बढी छन् । जसमध्ये आधाजसो संक्रमित काठमाडौंमा छन् । 

कोरोना संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । 

​यता लोकसेवा आयोगले पनि कोरोना महामारीका कारण माघ मसान्तसम्मका सबै पूर्व निर्धारित लिखित परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत माघ ११ देखि माघ मसान्तसम्म तय भएका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो । यस्तै फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पूनःतालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ । लिखित बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु भने यथावत रुपमा सञ्चालन हुने आयोगको भनाइ छ।  

यसैगरी काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । तर पूर्वाञ्चल विश्वविद्यालयले हालसम्म परीक्षा स्थगन गरेको छैन । 

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ ।  कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । 

५​. मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन
मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।
बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ । 

६.शीर्ष नेताबीच भेटवार्ता
तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

भिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । 
अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निष्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

८. ​नेता देव गुरुङको भनाइ
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् । 
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापिकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताए । 

९. मन्त्रीबाट सिके राउतलाई ज्यान मार्ने धम्की
जनता समाजवादी पार्टी नेपालकी कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले अर्कोे गौर घटना दोहोरिन सक्ने भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । माघ ५ गते मधेसमा मनाइने बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले राउतलाई यस्तो धम्की दिएकी हुन् । उनले रौतहट ऐतिहासिक जिल्ला भएको भन्दै आफूहरुलाई भाटा नदेखाउन चेतावनीसमेत दिइन् ।

१०.​नेप्से परिसूचक ३३.०३ अंकले वृद्धि
साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहिबार ३३ अंकले उकालो लागेको छ । पछिल्लो सातामा दुई लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको थियो । तर,  साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।

आज ककारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । जसमा आज १७९ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ ।

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ति नै हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्ने बताएका छन् । बिहीबार ट्विटमार्फत महामन्त्री थापाले स्थानीय तहलाई रिक्त राखेर संघीय निर्वाचन हुननसक्ने बताएका हुन् ।

काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।
बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस  भएको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि   प्रक्रिया शुरु गरेको प्रहरी प्रवक्ता विष्णु केसीले बताए ।  

नेपाल क्रिकेट संघले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ ।
अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् । क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप