
सिफारिस लिन ६ घण्टा हिँड्नुपर्ने बाध्यता

जिल्लामा अझै पनि त्यस्ता स्थान छन् जहाँ सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था छैन । देवघाट गाउँपालिका–२ का बासिन्दाले वडा कार्यालयमा पुगेर सेवा लिन छ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ ।
वडाका सबै बासिन्दालाई पायक पर्ने गरी सोही वडाको ब्यागनमा वडा कार्यालय राखिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले लामो समय हिँडेर सेवा लिनुपर्ने अवस्था छ । मास्दीघाट, खाल्टे, कालीको तीर, छेराङ डि डाँडा, घण्टाचुलीलगायतका बासिन्दाले वडा कार्यालय पुग्न मात्रै करिब ६ घण्टा हिँड्नुपर्छ ।
सडकको सुविधा भए पनि सवारी साधान त्यति नचल्दा हिँडेरै वडा कार्यालय जानु र आउनुपर्दा कठिनाइ भोग्नुपरेको कालीको तीरबाट सेवा लिन आउनुभएका खमबहादुर मल्लले जानकारी दिए । “आफ्नो सवारी साधन हुनेलाई त केही सहज हुन्छ तर आफ्नो साधन नहुनेले दिनै बिताएर सेवा लिन जान बाध्य भएका छौँ”, उनले भने ।
कुनै सामान्य सिफारिसका लागि पनि लामो समय खर्चिनुपर्ने अवस्थाले सेवाग्राहीलाई सेवा लिन सहज नभएको उनले बताए । वडाका प्रायःजसो बासिन्दालाई वडाबाट प्रदान गरिने सेवा लिनका लागि एक दिन खर्चिनुपर्ने यहाँका मानिसका लागि सामान्य जस्तै बनेको वडाध्यक्ष पोलबहादुर आलेले बताए ।
त्यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उनले भने, “एक दिन वडा कार्यालयबाट कागजात मिलाएर अर्को दिन जिल्लामा आएर काम सल्टाउने गरेका छन् ।” वडा कार्यालयबाट योजना निर्माणसम्बन्धी, जनजाति प्रमाणित, नागरिकता प्रमाणपत्र, विवाहित, अविवाहित, जन्मदर्ता मृत्यु दर्ता, ठेगाना प्रमाणितलगायत सेवा प्रदान गर्ने गरिएको उनले बताए ।
साविकको गोटा गाविसको वडा नं ४, ५, ६, ७ र साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ का दुर्गम १० वटा वडालाई हालको देवघाट गाउँपालिका–२ बनाइएको उनले जानकारी दिए । वडा कार्यालयमा विद्युत्को पहुँच पुग्न नसकेका कारण एक किलोवाट सोलार पावरको प्रयोग गरी कार्यालयबाट सेवा प्रदान गरिँदै आइएको वडाध्यक्ष आलेले बताए ।
उनका अनुसार दैनिक ४० देखि ५० जनासम्म सेवाग्राही कार्यालयमा सेवा लिन आउने गरेका छन् । उक्त वडामा ६०० घरधुरी बासिन्दा रहेको सो वडा कार्यालयले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ