शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीमा कोरोना पुष्टि भएपछि शुक्ला गण्डकीमा अत्यावश्यक बाहेकका सेवा बन्द

शुक्रबार, ०७ माघ २०७८, १३ : ४६
शुक्रबार, ०७ माघ २०७८

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णयअनुसार नगरपालिकाबाट हुने अत्यावश्यकबाहेकका सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ । 

कार्यालयमा कार्यरत १६  विभिन्न तहका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरपालिकामा तत्काल उपलब्ध कर्मचारीबाट आलोपालो प्रणालीमार्फत अत्यावश्यक सेवा प्रदान गरिनेछ ।

नगरपालिका अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र इकाइमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह सञ्चालन रहने उनले बताए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार माघ ७ गतेदेखि सरकारी कार्यालयबाट प्राप्त हुने सेवा लिन जाँदा अनिवार्यरुपमा खोप कार्ड देखाउने व्यवस्था भएबमोजिम नगरपालिका र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र सेवा इकाइबाट सेवा लिन आउँदा अनिवार्य खोप कार्ड साथमै लिइ आउन नगरपालिकाले अनुरोध गरेको छ । 

शुक्लागण्डकी नगरपालिकाभित्र खोप नलगाएका व्यक्तिको खोज तथा पहिचान एवं खोप व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था महिला स्वयंसेविकासँग समन्वय गरी लगत तयार गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ । 

नगरपालिकाले एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिको पीसीआर परीक्षण प्रत्येक हप्ताको सोमबार खैरेनीटार स्वास्थ्य चौकीबाट सञ्चालन गर्ने र कोभिड–१९ को लक्षण भएका व्यक्तिको निःशुल्क एन्टिजेन परीक्षण प्रत्येक दिन खैरेनीटार स्वास्थ्य चौकीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । 

कोभिडबाट सङ्क्रमितलाई स्वास्थ्यमा जटिलता देखिएमा थप उपचारको व्यवस्थापनका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तथा प्रादेशिक कोभिड अस्पतालसँग समन्वय तथा सहकार्य गर्ने, होम क्वारेन्टिन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा निजको स्वास्थ्यको अवस्थाका सम्बन्धमा रिपोर्टिङ तथा अनुगमन गर्न नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सम्मिलित द्रुत प्रतिकार्य समूह गठन गरिएको छ । 

यसैगरी नगरपालिकाले वडा नं ४ मा रहेको खैरेनीटार स्वास्थ्यचौकीको दोस्रो तल्लामा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप