शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मास्क  लगाउँछु

शनिबार, ०८ माघ २०७८, ०८ : ३९
शनिबार, ०८ माघ २०७८

नौँ  महिना  दुःख  कष्ट  पीडा  सहेर  हाँसी  खुशी  हुँदै
मलाई जन्म दिने  मेरी  आमाको लागि  मास्क लगाउँछु
मलाई  हुर्काउन र मेरो  भविष्य  बनाउन  भनी आफ्नो
खुशी र सुख बेची दुःख गरेका मेरा बा को लागि मास्क लगाउँछु ।

सानो छँदा मलाई ताते ताते भन्दै आफ्नो काखमा राखेर
खेलाएकी मेरी हजुरआमाको लागि मास्क लगाउँछु
हजुरबालाई देख्न न पाए पनि भगवानरूपी मेरा बालाई
जन्म  दिने  प्रति  सम्मान  स्वरुप  मास्क  लगाउँछु ।

छोरा आज हाम्रोमा मिष्ठान्न भोजन पाकेको  छ आजको खाना
यतै खाउँ है भन्दै माया गर्ने काकाहरूको लागि मास्क लगाउँछु
फोहर भएका कपडा ल्याउ धोई दिन्छु छोरा भन्ने, सानोमा बिरामी हुँदा
बोकेर अस्पताल पुर्याउने काकीहरूका लागि मास्क लगाउँछु ।

जेठाझैँ झगडा गर्नु हुन्न, सत्यको बाटो हिँड्नु पर्छ, जे पर्छ पर्छ
ठूलै मान्छे बन्नु पर्छ भन्ने ठूला बा र ठूली आमाको लागि मास्क लगाउँछु
भेट हुँदा सधै प्रगति भएको देख्न, सुन्न र सोचे, आँटेका काम
पूरा हुन भन्ने प्यारा फूपू र फुपाजुहरूका लागि मास्क लगाउँछु ।

लडाई, युद्ध, झगडा पर्दा लडाकुझैँ मेरा अगाडि पछाडि लाग्ने
मेरो प्राण प्यारा दाई भाईहरूको लागि मास्क लगाउँछु
तिहारको दिन मेरो निधार खाली अनि दिदी बहिनीहरूको
आँखामा आँसुको वर्षात् नहोस् भनी मास्क लगाउँछु ।

सुख दुःख अनि जिन्दगीमा आई परेका कठिनाईसँग लड्दै पड्दै
यो जुनी सँगै कटाउने अनि धन सम्पत्ति न हुँदा पनि साथ दिएर
सँगै  कमाउँला,  रमाउँला  भन्ने  सबैलाई  आफ्ना र आफन्तहरू
सम्झेर  माया गरी रहने मेरी  प्रियसीको  लागि  मास्क  लगाउँछु । 

अफ्ठेरो  काम  पर्दा  टुप्लुक्क  सघाउन  आई पुग्ने मेरा प्रिय
मामा  अनि  माइजुहरूको  लागि   मास्क    लगाउँछु
मेरो  प्रगति देखि  रिस  डाह  गर्ने  मेरा  शत्रुहरूले  पनि
मबाट  केही  राम्रा कुराहरू  सिकुन् भनी मास्क लगाउँछु ।

रात दिन आँधी बेहरी नभनी मलाई जति बेला नि सहयोग गर्न
तयार  हुने मेरा प्रिय साथीहरूका  लागि  मास्क  लगाउँछु
अँध्यारोबाट  उज्ज्यालोको बाटो देखाउने मेरा भगवानरूपी
प्यारा  गुरुबा–गुरुआमाहरूको  लागि  मास्क  लगाउँछु ।

मेरा समस्त आफन्त इष्टमित्र साथीभाइ देश तथा विदेशमा
भएका समस्त मानव जातिहरूका लागि  मास्क  लगाउँछु
मेरै कारण महामारीले कसैलाई केही हुन छुन नसकोस् भनी
आफू बाँच्न र अरूलाई बचाउनको लागि  मास्क लगाउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप