शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहको ढोग-भेट फर्काउन हिँडेको जिप दुर्घटना, एकको मृत्यु , ६ घाइते

शनिबार, ०८ माघ २०७८, १० : ०४
शनिबार, ०८ माघ २०७८

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ गुल्मीको अर्लाङ्गकोट ददल्का गाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडानम्बर– ९ अर्लाङ्गकोटको  उर्लेनी टोलबाट बेहुला बेहुलीसहित विवाहको खर–खर्जना बोकेर बाग्लुङको  हरिचौरस्थित  बेहुलीको माइती जाँदै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोट–९ कै ददल्कामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९  उर्लेनी टोलका ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा  गएराति मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसी माधव प्रसाद खरेलले जानकारी दिए । स्थानीय प्रचलन अनुसार  ढोग–भेट फुकाउनका लागि बेहुला बेहुलीसहित खर–खजना लिएर  हिँडेका थिए । मृतक विक बेहुलाका मामा रहेको जनाइएको छ ।

दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ ।  केहिको अवस्था सामान्य बन्दै  गएको डिएसपी खरेलले बताए ।  उर्लेनी गाउँकै सवारी चालक  २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र  ५४ बर्षीय  सन्तवीर विक गम्भीर घाइते भएका हुन् ।

बेहुला २० वर्षीय प्रकाश विक र  छिमेकी २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्रहरीले जनाएको छ । जिपमा ७ जना यात्रु सवार  थिए । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको  प्रारम्भिक अनुमान छ  । जिप सडकबाट करीब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप