ad
x
अन्तरवार्ता

आम मानिसले नेपाली भाषा साहित्यप्रति सद्भाव नै देखाएका छन् : प्राडा कृष्णप्रसाद घिमिरे

person explore access_timeमाघ ८, २०७८ chat_bubble_outline0

त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालको उच्च शिक्षा अध्यापन गराउने सबैभन्दा पुरानोमध्येको एक प्राज्ञिक थलो हो । त्रिवि नेपाली केन्द्रीय विभागमा नेपाली भाषा साहित्यबारे अध्ययन गर्न नेपाल, भारत, चीनलगायत विभिन्न मुलुकबाट विद्यार्थीहरू आउँछन् । तर विगत तीन वर्षदेखि कोभिड महामारीको असर विश्वविद्यालयमा पनि परेको छ ।


कोभिड, सेमेस्टर प्रणाली र अनिवार्य ८० प्रतिशत हाजिर हुनुपर्नेलगायत प्रावधानका कारण नेपाली भाषासाहित्य अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा कम हुँदै आएको देखिएको छ । नेपाली भाषासाहित्य अध्ययन गर्ने विद्यार्थी घट्नुका कारण, नियमित कक्षा तथा परीक्षा सञ्चालन कसरी हुँदैछ लगायत विषयमा नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेसँग गरिएको कुराकानी :



–कोभिडको महामारीमा नेपाली केन्द्रीय विभागले अध्ययन अध्यापन कसरी सञ्चालन गरिरहेको छ ?



अहिले माघ १५ गतेसम्मलाई जाडो बिदा छ । त्यसपछि पनि सङ्क्रमण बढिरहे अनलाइनमा नै जान्छ । अनलाइनमार्फत अध्यापन हुने व्यवस्था हुन्छ, गर्नैपर्छ ।



–सबै प्राध्यापकहरू अनलाइन प्रविधिमा दक्ष हुनुहुन्छ कि त्यसका लागि तालिमको व्यवस्था गर्नुहुँदैछ ?



नेपाली विभागमा सैद्धान्तिक पढाइ बढी र प्रयोगात्मक कम हुने शिक्षण पद्धति भएकाले त्यति धेरै समस्या छैन । तर पनि अनलाइन प्राध्यापन प्रविधिबारे सबैलाई थाहा नहुन सक्छ । त्यसका लागि त्रिविको आईटी शाखाले विभिन्न विभागका शिक्षक तथा विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालनबारे सूचना नै प्रकाशन गरेर निरन्तर तालिम दिइराखेको छ । स्नातकोत्तर तहका दोस्रो, तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीले तालिम लिसकेका छन्  । हामी पनि सहभागी भइसकेका छौँ । त्यसैले तुरुन्तै कक्षा सञ्चालन गर्न शिक्षकहरूलाई तालिमको आवश्यकता पर्दैन । कोही छुटफुट भएका शिक्षक तथा विद्यार्थीलाई आवश्यक पर्यो भने त्रिविले व्यवस्था गर्छ ।



सेमेस्टर प्रणाली लागू भएर नै घटेको त होइन । पहिले स्नातकोत्तर तहको अध्ययन थोरै ठाउँमा हुन्थ्यो । अहिले धेरै ठाउँमा हुन्छ । काठमाडौँ उपत्यकामा मात्र कीर्तिपुर, सरस्वती, त्रिचन्द्र, रत्नराज्य, पाटन, भक्तपुर, पशुपति क्याम्पस लगायत ७, ८ स्थानमा पढाइ हुन्छ ।



–स्नातकोत्तर तह प्रथम वर्षमा विद्यार्थी चाहिँ कति छन् ?



नेपालभरीमा कति विद्यार्थी भर्ना भए भन्ने तथ्याङ्क मानविकी सङ्कायको डिनको कार्यालयमा हुन्छ । प्रथम सत्रमा भर्ना भएका २२, २३ सय जना हुनुहुन्छ । केन्द्रीय विभागमा १५ जना हुनुहुन्छ । २५ जनाले प्रवेश परीक्षा दिएकामा २३ जनाले नाम निकालेको  र १५ जनाले मात्र भर्ना गर्नुभएको छ । 

–केन्द्रीय विभागमै यति थोरै भर्ना भएछन्, यो सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थी घटेका हुन् ?

सेमेस्टर प्रणाली लागू भएर नै घटेको त होइन । पहिले स्नातकोत्तर तहको अध्ययन थोरै ठाउँमा हुन्थ्यो । अहिले धेरै ठाउँमा हुन्छ । काठमाडौँ उपत्यकामा मात्र कीर्तिपुर, सरस्वती, त्रिचन्द्र, रत्नराज्य, पाटन, भक्तपुर, पशुपति क्याम्पस लगायत ७, ८ स्थानमा पढाइ हुन्छ ।

दोस्रो कारण, लोक सेवा आयोगले एक पत्र १०० पूर्णाङ्कको नेपाली अनिवार्य गरेको थियो । नेपाली भएकाले बुँदा टिपोट, टिप्पणी, विश्लेषण, तर्क राख्ने क्षमता लगायतका कुरालाई यसले समेट्थ्यो । त्यस्तै चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, स्नातक तहका सबै विषयमा नेपाली अनिवार्य थियो । तर देशको परिस्थिति र नीतिगत निर्णय लिने तहबाट हुने निर्णयले नेपाल परिचय विषयसमेत ती तहमा छैनन् । अरू धेरै मन्त्रालय र सङ्घ संस्थाहरूमा प्रशासनिक कर्मचारीहरूले धेरै मिहिनेत गरेर नेपाली लेखन सिक्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यस्ता कतिपय राज्यका नीतिगत कार्य र देशको परिस्थितिले गर्दा पनि केही मात्रामा विद्यार्थीको कमी चाहिँ भएको हो ।

तर यति धेरै प्लसटुहरू खुलेका छन्, तिनमा पनि नेपाली पढाउनु नै पर्यो । नेपाली सञ्चार माध्यमहरू पनि त्यतिकै खुलेका छन् । त्यसका लागि समाचार लगायत तयार पार्न पनि जनशक्ति चाहियो । निजामती सेवामा पनि यस विषयको ज्ञान बढी आवश्यक पर्छ । लोक सेवा परीक्षा उत्तीर्णको तथ्याङ्क हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेकै जनशक्ति निजामती क्षेत्र धेरै छन् । अरू ५, ७ वटा विश्वविद्यालय पछि खुलेका हुन् तर पनि २, ३ वर्षअघिको तथ्याङ्क हेर्दा यसैका विद्यार्थी बढी छन् ।

अर्को कारण, पहिले स्नातकोत्तर तहमा हाजिर अनिवार्य थिएन । अहिले ८० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ । अब अनिवार्य हाजिर नभएकालाई परीक्षा फारम भर्न दिइएको छैन । त्यसैले जोसँग समय छ, अलि मिहिनेत गरेर पढ्न चाहन्छ तिनीहरूले मात्र पढेका छन्, एक दुई महिना मात्र आएर पढेर परीक्षा दिन पाउने व्यवस्था छैन । यसले पनि विद्यार्थी भर्नामा केही कमी भएको हुनसक्छ ।

युवाशक्ति बेरोजगार भएर खाडी मुलुकलगायत अन्य देश जानुपर्ने अवस्था छ । देशमा कलकारखान कम खोलिने, शैक्षिक जागरणका क्षेत्रहरूका कमीले पनि विद्यार्थी सहभागिता कम भएको हो ।

बरु नेपाली भाषासाहित्य जति सबलीकरण, मजबुत र राम्रोसँग अगाडि बढाउनुपर्ने हो, त्यति अझै भइसकेको छैन । गर्नुपर्ने काम धेरै छन् ।

–अनिवार्य हाजिरी प्रणालीले त दुर्गममा गएर जागिर खानेहरूलाई त धेरै अफ्ठ्यारो पारेको रहेछ ? यसका लागि के विकल्प छ ?

दुर्गमतिर हुँदा जस्तो डोटी क्याम्पसमा डोटीमै छ, सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ लगायत क्षेत्रमा पनि स्नातकोत्तर त पढाइ हुन्छ नै । त्रिविले प्रत्यक्ष कक्षामा उपस्थित भएर पढ्न चाहनेलाई एमए खुलेको ठाउँमा गएर अध्ययन गर्ने व्यवस्था गरेको छ । साथै कक्षामा उपस्थित भएर पढ्न नपाउनेहरू, जागिर गर्नुपर्ने बाध्यता हुनेका लागि अनलाइनमार्फत अध्ययन गर्ने व्यवस्था त्रिविले गर्दै छ भन्ने सुनेको छु ।

–यसरी विद्यार्थी घट्नुमा नेपाली साहित्यप्रति सर्वसाधारणको चाख, अनुराग घटेको त होइन ?

अहिलेका नेपाली सञ्चारमाध्यम, साहित्य आदिलाई हेर्दा त्यस्तो देखिँदैन । जागिरकै लागि पनि नेपाली जान्नुपर्ने अवस्था छ । डाक्टर, इन्जिनियर कुनै ठाउँमा गएर उपचार, नाप नक्सा गर्न गाउँलेसँग कुरा गर्दा नेपाली नै बोल्नुपर्छ । यस्तो त जुनसुकै देशमा हुन्छ । चीनमा चिनियाँ, भारतमा हिन्दी, बेलायत र अमेरिकामा अङ्ग्रेजी आआफ्नो देशको राष्ट्रिय अस्तित्व, स्वाभिमान र पहिचानका कुराले यो स्वाभाविकै हो । अब हामीले जबरजस्ती रुपले यो कम हो, गरिन्नँ भनेर लग्यौँ भने त्यो छुट्टै कुरा हो । नत्र आम मानिसले नेपाली भाषासाहित्यप्रति सद्भाव नै देखाएका छन् । सबै व्यापारीहरूबाट, सञ्चार माध्यमबाट अथवा पढाइबाट कनै ठाउँबाट तिरष्कार गरेको फेला पारेको छैन ।

बरु नेपाली भाषासाहित्य जति सबलीकरण, मजबुत र राम्रोसँग अगाडि बढाउनुपर्ने हो, त्यति अझै भइसकेको छैन । गर्नुपर्ने काम धेरै छन् ।

–भारततिरबाट पनि त्रिविमा अध्ययनका लागि विद्यार्थीहरू आउने प्रचलन थियो, अहिले त्यो व्यवस्था के छ ?

अहिले पनि नेपाल सरकारले छात्रवृत्ति दिइराखेको छ । तर पहिलेको जस्तो धेरै विद्यार्थी आएका चाहिँ छैनन् । उक्त छात्रवृत्ति नेपालकालाई नदिने भएकाले नेपालका विद्यार्थीले पाउँदैनन् । भारतबाट आउनेलाई चाहिँ हामीले नै सिफारिस गरेपछि शिक्षा मन्त्रालयले दिन्छ । 

–कति छात्रवृत्ति दिने व्यवस्था छ ?

सुरुमा छात्रवृत्ति रमक थोरै थियो । ५ सय, हजार, पन्ध्र सय हुँदै अहिले मासिक ७ हजार पुगेको छ ।

–विद्यार्थीहरुलाई परीक्षामा कसरी सहभागी गराउँदै हुनुहुन्छ ?

पुस महिनामा नै धेरैजसो परीक्षा सकिएका छन् । केही परीक्षा बाँकी छन् । तिनका सम्बन्धमा माघ ९ गतेसम्मका भौतिक रूपमा उपस्थित भएर नै गर्ने र बाँकी स्थगित गर्ने भनेर सूचना आइसक्यो । थोरै सङ्ख्यामा परीक्षार्थी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न त्यति गाह्रो हुँदैन । अब केही ऐछिक विषय मात्र बाँकी छन् ।

–नेपाली केन्द्रीय विभागमा प्राध्यापन गराउने कतिजना हुनुहुन्छ ?

अहिले २२ जना कार्यरत हुनुहुन्छ, छ जना चाहिँ प्रशासन र कार्यालय व्यवस्थापनमा हुनुहुन्छ ।

नेपाली केन्द्रीय विभागले स्नातकोत्तर तह, एमफिल र विद्यावारिधि गरी ३ वटा कार्यक्रम सञ्चालन गरेको छ । अहिले स्नातकोत्तरमा प्रथम सत्र, तेस्रो सत्र र चौथो सत्रको पढाइ भइरहेको छ । दोस्रो सत्रका तेस्रोमा गएका छन् ।

अर्को दर्शनाचार्य (विद्यावारिधि)मा स्वतन्त्र र नियमित गरेर ४०–५० जना हुनुहुन्छ । एमफिलमा ७० जना नियमित र दोस्रो सत्र गरेर १०५ जना हुनुहुन्छ ।

–२२ जनाले स्नातकदेखि विद्यावारिधिसम्म अध्यापन गर्न भ्याउनुहुन्छ त ?

यसमा दुईवटा पेपर डिनको कार्यालयले आफैँ सञ्चालन गर्छ, पिएचडी मेथोडोलोजी रिसर्च र प्राज्ञिक लेखन । अरू विषयअनुसार नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र लगायत विभागलाई जिम्मा दिने व्यवस्था छ । त्यसका लागि डिन अफिसले नेपालभरीबाट सम्बन्धित विषय विशेषज्ञबाट पढाउँछ र बाँकी रहेका विषय विभागमा भएका प्राध्यापकहरूबाट पढाइ हुने गरेको छ । एमफिल चाहिँ प्राज्ञिक वरिष्ठताका क्रममा प्रोफेसर, रिडर सबैले पढाउनुहुन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X