बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘लभ स्टोरी’

आइतबार, ०९ माघ २०७८, १० : ३५
आइतबार, ०९ माघ २०७८

छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् । 

सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि विश्वास लाग्दैन । तर यथार्थ अलि फरक छ । प्रियंका गान्धीलाई रबर्ट वाड्रा नामक एक पुरुष १३ वर्षको उमेरमै मन परेको थियो । 
उता, रबर्ट पनि प्रियंकाको साधारणपनासँग मोहित भएका थिए । विस्तारै ती दुवैबीच कुराकानी बाक्लिँदै जान थाल्यो । प्रियंका पनि रबर्टप्रति आकर्षित हुँदै गइन् । यी दुईबीच विश्वास र आकर्षणको मात्रा यसरी वृद्धि हुँदै गयो कि, कुन बेलादेखि यिनले एकअर्कालाई प्रेम गर्न थाले दुवैलाई पत्तो भएन ।

राजनीतिक परिवार भएका कारण प्रियंकालाई अन्य मानिसले जसरी प्रेम गर्दै र कुनै पुरुषसँग ‘डेटिङ’ जाने छुट थिएन । त्यही कारण रबर्टले पनि आफ्नो प्रेमलाई गोप्य नै राखे । उनले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म चाहन्नथेँ कि, हाम्रो सम्बन्धबारे कसैले थाहा पाओस् । मानिसहरुले यो कुरा थाहा पाएमा अर्कै ढंगमा प्रचार गरिदिने सम्भावन अधिक थियो ।’

रबर्टले पहिलो पटक प्रियंकासँग प्रपोज गरेका थिए । तर त्यो प्रपोज कुनै उपहार दिएर वा अन्य तरिका अपनाएर गरिएको थिएन । दुवैजना बसेर आफ्नो सम्बन्ध र भविष्यका बारेमा गम्भीर वातचित गरेका थिए ।

यस सम्बन्धमा प्रियंकाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब मैले रबर्टसँग पहिलो पटक भेटेकी थिएँ, त्यसबखत म केवल १३ वर्षकी थिएँ । उनी मसँग त्यत्तिकै पनि भेटिरहन्थे, जसरी अन्य मित्रसँग भेट्थे । मलाई यही कुरा मन परेको थियो ।’

प्रियंकाका कतिपय साथी रबर्टका पनि साथी थिए, किनकि ती दुवै एउटै विद्यालयमा पढ्थे । ती दुईबीचको पहिलो भेट त्यस्तै ‘कमन फ्रेन्ड’को घरमा भएको थियो । प्रियंका र रबर्ट दिल्लीस्थित विद्यालयमा पढ्थे । रबर्ट व्यापारिक घरानाका थिए भने प्रियंका ठूलो राजनीतिक परिवारकी सदस्य ।

यी दुईबीचको प्रेम सम्बन्ध जति झाँगिँदै गए पनि सार्वजनिक होला भन्ने डर उत्तिकै थियो । मिडिया होस् या अन्य राजनीतिक दल, तिनले यो कुराको सुइँको पाएमा गलत प्रचार हुन सक्ने सम्भावना थियो । त्यसैले आफ्नो सम्बन्धबारे ती दुवैजना सचेत थिए । प्रेमलाई सही र उचित ढंगमा बुझ्ने समाज भारतमा बिलकुलै थिएन, त्यसको गलत प्रचार हुने भय ती दुवैजनालाई थियो ।

जब प्रियंकालाई रबर्टसँगको जिन्दगी सुखमय र सहज हुने विश्वास जाग्यो, तब उनले आफ्नो प्रेमबारे परिवारलाई जानकारी दिइन् । के मानिन्छ भने, सुरुमा त गान्धी परिवार प्रियंका र रबर्टको प्रेमप्रति खुसी थिएनन् । तर प्रियंकाले फिल्मी शैलीमा परिवारलाई मनाएकी थिइन् ।
उता, रबर्टका पिता पनि गान्धी परिवारसँग जोडिन तयार थिएनन् । तर विस्तारै उनी पनि आफ्नो पुत्रको प्रेमप्रति खुसी हुँदै गए । यसरी ती दुईबीच १९९७ मा विवाह भयो । अहिले त प्रियंका र रबर्ट एक पुत्र, एक पुत्रीका मातापिता भइसकेका छन् । 

बालबच्चाको हेरचाहमा अधिक समय प्रियंकाले दिने गरेको रबर्ट बताउँछन् । आर्थिक भारको जिम्मेवारी रबर्टले लिएका छन् । एक व्यापारिक घरानाको सदयस्य भएर पनि रबर्टलाई फजुल खर्च पटक्कै मन पर्दैन । 

रबर्ट निकै फिट रहन्छन्, उनी जिमका साथै अन्य एक्सरसाइज र मर्निङवाक अनि साइक्लिङ पनि गर्छन् । रबर्टलाई मोटरसाइकल र लग्जरी कारमा निकै रुचि छ । २०११ डिसेम्बरमा एक अंग्रेजी अखबारले उनलाई ‘बेस्ट डे«स्ड म्यान’को उपाधि दिएको थियो । रबर्ट गल्फ खेलमा पनि त्तिकै रुचि राख्छन् । 


भारतमा विधानसभा निर्वाचन संघारैमा आएको छ । यही कारण पनि वीजेपी, कंग्रेस र अन्य दलका महत्वपूर्ण नेताबारे यतिखेर त्यहाँ चर्चापरिचर्चा चलिरहेको छ । प्रियंका उत्तरप्रदेशबाट मुख्यमन्त्री पदमा उम्मेदवार बन्ने चर्चा पनि उत्तिकै चुलिएको छ । यही सेरोफेरोलाई दृष्टिगत गर्दै भारतीय मिडियामा प्रियंका गान्धीजस्ता राजनीतिक हस्तीहरुका प्रोफाइल सार्वजनिक गर्ने क्रम पनि बाक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप