बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सशस्त्र प्रहरी दिवस : कुरिनटारको विपद् व्यवस्थापन शिक्षालय उत्कृष्ट

गुल्मतर्फ म्याग्लुङ्ग गुल्म उत्कृष्ट
आइतबार, ०९ माघ २०७८, १२ : ५७
आइतबार, ०९ माघ २०७८

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बलम्बुस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा उत्कृष्ट काम गर्ने युनिटहरू र कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।
तालिम शिक्षालयतर्फ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका छन् ।

समारोहमा आईजीपी खनालले विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रशंसापत्र प्रदान गरेका छन् । सशस्त्र प्रहरीका १२ वटा तालिम शिक्षालय मध्येबाट विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार उत्कृष्ट भएको हो ।

सशस्त्र प्रहरी गणतर्फ २८ नम्बर गण कपिलवस्तु उत्कृष्ट भएको छ ।  गण नम्बर–२८ का गणपति एसपी ध्रुव कार्कीलाई आईजीपी खनालले ट्रफि तथा प्रशंसापत्र प्रदान गरेका छन् । गुल्मतर्फ तेह्रथुमस्थित म्याग्लुङ्ग गुल्म उत्कृष्ट भएको छ ।

म्याग्लुङ्ग गुल्मका डिएसपी नवराज तामाङलाई सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सम्मान गरिएको छ । त्यस्तै, बिओपी (बोर्डर आउट पोष्ट) तर्फ झापाको टागनडुब्बा बिओपी उत्कृष्ट भएको छ । आईजीपी खनालले सो विओपीका इन्सपेक्टर सचिन प्रधानलाई पुरस्कृत गरेका छन् ।

उत्कृष्ट शिक्षालय बन्न सफल कुरिनटारको विपद् व्यवस्थापन तालिम शिक्षालय ०५८ मंसिर १८ मा बेसक्याम्पको रुपमा स्थापना भएको थियो । सो बेसक्याम्प २०६७ वैशाखमा विपद् व्यवस्थापन तालिम शिक्षालयमा रुपान्तरण भयो । त्यसबेला नै नेपालमा पहिलोपटक विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । ०६८ मा मन्त्रिपरिषद्ले सो तालिम शिक्षालयलाई पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप