मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

आइतबार, ०९ माघ २०७८, १४ : ३८
आइतबार, ०९ माघ २०७८

महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । 

सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पु¥याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो । गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले बताए । यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ । झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ । उनले भने, “त्यो खण्डबाहेक अरुतिर निर्माण सकिनेछ ।”

यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उनले बताए । स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ । खासगरी सङ्घीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण सङ्घीय बजेटबाट नै भइरहेको हो । 
    
अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताए । यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ । छब्बिस किमीमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताए । 

    त्यसमा बीचबीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ । महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुनसक्ने उनले बताए । कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ । 

    घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ । ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताए । कडा चट्टान भएका ठाउँमा भने एक किमी मात्रै चौडाइ हुनसक्ने उनको भनाइ छ । 

    नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्ने सो घोरेटोे बाटोको बजेट जम्मा रु चार करोड छ । खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप