बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान शाखाका ८ मौसमविद्लाई कोरोना संक्रमण, घरबाटै मौसमको भविष्यवाणी

आइतबार, ०९ माघ २०७८, १४ : ५७
आइतबार, ०९ माघ २०७८

जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका ८ जना मौसमविद् कोरोना संक्रमित भएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको सो शाखाका ११ जनामध्ये ८ जना संक्रमित भएर होम आइसोलेसनबाट काम गरिरहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

रातोपाटीसँग कुरा गर्दै पौडेलले भने– ‘सबै साथीहरुलाई कोरोना संक्रमण भएर अस्तब्यस्त भएको छ । ३ जना साथीमात्र संक्रमित भएका छैनन् । उनीहरु मात्र एयरपोर्टस्थित कार्यालयमा रहेका छन् । स्वास्थ्य ठिकै भएका साथीहरुले घरबाटै काम गरिरहेका छौँ । केही साथीहरु सुतिराख्नुभएको छ ।’ 

अधिकांश मौसमविद्लाई संक्रमण भएपछि कार्यालयको फोन उनीहरुको मोबाइलमा डाइभर्ट गरिएको छ । मौसम सम्बन्धी कुनै जिज्ञासा आए घरबाटै जवाफ दिने गरेका छन् । मौसम पूर्वानुमानको न्यूनतम मात्र काम भैरहेको र सबै काम गर्न नसकिएको वरिष्ठ मौसमविद् पौडेलले बताए ।  

प्रत्येक आधा–आधा घण्टामा हवाई उडान कार्यालयलाई मौसमबारे जानकारी गराउने, प्रत्येक छ–छ घण्टामा अन्तर्राष्टिय उडानका लागि मौसम रिपोर्ट दिनुपर्ने उनले बताए । देशको कुनै क्षेत्रमा भिआइपी जाँदै गरेको तथा सुरक्षाकर्मीले उद्धारमा जानुपर्ने क्षेत्रको मौसमको अवस्था बुझ्ने लगायतका कामहरु मौसम पूर्वानुमान शाखाको नियमित कामको रुपमा रहेको छ  । अन्तर्राष्टिय हवाई उड्ययन संगठन आइकाओको मापदण्ड भित्र रहेर प्रत्येक आधा–आधा घण्टामा हवाई उडानका लागि मौसम सम्बन्धी जानकारी गराइ राख्नुपर्ने नियमित काम हुने उनले बताए । 

कोभिड संक्रमित भएर बिरामी भएपनि काम छोडेर बस्ने अवस्था नभएको पौडेलले बताए । उनले भने– ‘कोभिड भयो भनेर काम बन्द गर्ने कुरा भएन । एकदमै जटिल अवस्था छ । मेरै उदाहरण दिन्छु, टाउको दुखिरहेको छ, आइसोलेशनमा बसिरहेको छु, मैले २४ सै घण्टा फोन उठाइहेको छु । मौसम पूर्वानुमान पनि घरबाटै गरेँ । म भन्दापनि अरु साथीहरु धेरै गलेका छन् । सकि नसकी धेरै काम  घरबाट नै गरिरहेको छु । जिउ पुरा गलिरहेको छ । यस्तो अवस्था भइकन पनि हामीले काम गरिरहेको अवस्था छ ।’

मौसमविद्हरु बिरामी भएको बेलामा जल तथा मौसम विज्ञान विभागले थप जनशक्ति पठाउने अवस्था नहुने उनले बताए । विभागमा पनि केही कर्मचारी कोराना संक्रमित भएको र मौसम पूर्वानुमानको क्षेत्रमा काम गर्न कोही नयाँ मान्छे आउने वित्तिकै गरिहाल्न नसक्ने उनले बताए । 

उनले भने– ‘अरु कार्यालयहरूमा जस्तो ल आज फलानो साथी बिरामी भएछ, त्यो काम गरिदिनुपर्यो भन्ने खालको अवस्था हाम्रोमा हुँदैन । कम्तिमा ६ महिना मौसम पूर्वानुमानको काम गरेको मान्छे हो भने मात्र काम छोड्न सकिन्छ । केही समयमा लागि कतैबाट हायर गरेर मान्छेलाई काममा लगाउँ भन्ने पनि हुँदैन । हामी सीमित जनशक्ति छौँ, हामीले काम गर्न नसक्ने बित्तिकै अरु ल्याएर गराइहालौं भन्ने हुँदैन । हामी सिफ्ट अनुसार चौबीसै घण्टा काम गर्छौँ । सीमित जनशक्ति, सबैजना कोरोना संक्रमित भइदिँदा अहिले समस्या परेको छ ।’

विभिन्न प्राविधिक कुराहरु, हवाई उडान कार्यालयलाई दिने विवरणहरू, तथा सामान्य मौसम पूर्वानुमान गर्ने कुरा कुनै ब्यक्तिलाइ कार्यालयमा आउँदा आउँदै गर्न सक्ने अवस्था नहुने उनले बताए । कि काम गरेको अनुभव हुनुपर्ने, कि ६ महिना तालिम लिएको व्यक्तिले मात्र काम सुरु गर्नसक्ने भएकोले कार्यालयमा हाल जति मौसमविद् छन् उनीहरुले नै सबै काम गर्नुपर्ने पौडेलको भनाई छ । 

सीमित जनशक्ति भएका कारण र अन्य विषयका कार्यालय जस्ता बन्द गर्न नमिल्ने भएकाले कठिनाइका बावजुद घरबाटै मौसम पूर्वानुमानको काम गरिरहेको पौडेलले बताए ।  उनले भने–‘अरु कार्यालय जस्तो भोलि काम गरौंला भनेर कार्यालय बन्द गर्ने कुरा पनि आएन । आजको आज नै, छिन् छिनमा मौसम सम्बन्धी रिपोर्टहरू दिनुपर्ने हुन्छ । कोरोना संक्रमित नभएका ३ जना साथीहरु सिफ्टअनुसार आलोपालो कार्यालयमा गएर काम गरिरहेका छन् ।’ 

गत माघ १ गतेदेखि शाखाका मौसमविद् हरु लगातार संक्रमित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप