शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनवादी कलाकारको दुखेसो– हाम्रो योगदान पार्टीले बिर्सियो

‘जनयुद्धका सहिदहरु हो, सलाम तिमीलाई’
आइतबार, ०९ माघ २०७८, १५ : ४५
आइतबार, ०९ माघ २०७८

 सानो खरले छाएको घर । घरमा ममता र वीरबहादुरका तीन छोराछोरी । ममता घरको बार्दलीमा राखिएको डोको निकालेर पिठ्युँमा बोक्दै घाँस काट्न जंगलतर्फ जान केही पाइला अघि के बढेकी थिइन्, श्रीमान् वीरबहादुर दुधे बालक काखमा चापेर बार्दलीमा आउँछन् ।

सोही क्रममा आर्मीको जस्तो ड्रेस लगाएका दुई पुरुष र एक महिला आउँछन् । महिलाको हातमा बन्दुक हुन्छ । अनि वीरबहादुरलाई उनीहरुले आफूले चालेका कदम र सपनाहरु सुनाउँछन् र युद्धमा होमिन आग्रह गर्छन् । ममता केही परबाट उनीहरुको कुरा सुनिरहेकी हुन्छिन् । वीरबहादुर युद्धमा होमिन तयार हुन्छन् । अनि आफूले समाएको त्यो दुधे बालक ममताको हातमा थमाउँदै समाज परिवर्तनका लागि युद्धमा जान्छन् ।

श्रीमती र दुधे बालकलाई छाडेर गएको लामो समयसम्म पनि वीरबहादुर घर फर्केर आउँदैनन् । श्रीमानको पर्खाइमा ममता बाटोतिर नजर लगाउन छाड्दिनन् । त्यही क्रममा प्रहरी आउँछ र ममतालाई केरकार गरेर वीरबहादुरको बारेमा सोध्छ । ‘तेरो श्रीमान् खै ? तेरो श्रीमान् त माओवादी हो’ भन्दै घरभित्र पसेर खानतलासी गर्छन् ।

उनका छोराछोरी विस्तारै ठुलो हुँदै जान्छन् । ‘मेरो बाबा खोइ मामु ?’ भनेर ममतालाई बारम्बार छोराछोरीले सोधिरहेका हुन्छन् । तर ममतासँग जवाफ हुँदैन ।

‘मामु ! बाबा त सहिद हुनुभयो, अब कहिलै फर्केर आउनुहुन्न है ? बाबाले देखेको सपना अब कहिल्यै पूरा हुन्न है ?’ जेठी छोरीले ममतालाई सोध्छिन् । उनले छोरीको मन बुझाउनकै जवाफ दिन्छिन्– ‘होइन छोरी ! बाबाको सपना साकार हुन्छ, तिमीजस्तै सहिदका सन्तती र हामीजस्तै सहिदका आफन्तहरु अझै जीवित छन् ।’

त्यसलगत्तै वीरबहादुरको शव आँगनमा ल्याइन्छ । परिवारमा रुवाबासी चल्छ । शव बोकेर ल्याएका माओवादी कार्यकर्ताले नै वीरबहादुरको शव व्यवस्थापन गर्छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा देखाइएको एउटा नाटकमात्र थिएन यो, जनयुद्धका क्रममा हजारौंले भोगेको यथार्थ घटनाको प्रतिविम्ब पनि हो ।

माओवादीको १० वर्षे जनयुद्धमा एउटा लक्ष्य र उद्देश्य बोकेर होमिएकाहरु कतिपय योद्धा कहिल्यै फर्केर आएनन् । ममताजस्तै थुप्रै चेलीका सिन्दुर पुछिए, कोख रित्तिए । आफ्नो सपनालाई साकार पार्न भनेर जीवन समर्पण गरे ।

सलाम तिमीलाई, सलाम तिमीलाई

सहिद तिम्रो सपना बाँकी छ पूरा गर्नलाई

यो जनवादी गीतले जनयुद्धका सहिदका सपना पूरा  गर्न बाँकी रहेको सन्देश दिन्छ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत नाटकमा पनि यही गीत समावेश थियो ।

शान्ति प्रक्रियापछि जब संविधानसभाको चुनावको तयारी हुँदै थियो, त्यही क्रममा पुर्णजीत पुन मगर ‘उभार’ ले यो गीत लेखेका थिए । एउटा लक्ष्य बुनेर युद्धमा होमिएकाहरुको वास्तविक सपना के हो ? एउटा सम्झौतामा आएर क्रान्तिलाई माओवादीले रोक्यो । यही तरिकाले सहिदका सपना पूरा हुन्छन् त ? भन्ने खालको बहस त्यो बेला पार्टीभित्र चलिरहेको थियो ।

‘उभार’ का अनुसार संविधानसभा निर्वाचनमा सहभागी बनेपछि युद्धमा होमिएकाहरुले खोजेको राज्यसत्ता, व्यवस्था आउँछ त ? भन्ने प्रश्न छरपस्ट थिए । सहिद परिवारहरुलाई भेट्दा छुट्टै भाव पोखिएका हुन्थे, उनीहरुको सपना बाँकी नै भएको अनुभूति भइरहँदा आफूले यो गीत लेखेको उनले सुनाए ।

यो गीतमा संगीत निर्मल जीसीले भरेका हुन् । त्यतिबेला धौलागिरी सांस्कृतिक परिवारले एउटा एल्बम निकाल्ने तयारी थालिरहेको थियो । क्रान्तिकारी चेतना छर्न सक्रिय कलाकारहरु पार्टीको कार्यालयमै बस्थे । अहिले गण्डकी प्रदेशकी सांसद दिलमाया रोका ‘दिपा’ पनि कलाकारको टीमसँग नजिक थिइन् । उनका श्रीमान पनि सहिद भएका थिए ।

त्यतिबेला दिलमायाको काखमा पाँच महिनाको छोरी थिइन् । उनीसँग मेल खाने गीत भएकाले उनलाई गाउन भनियो । तर उनले कुनै समस्याका कारण त्यो गीत गाइनन् अनि, धौलागिरी सांस्कृतिक परिवारकै सदस्य एलिना थापाले गाइन् ।

एलिना भन्छिन्, ‘म त्यो बेला २० वर्षकी थिएँ । काठमाडौं गएर रेकर्ड गरेपछि हामी संविधानसभाकोे चुनाव प्रसार–प्रचारमा होमिएका थियौं ।’

खासमा सरकारी दस्तावेजमा एलिनाको नाम केशरी घर्ती हो । तर उनलाई सबैले एलिना भनेर चिन्थे । अहिले धेरैजसो मान्छेलाई यो गीत गाउने कलाकार कहाँ होली ? कस्ती होली ? भन्ने खालको कौतुहलता देखिएको उनी बताउँछिन् ।

‘हुन त जनयुद्धका कलाकाहरु अहिले गुमनाम जस्तै छन्,’ उनी भन्छिन्, ‘अहिले धेरैले हामीले गाएका ती गीत सुनेर अब नयाँ क्रान्ति आवश्यक छ भनेर पनि भन्छन् ।’

यो गीत धौलागिरी सांस्कृतिक परिवारको ‘जनभाका’ एल्बममा समावेश छ । एलिनाले ०७६ मा एक कार्यक्रममा यो गाइरहँदा उनीसँगै गीत गाइरहेकी वरिष्ठ जनवादी गायिका लक्ष्मी गुरुङ धरधरी रोएकी थिइन् । सुरुमा एलिनालाई गाउनमा सघाएकी उनले गीतका शब्दमा समेटिएका भावनाका कारण आँखाको आँसु रोक्न सकिनन् ।  किनकि उनका श्रीमान् पनि जनयुद्धमा सहिद भएका थिए ।

जनयुद्धका सहिदहरुलाई सलाम ..

देशको निम्ति युद्धमा लड्दै थ्यौँ, जीवनसङ्गी सहिद भैगयौ,

भन्थ्यौ पक्कै आउने छु जितेर, तर गयौ अमर भएर

छोराछोरी आउने दिन गन्दैछन्, मेरो बाबा खै आमा भन्दै छन्,

हिमाल झुक्छ हिमनदी रुक्छ, तिम्रै श्रद्धा सम्मान देश जुट्छ

भुल्ने छैनौं कहिल्यै नि त्यो बाटो, विरताको नेपाली यो माटो

एक न एक दिन झुल्किन्छ घाम, खुशी छर्दै आउने छ बिहान ...

सलाम तिमीलाई

सलाम तिमीलाई, सहिद तिम्रो सपना बाँकी छ पूरा गर्नलाई...

‘जनयुद्धसँगै जोडिएका शब्द हुन् यी । जनयुद्धमा लड्दालड्दै सहिद भएकाहरुको भावलाई हामीले गीतमा व्यक्त गरेका थियौं,’ एलिना भन्छिन्, ‘मान्छे त्यतिकै ज्यानको आहुति दिन तयार भएको होइन । हामीले जुन सपना र उद्देश्य लिएर जनयुद्धमा होमिएका थियौं, त्यो पूरा हुन्छ भनेर मान्छेहरु मर्न तयार भएका हुन् । विडम्बना क्रान्तिले अर्कै मोड लियो ।’

धेरै चेलीले जनताको अधिकारका लागि आफ्ना श्रीमानलाई युद्धमा पठाएर सिन्दुरको समेत परवाह नगरेको उनको भनाइ छ । तर अहिले ‘ग्राउण्ड लेवल’मा मान्छेको जनजीवन परिवर्तन हुन नसकेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘जनयुद्धका सहिद परिवार, घाइते, अपाङ्गहरुको अवस्था उस्तै छ ।’

व्यवस्था परिवर्तनसँगै देशमा संघीयता आयो । तर, राजनीतिक परिवर्तन भए पनि मान्छेको जनजीवनमा परिवर्तन नआएको उनको बुझाइ छ ।

बच्चाहरु अलि ठुलो हुँदै गए पछि आफ्नो बाबा खोज्न थालेको पीडादायी कथा समाजमा अझै व्याप्त रहेको उनले सुनाइन् । ‘हामी कलाकारकै टिमभित्र पनि धेरैजना सहिद परिवारका सदस्य हुनुहुन्थ्यो, त्यसैलाई गीतमा समेट्न खोजिएको हो,’ उनले भनिन्, ‘शान्ति प्रक्रियापछि हामी कलाकारहरु सहिद परिवारको अवस्था बुझ्न गाउँमा जाँदा छुट्टै पीडाका भावहरु देख्थ्यौं ।’

एउटा उद्देश्य लिएर हिँडेका कतिपय साथी सहिद भएको अवस्थामा पनि आफूहरुले भाग्यबस नाफाको जिन्दगी पाएको उनी बताउँछिन् । ‘उहाँहरु जुन बाटोमा हिँड्दै गर्दा सहिद हुनुभयो, उहाँहरूकै रगतले नेपाली माटो रङ्गिएको छ,’ उनी भन्छिन्, ‘त्यो रङ्गिएको माटो र बाटो हामी कहिल्यै भुल्न सक्दैनौं । हामी बाँचेकाहरुले सहिदको बाटोलाई पछ्याएर कुनै न कुनै दिन त सपना साकार होला भन्ने आशा छ । त्यो दिनको बिहान एउटा नयाँ युगको सुरुवात हुनेछ ।’

तर अहिलेको राजनीतिक कार्यदिशालाई मध्यनजर गर्दा त्यो लक्ष्य निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले भनिन्, ‘अनि मलाई भन्न मन लाग्छ– हे जनयुद्धका सहिदहरु हो, तिमीलाई सलाम छ ।’

एलिना यो गीत जनयुद्धले नै जन्माएको गीत भनेर भन्छिन् । ‘जनयुद्धको सशक्त आवाज हो । सहिदहरुलाई नै सम्बोधन गरेर लेखिएको हो,’ रातोपाटीसँग उनले भनिन्, ‘क्रान्तिको नारा लगाई परिवर्तनको सपना देखाउनेहरु आज महलमा छन् तर युद्धका घाउहरु उस्तै छन् । गरिब, दुःखी अनि घाइते तथा सहिद परिवारका वेदनाहरु उस्तै छन् ।’

१५ वर्षमै जनयुद्धमा

एलिनाले आफ्नो विगत सम्झिदै भनिन्, ‘२०४३ सालमा बाग्लुङको काठेखोला गाउँपालिका–१ मा मेरो जन्म भयो । सानैदेखि बुबा राजनीतिमा भएकाले राजनीतिक वातावरणमा आफू हुर्किएको उनले सुनाइन् । ‘पार्टीका कलाकारहरु सांस्कृतिक कार्यक्रम गर्न आउँथे, म पनि त्यसमा सहभागी हुन्थेँ,’ उनले भनिन्, ‘पछि जनयुद्ध सुरु भयो, हामी सुरुवातदेखिनै कहिले जाने–आउने गरे पनि पछि निरन्तर युद्धमै सहभागी बन्यौं ।’

खासमा १५ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा जनयुद्धमा आफू होमिएको उनले सुनाइन् । आफूले पार्टीको सांस्कृतिक फाँटमा काम गरेको उनले बताइन् । ‘सानैदेखि नाच्ने गर्थेँ, पछि मादल बजाउने काम पनि गरेँ,’ उनले भनिन्, ‘केन्द्रीय सामना परिवारमा रहँदा युद्धकै क्रममा सुदूर÷मध्यका कैलाली, कञ्चनपुर, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दियामा कार्यक्रम गर्न गएको याद ताजै छ ।’

खुसीराम पाख्रिनको नेतृत्वमा आफूहरुको समूह रहेको उनले सुनाइन् । क्रान्तिकारी गीतको माध्यमबाट आफ्ना एजेण्डाहरुको विगुल फुक्ने गरेको उनले स्मरण गरिन् ।

सांस्कृतिक मोर्चाबाट आफूसमेत युद्धमा सहभागी बनेको ठुलो मोर्चा भनेको ‘बेनी मोर्चा’ रहेको उनले बताइन् ।  ‘त्यतिबेला प्रतिरोध सांस्कृतिक परिवारमा थिएँ । कलाकारहरुलाई मोर्चाहरुमा सहभागी गराइन्थेन,’ उनले भनिन्, ‘हामीले पार्टीका नेताहरुलाई कुरा राखेर रहरै रहरमा मोर्चामा गयौं तर फर्केर आउँदा निकै पीडादायी थियो ।’

अघिल्लो दिनसँगै भएका साथीहरु घाइते भएर आएको देख्दा निकै दुःख लागेको उनले सुनाइन् । गायिका एलिना (केशरी घर्ती) दोस्रो संविधानसभा सदस्य पनि हुन् ।

शान्ति–सम्झौताको कल्पनै थिएन

एलिना अहिले देश माओवादीकै एजेण्डामा हिँडिरहे पनि चाहेजस्तो नभएको बताउँछिन् । युद्धमा होमिँदै गर्दा पार्टीका सिद्धान्त, लक्ष्य, उद्देश्य हेर्दा शान्ति प्रक्रियामा आउने कुनै कल्पना नै नभएको उनले सुनाइन् । ‘हामीले गीतसंगीतको माध्यमबाट नेताहरुलाई पार्टी फुट्छ कि ? नेताहरु आत्मसमर्पण गर्छन् कि भन्ने आशंकाले टुटफुट खण्डितको कुरा नगर, आत्मसमर्पणको कुरा नगर, एक ढिक्का एकताको कुरा गर, विरताको कुरा गर भनेर आह्वान गरेका थियौं,’ उनी भन्छिन्, ‘साँच्चै भन्ने हो भने मैले संविधानसभा सदस्य बन्छु भन्ने पनि सोचेको थिइनँ ।’

हामी सिधै राज्यसत्ता कब्जा गर्छौं अनि हामीले चाहेको व्यवस्था आउँछ भन्ने सोच त्यो बेला आफूहरुमा रहेको उनले स्मरण गरिन् । ‘हाम्रो पार्टीले सरकार चलाउँछ, धनी गरिब भन्ने वर्ग हुँदैन, सबैले समान अधिकार पाउँछन् भन्ने थियो,’ उनले भनिन्, ‘तर पछि पार्टी एउटा तरिकाले ल्याण्ड भइदियो । युद्धको लक्ष्यभन्दा आज धेरै फरक छ ।’

अहिले माओवादीकै नेताहरु पद खोज्नतर्फ मात्र लागेको उनको आरोप छ । उनी भन्छिन्, ‘अहिले सम्झिदा हिजो हामीले सोचेजस्तै भएको भए के हुन्थ्यो होला ? भन्ने लाग्छ । हाम्रा सहिदका सपना अझै पूरा भएका छैनन् । पार्टी सरकारमै हुँदा पनि केही गर्न नसक्दा दुःख लाग्छ ।’

जनयुद्धका कलाकारहरुलाई पार्टीले भुल्यो

युद्धका बेला गीतसंगीतबाट जनता जगाउन कलाकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । ‘जनयुद्धको जगमा टेकेर नेताहरु राज्यको अग्रणी भूमिकामा पुगे, यद्यपि वर्गीय समानताका नारा उराल्दै जनयुद्धमा सहभागी कलाकारहरु भने अहिले गुमनाम जस्तै बनिरहेका छन्,’ एलिनाले भनिन् ।

माओवादी पार्टीले जनयुद्धका कलाकारलाई संरक्षण गर्न नसकेको उनी बताउँछिन् । ‘आन्दोलनलाई कलाकारहरुले निकै मलजल दिएकै हुन् आज आयर पार्टीले वे–वास्ता गर्नु दुर्भाग्य हो,’ उनले भनिन्, ‘दुनियाँ बदल्ने जिम्मा छ हाम्रो, संसार सजाउने अभिभारा हाम्रो भन्दै कलाकारहरुले नेताहरुलाई युद्धमा हौसला दिए, क्रान्तिलाई सफल बनाउन गरेको योगदान पार्टीले बिर्सियो ।’

रुपान्तरणको सुनौला सपनाहरु बोकेर कहिले भोकै त कहिलै प्यास मेटाउन नपाउँदै नाच्दै गाउँदै जनता जगाउनमा कलाकारको भूमिका उल्लेखनीय रहेको उनले बताइन् । उनले भनिन्, ‘युद्धमा सपना देखेजस्तो जीवन सार्थक नभएपछि गुजारा चलाउनकै लागि कलाकारहरु भौंतारिरहेका छन् । तितरवितर भएका छन् ।’ जनवादी कलाकारहरुले मिडियामा पनि स्थान नपाउने उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप