बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

आइतबार, ०९ माघ २०७८, १७ : २०
आइतबार, ०९ माघ २०७८

पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १–१ गोल गरे । 

प्रतियोगितामा सिधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४ औँ मिनेटमा रुपेश केसीले अग्रता बनाए । पुलिसका अजित भण्डारीले नियन्त्रणमा लिन नसकेको बललाई आफिजले मिलाएपछि बक्सभित्रबाट रुपेशले आकर्षक गोल गरे । 

खेल सकिन दुई मिनेट बाँकी रहँदा आफिजले मनाङलाई सहज जिततर्फ बढाए । मैदानको मध्यभागबाट बल बढाउँदै आफिजले पुलिसका भोलानाथ सिलवाल र अजितलाई बिट गर्दै सहज गोल गरे । 

पहिलो हाफमा दुबै टोलीले कुनै पनि त्यस्ता गोलका अवसर बनाउन सकेनन् । दोस्रो हाफमा पुलिसका जुमनु राईले पाएको अवसर सदुपयोग गर्न सकेनन् भने मनाङका आफिज ओलावाले र अशोक थापा मगरले पाएका अवसर गुमाए । 

यसअघि प्रि–क्वाटरफाइनलमा पुलिसले सडन डेथमा आयोजक सहारा एकेडमीलाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरियो । 

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका कारण मनाङ र पुलिसका महत्वपूर्ण खेलाडी नै खेलमा सहभागी भएनन् । पुलिसका गोलरक्षक शत्रुधन चौधरीसहित तेज तामाङ र सुमन लामा प्रशिक्षणमा छन् भने मनाङका कप्तान अन्जन विष्ट, नीतिन थापा, पुजन उपरकोटी, दिनेश राजवंशी प्रशिक्षणमा रहेका छन् । 

प्रतियोगिताका लागि मनाङले न्युरोड टिम एनआरटीका शिव गुरुङ र राजेश परियारलाई भित्राएको थियो । सोमबार संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप